Close This

व्यापारीहरुले जथवाभावी मूल्यका तोक्दा जिल्लाका मकै किसान मारमा,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-११ गते   २७५९ पटक हेरिएको

 मकैको उचित मूल्य नपाएपछि सर्लाहीका मकै उत्पादक किसानहरु चिन्तित बनेका छन् । कोरोना माहामारीका कारण किसानहरुको आर्थिक अवस्था जर्जर बनेको समयमा मकैले उचित मुल्य नपाउँदा मकै उत्पादक किसानहरु मारमा परको छन् । जिल्लाको वरहथवा,शंकरपुर,हजरिया,जानकीनगर,राजघाट,मुर्तिया,पत्थरकोट,लालबन्दी,ईश्वरपुरलगायतका क्षेत्रमा उत्पादित मकैले उचित मुल्य नपाउँदा जिल्लाका मकैउत्पादक किसानहरु चिन्तित बनेका छन् ।
किसानहरुले अपेक्षा गरेभन्दा मकैको मूल्यमा भारी गिरावट आउनुका साथै मकै विक्रि गर्ने समयमा पानी पर्रु र सोही समयमा निषेआज्ञा घोषणा भएपछि जिल्लाका मकै उत्पादक किसानहरु मारमा परेका छन् । निषेआज्ञाका कारण गत वर्ष पनि मकै उत्पादक किसानहरुले 
प्रतिक्विन्टल रु २ हजारमै मकैविक्रि गरेका थिए  । यस वर्ष पनि मकै बिक्री गर्ने समयमा कोरोना महामारीका कारण निषेधाज्ञा घोषणा भएपछि व्यापारीहरुले मकैको मनपरी मुल्य तोकेदा किसानहरु थप मारमा परेका छन् । एउटै गाउँमा कतै मकैको मुल्य फरक फरक हुँदा किसानहरु मकै बिक्री कुन मुल्यमा गर्ने भन्नेमा दुविधामा परेका छन् ।
विगतका वर्षहरुमा रु ३ हजारसम्म बिक्री भएको मकै यस वर्ष भने औसतमा प्रतिक्विन्टल रु २ हजार एक सयमा मात्रै बिक्री भइरहेको लालबन्दी नगरपालिका–११ का किसान विजय लामाले बताउनुभयो । उहाँका अनुसार गएको वर्ष पनि किसानहरुले लकडाउनका कारण मकैको उचित मूल्य पाउन सकेका थिएनन्। यसवर्ष मकैको उचित मूल्य पाइएला भन्ने आशमा रहेका जिल्लाका किसानहरु थप निराश भएका छन् ।
निषेआज्ञाको बहाना बनाएर व्यापारीहरुले किसानहरुलाई लुटिरहँदा पनि सम्बन्धित निकायको ध्यान यसतर्फ नगएको किसानहरुको गुनासो छ । अहिलेको मूल्यमा मकै बिक्री गर्दा घाटा हुने भएकोले कतिपय किसानहरुले तयार पारिएको मकै निषेधाज्ञा खुलेपछि बढी मूल्य पाउने आशामा भण्डारण गरेर राखेका छन्।१५ वर्षदेखि व्यावसायिक रुपमा दुई बिघा जमिनमा वर्ण शंकरजातको मकै खेती गर्दै आइरहेका बरहथवा नगरपालिका ५ हाथीडण्डाका जगलाल महतोले कोरोना माहामारीका कारण समयमा पर्याप्त मल र बिउ नपुग्दा र यस वर्ष हिउँदमा वर्षा नहुँदा मकै उत्पादनमा कमी आएको बताएका छन् ।
‘अघिल्लो वर्षहरुमा प्रतिकठ्ठा मकै चार क्विन्टल बढी हुन्थ्यो, यस वर्ष तीन क्विन्टल मात्र उत्पादन भयो। एकातिर भाउ छैन। अर्कोतिर उत्पादनमा पनि कमी आयो,बजारमा मुल्य पनि छैन’ उनले भने, ‘कुनै समय यही जमिनमा उत्पादन भएको मकैबाट रु ४ लाख ५० हजार लिएको थिएँ। परार दुई बिघामा १ सय ६० क्विन्टल मकै उत्पादन भएको थियो।’जारी निषेधाज्ञाका कारण पर्याप्त गाडी नचल्दा र मकै खरिद गर्ने दाना उद्योग नचल्दा मकैको माग नभएकाले मूल्यमा गिरावट आएको व्यापारी छोटेलाल साहले बताउनु भयो । सर्लाहीमा ११ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ। सर्लाहीमा उत्पादन भएको मकै काण्ठमाण्डौँ,पोखरा, बुटवल,नारायणघाट लगायतका स्थानमा रहेका दाना उद्योगहरुमा जाने गरेको व्यापारीहरुले बताएका छन् ।
भने खेतमा उब्जाएको मकै सुकाउन नपाउँदै पानी परेपछि जिल्लाका किसानहरु थप मारमा परको छन् । अचानक मौसममा परिवर्तन आएर सुकाएको मकै भिजेका कारण आफुहरु मारमा परेको किसानहरुको गुनासो छ । 
खेतबाट मकै ल्याएपनि छोडाएर सुकाउन लाग्दा वर्षा हुन थाले पछि मकै भिज्दा आफुहरु मारमा परेको अर्का किसान वीर बहादुर खड्काले बताउनुभयो ।घरमा मकै राख्न ठाउँ अभाव भएकाले आँगनमै त्रिपालले छोपेर मकै राखेकोे र लगातार पानी पर्दा मकै भिजेको उनिहरुको गुनासो छ । पानी र हिलोमा रहेको मकैको तल्लो भागमा टुसा समेत पलाएर बिग्रन थाल्दा पनि सुकाउन नपाएको किसानहरुको गुनासो छ ।  मजदुरको व्यवस्था गरे पनि वर्षा भएपछि मकै भित्र्याउन नसकेको उनिहरुको गुनासो छ । 
वाग्मती नगरपालिका–८ का किसान ध्रुव महतोले निषेधाज्ञाका कारण व्यापारी नआउँदा किसानहरुले सास्ती खेपिरहेको दुःखेसो गर्नु भयो । उहाँले दुई वर्षअघि झन्डै रु तीन हजार प्रतिक्विन्टल मकैको मूल्य रहे पनि गतवर्षको लकडाउनमा मुस्किलले प्रतिक्विन्टल रु दुई हजार र यस वर्ष पनि त्यही हाराहारीमा मूल्य रहेको बताउनु भयो । मूल्यमा कमी र वर्षाका कारण मकै किसानहरू मारमा परेको उहाँको भनाइ छ ।  जिल्लाका बरहथवा, राजघाट, मुर्तिया, शंकरपुर, सोल्टीलगायत क्षेत्रमा व्यावसायिक रूपमा वर्णशंकर जातको मकै खेती हुँदै आएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech