जिल्ला संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) सर्लाहीलाई कोभिड–१९ प्रतिकार्यका लागि अक्सिजन सिलिण्डर र कन्सेट्रेटर लगायतका स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ ।विभिन्न गैर सरकारी संस्थाहरुको साझेदारीमा अष्ट्रेलियन एडको सहयोगमा वल्र्ड भिजन, बागमती सेवा समाज हरिवन र आरआरपीकेले रु २४ लाख ९१ हजार ५ सय ५२ बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।
कोभिड–१९ प्रतिकार्यका लागि अक्सिजन सिलिण्डर र कन्सेट्रेटर लगायतका स्वास्थ्य सामाग्री सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङलाई हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी तामाङलाई वभिन्न गैर सरकारी संस्थाहरुको साझेदारीमा अष्ट्रेलियन एडको सहयोगमा वल्र्ड भिजन, बागमती सेवा समाज हरिवन र आरआरपीकेले उक्त सामाग्री हस्तान्तरण गरेको बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिनु भयो ।
वल्र्ड भिजनले सर्लाहीका विभिन्न स्थानिय निकायहरुमा विभिन्न कार्यक्रमहरु ल्याएको भएपनि कोरोना भाईरस संक्रमणका कारण उक्त कार्यक्रमहरु हुन नसकेपछि सोही कार्यक्रम अन्तर्गत जिल्ला संकट व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरिएको वल्र्ड भिजनका चन्द्र बहादुर मोक्तानले बताउनुभयो ।
सहयोग स्वास्थ्य सामग्रीहरुमा अक्सिजन सिलिण्डर ७० थान, अक्सिजन कन्सेट्रेटर १ थान, पीपीई सेट ७० थान, ईन्फ्रारेड थर्मामिटर ७० थान, पल्स अक्सोमिटर ७० थान, हात सफाई गर्ने लिक्वीड साबुन १४ थान, सर्जिकल मास्क १४ प्याकेट, ५ लिटरको सेनिटाईजर ५ ग्यालेन, एन ९५ मास्क ७४ वटा रहेका आरआरपीकेका शिवजी प्रसाद साहले जानकारी दिनु भयो । प्राप्त स्वास्थ्य सामग्रीले कोरोना भाईरस संक्रमण न्युनिकरण एवम संक्रमितको उपचारमा निकै टेवा पुग्ने भन्दै सहयोगी संस्थाप्रति जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले धन्यवाद प्रकट गर्नु भयो ।
त्यसैगरि प्रमुख जिल्ला अधिकारी तामाङले प्राप्त अक्सिजन सिलिण्डर सहित अन्य स्वास्थ्य सामग्री जिल्ला स्थित सञ्चालनमा रहेका कोभिड अस्थायी अस्पतालहरुमा आवश्यकता अनुसार पारदर्शी ढंगले वितरण गरिने प्रतिबद्धता जनाउनु भयो । सबै स्थानिय निकायहरुलाई भागवण्डा गरेर भन्दापनि आवश्यकता अनुसार सामग्रीहरु वितरण गरिने र वितरण भएको विवरण समेत जिल्ला प्रशासन कार्यालयको वेभसाईट र फेसबुक पेजमा सार्वजनिक गरिने उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी तामाङले सहयोगी संस्थाहरु प्रति हार्दिक आभार प्रकट गर्नु भयो । हाल सर्लाहीका विभिन्न अस्पताल एवम आईसोलेसन सेन्टरमा १ सय ४७ थान अक्सिजन सिलिण्डर रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।