Close This

हुलाकी लोकमार्ग मलंगवा–संग्रामपुर सडक खण्डको निर्माणकार्य सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-११ गते   २४१ पटक हेरिएको

 राष्ट्रिय गौरबको आयोजना हुलाकी लोकमार्ग अन्तर्गत सर्लाहीको मलंगवा–संग्रामपुर सितलपुर सडक खण्डमा निर्माण कार्य सुरु भएको छ । तराई मधेसको विकासको मेरुदण्ड मानिने उक्त हुलाकी सडकमा  अहिले ग्रेभलिंङ्ग गरी धमाधम सम्याउने काम भइरहेको छ ।
 तराई मधेशको लाइफलाइनको  रुपमा रहेको  हुलाकी लोकमार्ग करिब रु २३ करोड १८ लाखको लागतमा निर्माण सुरु भएको छिमेकी जिल्ला महोत्तरी र सर्लाहीको सिमाना सितलपुरदेखि जिल्ला सदरमुकाम मलंगवा  नगरपालिका २ सम्मको करिब १५ किलोमिटर सडकको निर्माण कार्य लकडाउनको समयमा सुरु गरिएको  ठेकेदार कम्पनीले जनाएको छ । 
करिब १५ किलोमिटर लम्बाई र १० मिटर चौडाई सडकमा ७ मिटर चौडाई कालोपत्रे गरिने उहाँले बताउनु भयो । उक्त सडक आर्थिक वर्ष २०७८÷०७९ को पुस मसान्तसम्ममा निर्माण सम्पन्न गरिने ठेकेदार कम्पनी हिमदुंङ ठोकर हिरा एण्ड नमिता (जेभी) ले बताएको छ । सुरुमा यो सडक निर्माण गर्ने जिम्मा प्रदेश सरकारको रहेकोमा प्रदेश सरकारले निर्माण गर्न नसकेपछि करिब २ महिना पहिला संघिय सरकारलाई जिम्मा लगाएर काम सुरु गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि यादव सरकारले बताउनु भयो ।
प्रदेश सरकारले काम गर्दा बजेटको सुनिश्चितता नभएका कारण समयमा काम सम्पन्न नभएको उहाँले बताउनु भयो । पहिलो चरण अन्तर्गत साउन मसान्तभित्र ३ किलोमिटर सडकको कालोपत्रे गरिने र त्यसपछि दोस्रो चरणमा मलंगवासम्मको १२ किलोमिटर सडक कालोपत्रे गरिने ठेकेदार कम्पनीले जनाएको छ ।  
वर्षौंदेखि निर्माणको पर्खाइमा रहेको  हुलाकी लोकमार्ग वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा स्थानियबासी समस्या परेका छन् । ढिलैगरी भएपनि निर्माणकार्य सुरु भएपछि  हिलाम्मे र धुलाम्मेको मार खेपीरहेका  यस क्षेत्रका बासिन्दाहरुलाई केही राहत महसुस भएको छ । 
छिमेकी जिल्ला महोत्तरी पुग्न हुलाकी सडकको १५ किलोमिटर दुरी पार गर्न दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई करिब डेढ घण्टा समय लाग्दै आएको छ ।सडक कालोपत्रे भइसकेपछि उक्त दुरी पार गर्न करिब २० मिनेट लाग्ने छ ।
हुलाकी सडक निर्माण भइसकेपछि जिल्लाका ३ दर्जनभन्दा बढी गाउँ बस्तीका बासिन्दालाई सदरमुकाम मलंगवा बजार आवत जावत गर्न सहज हुनेछ । हुलाकी सडक जीर्ण भएकै कारण ती क्षेत्रका बासिन्दाहरु वर्षातको समयमा पुर्व–पश्चिम लोकमार्गको लालबन्दी हुँदै करिब ५० किलोमिटर दूरी पार गरी सदरमुकाम मलंगवा पुग्न बाध्य हुनेगरेका छन् । यो सडकको निर्माण सम्पन्न भएसँगै जनकपुर र महोत्तरीको सदरमुकाम जलेश्वरसम्मको दुरी पनि कम हुने छ ।     

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech