तीनपाटनका अध्यक्ष थापाको १० वर्षे कार्यकालः विकास कि विनाश ?

121 Shares

नेपाली कांग्रेसका स्थानीय नेता कर्णबहादुर थापाले सिन्धुलीको तीनपाटन गाउँपालिकामा लगातार दुई कार्यकाल गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।स्थानीय जनताले विकास,सुशासन र समृद्धिको ठूलो अपेक्षासहित उनलाई दुई पटक नेतृत्व सुम्पिएका थिए। तर, १० वर्षको लामो अवधि सकिँनै लाग्दा तीनपाटनले पाएको उपलब्धि र उनको कार्यशैली भने निकै निराशाजनक र विवादित रहेको भन्दै स्थानीय चिन्तित देखिएका छन् ।
स्थानीयका अनुसार थापाको दुई कार्यकालको सबैभन्दा ठूलो विशेषता नै नातावाद,कृपावाद र “भर्ती केन्द्र” बनेको छ।गाउँपालिकालाई जनसेवाको माध्यम बनाउनुको सट्टा “भर्ती केन्द्र” मा परिणत गर्दा स्थानीय आक्रोशित बनेका हुन ।आफ्ना आफन्त,ससुराली खन्दान,मावली खन्दान,छरछिमेक र केवल “नेपाली कांग्रेस”का सदस्यहरुलाई मात्र जागिर बांडिएको स्थानीयको आक्रोश छ।निष्पक्षता र क्षमतालाई तिलाञ्जली दिँदै राजनीतिक पहुँचका आधारमा जागिर दिने काम गाउँपालिका अध्यक्ष थापाले गरेका स्थानीयको आरोप छ ।
तीनपाटन गाउँपालिकामा कार्यरत राम्रा,क्षमतावान्,निष्पक्ष र योग्य कर्मचारीहरूलाई काम गर्ने वातावरण नदिई पालिकाको हितमा काम गर्न खोज्ने र प्रतिभाशाली कर्मचारीहरूलाई राजनीतिक प्रतिशोधका आधारमा लखेट्ने तथा “डाँडा कटाउने”काम गरिएको उनीहरुको भनाई छ।जसका कारण प्रशासनिक संयन्त्र नै धराशायी बनेको छ ।
“दुई कार्यकालको लामो अवधिमा गाउँपालिकाभरि जम्मा करिब चार सय मिटर मात्र सडक पिच भएको छ।बाँकी भौतिक पूर्वाधारको अवस्था १२ वर्षअघि जस्तो थियो अहिले पनि त्यस्तै जस्ताको तस्तै छाडियो।पूर्वाधार विकासको नाममा तीनपाटनलाई दशकौँ पछाडि धकेल्ने काम भएको छ।”स्थानीयले बताए ।
स्थानीय जनताको प्राथमिक अधिकार मानिने स्वास्थ्य क्षेत्रमा चरम पनि उतिकै लापर्बाही भएको,गाउँका गरिब तथा सर्वसाधारण जनतालाई म्याद गुज्रिएका,कुहिएका र सडेका औषधिहरू वितरण गरेर जनताको जीवन र स्वास्थ्यमाथि प्रत्यक्ष खेलबाड गरिएको समेत पाइएको छ ।स्वास्थ्य संस्थाहरूलाई सुदृढ गर्नुको सट्टा झन् अस्तव्यस्त बनाइदाँ स्थानीय आजित छन् ।“कुनै पनि समाजको मेरुदण्ड मानिने शिक्षा क्षेत्र थापाको कार्यकालमा पूर्ण रूपमा थला परेको छ।विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार्न कुनै ध्यान दिइएन,जसले गर्दा विद्यार्थीहरूको भविष्यमाथि खेलबाड भयो।”स्थानीयले बताए ।
१० वर्षको दुई–दुई कार्यकाल पाउँदा पनि तीनपाटन गाउँपालिकाको मुहार फेर्नुको सट्टा आफ्ना मान्छे पोस्ने,संस्थागत भ्रष्टाचार र नातावादलाई प्रश्रय दिने तथा शिक्षा,स्वास्थ्य र पूर्वाधारलाई अस्तव्यस्त बनाउने काम मात्र भएको स्थानीय जानकारहरु बताउँछन्।उनीहरुका अनुसार थापाको १० वर्षे शासनकाल तीनपाटनका लागि विकासको अवसर नभई पछाडि धकेलिएको एउटा निराशाजनक अध्यायको रूपमा इतिहासमा दर्ता भएको छ। 

सम्बन्धित समाचार