सिन्धुलीको गोलन्जाेर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माथि वडा अध्यक्षले गाउँसभा स्थल मै हातपात गरेका छन् । गाेलन्जाेर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पाैडेल माथि गाेलन्जाेर गाउँपालिका २ का वडा अध्यक्ष दौलत कार्कीले गाउँसभा स्थल मै हातपात गरेका गाेलन्जाेर गाउँपालिकाकाे कार्यालयले जानकारी दिएकाे छ ।
कार्यालयका अनुसार प्रमुख प्रशासकीय अधिकृत पौडेललाई वडा अध्यक्ष कार्कीले गाउँसभाबाट नीति तथा कार्यक्रम पास गर्न गाउँपालिका अध्यक्षलाई सहयोग गरेको भन्दै सभा स्थलमा नै हातपात गरेका हुन् । गत आईतवार गाउँसभामा पेश भएको आ.व. ०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्न विहिवार तेस्रो पटक गाउँसभाको बाेलाईएकाे थियो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नीति तथा कार्यक्रम गाउँसभाको तेस्रो बैठकबाट २५ प्रतिशत सदस्यको समर्थनमा पास हुने प्रवधान रहेकाे र साेही अनुसार बिहिवारको गाउँसभामा छलफल भई रहेको समयमा नीति तथा कार्यक्रम पास गराउन गाउँपालिका अध्यक्षलाई सहयोग गरेको भन्दै आफुलाई वडा अध्यक्ष कार्कीले हातपात गरेका प्रमुख प्रशासकीय अधिकृत पाैडेलले जानकारी दिए।
तर यता,प्रमुख प्रशासकीय अधिकृत पाैडेलले गाउँसभामा मादक पदार्थ सेवन गरेर प्रवेश गरेका कारण सभा स्थल बाहिर बोलाएर सम्झाई बुझाई गरेको वडा अध्यक्ष कार्कीले बताएका छन् । उनले प्रमुख प्रशासकीय अधिकृत पाैडेलमाथी हातपात नगरेकाे दाबी गरे ।
आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा वडालाई बजेट थोरै भएको भन्दै नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले असन्तुष्टि जनाएका कारण गाउँसभा हुन सकेकाे थिएन् ।
नीयमानुसार असार १० गते भित्र सबै स्थानीय तहहरुले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम र बजेट ल्याई सक्नु पर्नेमा गाेलन्जाेर गाउँपालिकामा राजनीति खिचातानीका कारण असार १० गते आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम र बजेट पेश हुन सकेन । वडा अध्यक्ष कार्की दाेस्राे कार्यकालका लागि गाेलन्जाेर गाउँपालिका २ वाट नेपाली कांग्रेसबाटै निर्वाचित भएका हुन ।