सर्लाहीका तीनवटा पालिकाले उखु संकलनका लागि तौल काँटा राख्न निषेध गरेका छन् । जिल्लाको बलरा र गोडैता नगरपालिकाका साथै रामनगर गाउँपालिकाले आफ्नो पालिकाभित्र चिनी उद्योगलाई तौल काँटा राखेर उखु संकलन गर्न रोक लगाएका हुन्।चिनी उद्योगले उखु तौल काँटा राख्दा किसान ठगिने तर बिचौलिया मालामाल हुने गरेको भन्दै उखु तौल काँटा राख्न रोक लगाएको बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर कुशवाहाले बताए ।
उनका अनुसार तीनवटै पालिकाले आफ्नो पालिकाभित्र काँटा राखेर उखु जोख्ने र उद्योग आफैले गाडी पठाएर उखु उठाउने कार्य समेत बन्द गराएका छन्।चिनी उद्योगले काँटा राख्दा बिचौलिया सक्रिय भएर उखुको तौलमा ठगी गर्ने र उखु उत्पादक किसानहरुलाई सरकारले निर्धारण गरेको उखुको मूूल्य भन्दा कम मूल्य दिएर ठगी गर्ने गरेको व्यापक गुनासो आएपछि उखु तौल काँटा राख्न रोक लगाएको रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले बताए ।
उनका अनुसार बिचौलियाहरुले किसानहरुलाई सरकारले तोकेको भन्दा थोरै मूूल्य राखेर नगदै पैसा दिने र उक्त उखु आफ्नो नाममा लेखाएर सरकारी अनुदानको रकम समेत खाने गरेको व्यापक गुनासो आएको थियो।पालिकाले निषेध गरेपछि जिल्लाभित्र तथा बाहिरी जिल्लाका कुनै पनि चिनी उद्योगले यो वर्षदेखि बलरा र गोडैता नगरपालिकाका साथै रामनगर गाउँपालिकामा उखु तौल काँटा राख्न पाएका छैनन् ।
किसानले आफै सवारी साधनको व्यवस्था गरी आफूलाई इच्छा लागेको चिनी उद्योगमा लगेर उखु बिक्री गर्न थालेका छन्।केही उखु उत्पादक किसानहरुले स्थानीय नेताबाट तौल काँटा राख्न नदिने र चिनी उद्योगसँग पैसा लिएर आफूले भनेकै चिनी उद्योगमा लगेर उखुु बिक्री गर्न दबाव दिएका किसानहरुले गुनासो गरेको गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र यादवले बताए ।
सर्लाहीमा इन्दुशंकर चिनी उद्योग हरिवन,महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल गरी तीनवटा चिनी उद्योग संचालनमा रहेका छन्।यि तीन वटा उद्योगहरु मध्ये इन्दुुशंकरले बेलैमा भुुक्तानी गरेपनि महालक्ष्मी र अन्नपूर्णबाट अघिल्ला वर्षमा बेचेको उखुुको पैसा अझै नपाएको गुनासो किसानले गरेका छन् ।बाहिरका चिनी उद्योगलाई काँटा राखेर उखु लैजान नदिन र गाउँ ठाउँकै चिनी उद्योगलाई उखु दिन बाध्य पार्दा उखु बेचेको पैसा बेलैमा नपाउने चिन्ता थपिएको उखु उत्पादक किसानहरुको गुनासो छ ।
तीन पालिकामा काँटा राख्न निषेध गरेपछि गोडैता र बलरा नगरपालिकाका साथै रामनगर गाउँपालिकाका उखु उत्पादक किसानहरुले आफैले सवारीको व्यवस्था गरी सोझै इन्दुशंकर चिनी उद्योगले उखु ल्याइरहेका उद्योगका प्रशासन शाखा प्रमुख ठकुर नेपालले बताए ।उनले किसानहरुको समयमै भुक्तानी गर्ने इन्दु शंकरलाई तीनवटा पालिकाको उक्त निर्णयले कुनै असर नगरेको बताए ।तौल काँटा राख्न नदिने र स्थानीय चिनी उद्योगलाई नै प्रोत्साहन गर्ने निर्णयले अन्य चिनी उद्योगहरु प्रभावित भएका छन् ।