प्रदेश सभा सदस्य कुशवाहाको घरमा अख्तियारको छापा,स्वकीय सचिव पक्राउ

469 Shares

महोत्तरी क्षेत्र नम्बर ४ प्रदेश सभा ख बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सदस्य सरोजसिंह कुशवाहाको घरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले छापा मारेको छ।प्रदेश सभा सदस्य कुशवाहाको घरमा छापामारी गर्दा उनका स्वकीय सचिव विनोद कुमार लाल कायस्थलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।
अख्तियार स्रोतका अनुसार प्रदेश सभा सदस्य कुशवाहाको घरबाट विभिन्न विकास योजनाका कागजातहरू पनि बरामद गरिएको छ।स्वकीय सचिव कायस्थ पक्राउ परेका भए पनि सांसद कुशवाहा भने हालसम्म सम्पर्क विहीन रहेका अख्तियारले जनाएको छ ।गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले छापा मारेको जनाइएको छ।उक्त सूचना अनुसार प्रदेश सरकारबाट प्रदेश सभा सदस्य कुशवाहाको भागमा परेको योजनाहरू उनले बिक्री गरेको आशंका गरिएको छ।
मधेश प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री समेत रहेका प्रदेश सभा सदस्य कुशवाहा महोत्तरी क्षेत्र नम्बर ४ प्रदेश सभा ख बाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।यस विषयमा थप अनुसन्धान सुरु भएकोे अख्तियारले जनाएको छ।

सम्बन्धित समाचार