Close This

बागतमी नगरपालिकामा दाना उद्योग र अन्न भण्डारण भवन निर्माण हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१३ गते   २३२ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका ८ शंकरपुरमा दाना उधोग निर्माण हुने भएको छ । बागमती नगरपालिका–८ शंकरपुरमा करिब रु १ करोडको लागतमा दाना उधोगको निर्माण हुने भएको हो ।   स्थानीय किसानहरुको व्यवसायिक पशु पालनमा लागत कम गर्न उधोग सञ्चालन गर्न लागिएको नगर प्रमुख भरत कुमार थापाले बताउनु भयो । 
उधोग स्थापनाको पहिलो चरणमा संघिय सरकारबाट बागमती नगरपालिका मार्फत रु ५० लाख र साना किसान कृषि सहकारी संस्था लिमिटेड शंकरपुरबाट रु ५० लाख गरी जम्मा रु १ करोडको लागत साझेदारीमा आगामी असार पन्ध्र गते भित्र कम्पाउण्ड वाल र फुटपाथ निर्माण हुने संस्थाका प्रबन्धक माधव काफ्लेले जानकारी दिनु भयो ।दाना उधोग निर्माणका लागि कुल लागत रु ५ करोड ९३ लाख ९७ हजार १ सय दस लाग्ने अनुमान गरीएको प्रबन्धक काफ्लेले बताउनु भयो । जसका लागि संघिय सरकारबाट ५० प्रतिशत अनुदान,बागमती नगरपालिकाको कृषि कार्यक्रमबाट २५ प्रतिशत र बाँकी २५ प्रतिशत रकम समुदायबाट शेयर आव्हान गरी उधोग निर्माण गरिने प्रबन्धक काफ्लेले बताउनु भयो ।
निर्माण हुन लागेको उक्त उधोगमा प्रतिघण्टा ५ टन तयारी दाना उत्पादन हुने संस्थाले जनाएको छ । कृषि जोनको रुपमा रहेको बागमती नगर क्षेत्रमा मकैँ, गँहु,आलु लगायतका अन्नबाली अत्यधिक मात्रामा उत्पादन हुने गरेको छ । उत्पादन भएको अन्न बाली किसानले ब्यापारीले निर्धारण गरेको थोरै मुल्यमा खेतैबाट बेच्नु पर्ने बाध्यता खेप्दै आएका थिए । उधोग सञ्चालन पछि यस क्षेत्रका किसानले उत्पादन गरेका मकै, धान गहुँलगायतका बालीले मुल्य पाउने र पशुपालन गर्ने किसानले दाना खरिदमा मुल्य कम हुने अपेक्षा गरेका छन् । 
त्यसैगरी बागमती नगरपालिका ५ मा करिब रु १ करोड ५० लाखको लागतमा अन्न भण्डार पनि भवन निर्माण हुने भएको छ । स्थानीय किसानहरुले उत्पादन गरेको कृषि उपज भण्डारण गर्ने गरी भवन तयार गर्न लागिएको बागमती नगरपालिकाका  नगर प्रमुख भरत कुमार थापाले बताउनु भयो । बागमती नगरपालिका ५ स्थित शंकरपुरमा स्थानीय किसानहरुले उत्पादन गरेको अन्न भण्डारण गर्न मिल्ने गरी भवन निर्माण थालिएको बागमती नगरपालिकाका नगर प्रमुख थापाले बताउनुभयो ।
तीनै तहका सरकारको लगानी रहने उक्त भवनको निर्माण लागत रु  १ करोड ५० लाख रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोखरेलले बताउनुभयो । आफ्नै क्षेत्रमा उत्पादित अन्न भण्डारण गर्न मिल्ने भवन निर्माण हुने भएपछि नगरका किसानहरु हर्षित भएका छन् । स्थानीय किसानहरुले उत्पादन गरेको कृषि सामग्री भण्डारण गर्ने गरी भवन तयार गरिने नगर प्रमुख थापाले बताउनु भयो ।
उक्त भवनको क्षमता ५० हजार मेट्रिक टन हुने नगरपालिकाका इन्जिनियर सागर पौडेलले जानकारी दिनु भयो । कृषि जोनको रूपमा रहेको बागमती नगर क्षेत्रमा आलु, मकै, गहुँलगायत अन्नबाली अत्यधिक उत्पादन हुने गरेको छ । तर, उत्पादित अन्नबाली भण्डारण गरेर राख्ने ठाउँ नहुँदा किसानले उत्पादन गरेको फसल व्यवस्थापनमा समस्या हुदै आएको थियो ।
 अन्नबाली राख्ने स्थानको अभावमा किसानहरुले उत्पादन गरेको अन्नबाली खेतबाटै सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता रहँदै आएको छ । किसानहरुको उब्जनी भण्डारणको समस्या समाधानका लागि नगरले भवन निर्माण गर्न लागेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताउनु भयो । स्टोर निर्माण सम्पन्न भएपछि नगरका किसानहरुले उत्पादन गरेको अन्न सुरक्षित राखेर उचित मूल्य निर्धारण भएपछि बिक्री गर्न सक्ने उहाँको भनाइ छ ।  १ वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने गरी पृथ्वी इन्जिनियरिङले ठेक्का पाएको नगरपालिकाका योजना शाखा प्रमुख सुजन बडालले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech