Close This

पत्रकार महासंघ सर्लाही शाखाद्वारा ६२ जना सदस्यहरुको ९ लाखको बीमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२१ गते   २०२ पटक हेरिएको

नेपाल पत्रकार महासंघ  सर्लाही शाखाले आफ्ना सदस्यहरुको रु ७ लाखको दुर्घटना बीमा एवम रु १ लाख बराबरको औषधोपचार तथा एक लाख बराबरको घातक रोग बीमा गरेको छ । सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेडको नयाँ स्किम ‘प्लान ए’ पोलिसी अन्तर्गत उक्त दुर्घटना बीमा गरिएको महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिनुभयो । महासंघले माग गरेको कागजात उपलब्ध गराएका ६२ जना सदस्यहरुको पहिलो चरणमा बीमा गरिएको महासंघ सर्लाही शाखाका सचिब सुनिल ठाकुरले जानकारी दिनुभयो ।  पहिला नै अन्यत्र दुर्घटना लगायत बीमा गरिसकेका सदस्यहरुको भने महासंघले बीमा नगराएको उहाँले बताउनुभयो ।
दुर्घटना बीमा अन्तर्गत सवारी दुर्घटना, अन्य पक्षको आक्रमण, हुलदंगा लगायत दुर्घटनामा मृत्यु वा घाईते भएमा रु ७ लाख बराबर तथा स्वास्थोउपचार अन्तर्गत २४ घण्टा भन्दा बढी अस्पतालमा भर्ना भएको अवस्थामा रु १ लाखसम्म उपचार खर्च र घातक रोग अन्तर्गत क्यान्सर, किड्नी, मुटु लगायत १८ वटा घातक रोग लागेर उपचार गराउँदा रु १ लाख विमितले पाउने सगरमाथा ईन्सुरेन्स कम्पनिका प्रदेश २ रिजनल म्यानेजर रामप्रसाद थपलियाले बताउनुभयो ।
नेपाल सरकारले सम्बद्ध संचार संस्थाले आधा प्रिमियम तिर्ने गरी रु ५ लाख बराबरको दुर्घटना बीमा गराउने भएपनि उक्त बीमामा सहभागि हुन पत्रकारको अनिवार्य सूचना विभागको रातो परिचय पत्र हुनुपर्ने भएकाले पत्रकार महासंघका सबै सदस्य तथा अन्य सकृय पत्रकारहरुले लाभ पाउन सकेका छैनन् । रातो परिचय पत्र बनाउन अत्यन्त झञ्झट हुँदा बीमा गराउन नपाउने अवस्थाबाट बञ्चित हुने भएकाले पत्रकार महासंघ सर्लाही शाखाले भने आफ्ना सदस्यहरुको बीमा गराएको हो । पहिला नै अन्यत्र बीमा नगराएका बाँकी सदस्यहरुको पनि कागजात उपलब्ध भए अनुसार निकट भविष्यमा बीमा गरिने अध्यक्ष क्षेत्रीले बताउनुभयो । पत्रकार महासंघ सर्लाही शाखामा ७६ जना सदस्य रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech