सर्लाहीका तीन क्याम्पस मध्य दुईमा गठबन्धनको जीत,एउटामा अखिल

912 Shares

दुर्गा कुमारी अधिकारी
सर्लाहीको हरिवन नगरपालिका १० मा रहेको चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस र लालबन्दी नगरपालिका  ९ मा रहेको जनज्योति बहुमुखी क्याम्पसमा सक्ता गठबन्धनको विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा जीत निकालेको छ ।


हरिवन नगरपालिका १० मा रहेको चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा दोहोेर्याएर मतगणना गर्दा पनि नेकपा(माओवादी केन्द्र) निकट अनेरास्ववियु(क्रान्तिकारी)का प्रेमराज दाहाल विजयी भएका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा सभापतिका उम्मेदवार नेकपा(एमाले) निकटको विद्यार्थी संगठन अनेरास्ववियुका सन्दिप थापालाई एकमतले पाजीत गर्दै माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी)का दाहाल सभापतिमा विजयी भएका हुन ।निर्वाचित दाहालले तीन सय ५० मत ल्याए भने अनेरास्ववियुका थापाले तीन सय ४९ मत प्राप्त गरेका छन् । क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजक हरिलाल मैनालीले रातिको मतगणनामा टिपोट गर्ने क्रममा अनेरास्ववियुका थापाको एक मत बढी टिपोट भएको पाइएको बताए । चतुर्भूजेश्वरमा कूल सात सय ११ जना विद्यार्थीहरु रहेका मध्ये प्रत्यक्षतर्फ छ सय ९९ जनाले मतदान गरेका थिए । त्यसमध्ये १२ मत बदर भएको छ ।
सभापतिमा विजयी अखिल(क्रान्तिकारी)का दाहालले नेपाली कांग्रेस निकट विद्यार्थी संघ नेपाल विद्यार्थी संघ र नेकपा(एकीकृत समाजवादी)पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू(एस)को समर्थनमा उम्मेदवारी दिएका थिए । क्याम्पसको स्ववियु सचिवमा भने अनेरास्ववियुका हिमाल घिमिरे १२ मतले विजयी भएका छन् । घिमिरे तीन सय ५६ मत प्राप्त गरी निर्वाचित हुुँदा संयुक्त प्यानलबाट उम्मेदवारी दिएका नेविसङ्घका दिलिप बहादुर बस्नेतले तीन सय ४४ मत मात्रै प्राप्त गरेका छन् ।
सचिवबाहेक कोषाध्यक्ष र अन्य सदस्यमा संयुक्त प्यानलका उम्मेदवार विजयी भएका छन् ।यस्तै,समानुपातिकतर्फ कूल सात सय नौ मत खसेकोमा सात मत बदर भएको छ । सदर भएको सात सय दुई मतमध्ये अखिल(क्रान्तिकारी)ले तीन सय ६५ र अनेरास्ववियुले तीन सय ३७ मत प्राप्त गरेको छ । 
त्यस्तै,लालबन्दी नगरपालिका ९ स्थित रहेको जनज्योति बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्वको संयुक्त प्यानल विजयी भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन दलिय गठवन्धनले‘क्लिन स्वीप’गरेको हो । यहाँ कांग्रेस निकट नेविसंघ,माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)र नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्ववियू(एस)ले संयुक्त प्यानल खडा गरेका थिए । नेकपा(एमाले) निकट अनेरास्ववियुले भने एकल उम्मेदवारी दिएको थियो ।


स्ववियु सभापतिमा संयुक्त प्यानलबाट नेविसंघका अभिमन्यु चौधरी एक सय ९२ मतान्तरले विजयी भएका छन् । सभापतिमा विजयी चौधरीले चार सय ४१ मत ल्याउँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका गान्दिप बरालले दुई सय ४९ मत प्राप्त गरे । यस्तै, सचिवमा संयुक्त प्यानलबाटै माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)की अनिता कुमारी बुढाथोकी तीन सय ५७ मत ल्याइ बिजयी हुँदा उनकी प्रतिस्पर्धी अनेरास्ववियुकी रेणु पोखरेलले तीन सय १५ मत प्राप्त गरिन् ।
त्यस्तै, कोषाध्यक्षमा संयुक्त प्यानलकै नेकपा(एस)निकट अनेरास्ववियू(एस)का एलोज खड्का तीन सय १४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमाले निकट अनेरास्ववियुका विमलेश चौधरीले दुई सय १६ र जनता समाजवादीपार्टी(जसपा)नेपाल निकट समाजवादी विद्यार्थी युनियनका ज्ञानेश्वर मण्डल खत्वेले  एक सय पाँच मत प्राप्त गरेका छन् ।
यसैगरी,समानुपातिकतर्फ नेविसंघले चार सय तीन,अनेरास्ववियुले दुई सय ३८ र अखिल (क्रान्तिकारी)ले ४६ मत प्राप्त गरेका छन् । समानुपातिकमा १६ मत बदर भएको छ । समानुपातिकबाट प्राप्त मतकै आधारमा थप छ जना सदस्य चयन गरी त्यसैमध्येबाट उप–सभापति र सह–सचिव चयन गरिने छ । आइतबार भएको स्ववियु निर्वाचनमा यस क्याम्पसमा स्नातक तह र स्नाकोत्तर तहमा भर्ना भएकामध्ये नौ सय ९६ जना विद्यार्थीहरु मध्ये सात सय तीन जनाले मतदान गरेका थिए । 
यता, सर्लाही क्याम्पस मलंगवाको स्ववियु सभापतिमा नेकपा(एमाले)निकट अनेरास्ववियुका धर्मेन्द्र राय ५५ मतान्तरले सभापतिमा चयन भएका छन् ।

रायले तीन सय ८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेस निकट नेविसंघका सुजित यादवले तीन सय ३१ र मधेसी दलको गठवन्धनका रामप्रवेश साहले दुई ६२ मत प्राप्त गरेका हुन । जिल्लामा स्ववियु निर्वाचन भएका तीन वटा मध्य दुई वटामा गठबन्धन र एउटा एमाले निकट विद्यार्थी संगठनले सभापतिमा जित निकालेको हो ।

सम्बन्धित समाचार