Close This

कोरोनाबाट मृत्यु हुनेको तथ्यांक घटाउदै जिल्ला प्रशासन कार्यालय सर्लाही

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-८ गते   २०९ पटक हेरिएको

जिल्ला प्रशासन कार्यालय सर्लाहीको लार्पबाहीका कारण जिल्लामा कोरोना संक्रमितहरु तथा कोरोना संक्रमणका कारण मृत्यु हुनेको तथ्यांक संकलन हुन सकेको छैन । दोश्रो चरणमा फैलिएको कोरोना भाईरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको भएपनि जिल्ला प्रशासन कार्यालय सर्लाहीले दुई जनाको मात्र मृत्यु भएको जनाएको छ । 
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मलंगवा नगरपालिका–९ का ५३ वर्षीय तथा कबिलासी नगरपालिका–२ का ७२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । शनिबार नै बरहथबा नगरपालिका–५ का ४५ वर्षीय एक पुरुषको वीरगंजमा उपचारका क्रममा मृत्यु भएपनि जिल्ला प्रशासनको तथ्यांकमा उत्त संख्या उल्लेख छैन । भारतको चेन्नईमा व्यबसाय गर्दै आएका ती पुरुष स परिवार आफन्तको बिबाहमा सहभागी हुन दुईसाता अघि पुर्ख्यौली घर बरहथवा आएका थिए । उनको शनिबार बागमति नदि किनारमा आफन्तले दाहसंस्कार गरेका छन् । 
योसँगै सर्लाहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेपनि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो सार्बजनिक गरेको तथ्यांकमा ३७ जनाको मात्र मृत्यु भएको उल्लेख गरिएको छ ।
त्यस्तै कार्यालयको तथ्यांक अनुसार सर्लाहीमा पछिल्लो २४ घण्टामा ७५ जना संक्रमति थपिएका छन् । योसँगै सर्लाहीमा हालसम्म संक्रमित हुनेको संख्या ९ सय २ पुगेको छ ।
जिल्लाका प्रत्येक स्थानिय निकायमा फोन गरेर तथ्यांक संकलन गर्नुपर्ने र कतिपय स्थानिय निकायका सम्बन्धित कर्मचारीसँग सम्पर्क नै नहुने गरेका कारण तथ्यांकमा केही त्रुटी भएको हुन सक्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीका एक कर्मचारीले बताएका छन् । त्यस्तै कोरोना भाईरस संक्रमणमुक्त कतिजना भए भन्ने तथ्यांक पनि जिल्ला प्रशासन कार्यालय सर्लाहीले सार्वजनिक गरेको छैन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech