Close This

सनसिटी अपार्टमेन्टका २९६ जनाको ‘र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ’

पत्र पत्रिका    प्रकाशित: २०७७-१-३ गते   ४८५ पटक हेरिएको

 काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको ‘ए’ ब्लकमा बस्नेहरुको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको छ । बेलायतबाट फर्केर अपार्टमेन्टको ‘ए’ ब्लकमा बस्दै आएका एकै परिवारका ८१ वर्षीया आमा र ५८ वर्षीय छोरामा कोरोनाभाइरसको पुष्टि भएपछि त्यहाँ बस्ने २९६ जनाको बुधबार आरडीटी गरिएको हो ।

टेस्ट रिपोर्ट भने ‘नेगेटिभ’ आएको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापाले बताए ।उनले ‘ए’ ब्लकका २४२ तथा अन्य ब्लकका ५४ गरी २९६ जनाको परीक्षण गर्दा नेगेटिभ परिणाम आएको बताए ।उनले अपार्टमेन्टका बाँकी ब्लकका व्यक्तिहरुको बिहीबार परीक्षण गरिने बताए ।आफूले अपार्टमेन्टका सबैको परीक्षण गर्नुपर्ने माग गरेपनि स्वास्थ्य मन्त्रालयले कतिजनाको गर्ने हो, टुंगो नभएको उनले बताए ।

प्रहरीले उक्त अपार्टमेन्टलाई ‘सिल’ गरेको छ भने कोलोनीसमेत बन्द गरेको छ ।यही चैत ५ गते बेलायतबाट दोहा हँुदै काठमाडौं आएका संक्रमित परिवारका तीनजनामा र्‍यापिड टेस्टका क्रममा कोरोना संक्रमण ‘पोजिटिभ’ देखिएको थियो ।नगरपालिकाले सोमबार विदेशबाट आएकाहरुको खोजी गर्नेक्रममा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

आमा र छोरामा स्वाब टेस्टमा संक्रमण देखिएपनि बुहारीमा कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।संक्रमित परिवार प्रायः घरभित्रै बसेका थिए ।तर, केही दिनअघि उनीहरु किनमेलमा बाहिर निस्केको र उनीहरुकहाँ काम गर्ने मानिस ओहोर–दोहोर गरिरहेकाले सबैको परीक्षण गर्नुपर्ने स्थानीयको माग छ ।पाँचओटा ब्लक रहेको अपार्टमेन्टमा करिब ५०० परिवार बस्दै आएका छन् । प्रत्येक ब्लकमा १६/१६ तल्ला छन् भने एउटा तल्लामा ६ परिवार बस्छन् ।इमेजखबर

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech