सर्लाहीले धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहलाई नागरिकता किर्ते गरेको आरोपमा पक्राउ गर्न अदालतले आदेश दिएको छ ।नागरिकता किर्ते गरेको अभियोगमा दर्ता भएको उजुरीमा जिल्ला अदालत सर्लाहीले पक्राउ गर्न आदेश जारी गरेको पाइएको छ ।
उनलाई भदौ २१ गते अदालतले पक्राउ आदेश जारी गरेको हो । गाउँपालिका अध्यक्ष साहले फरक फरक मितिमा उमेर र नागरिकता नम्बर समेत फरक पारेर नागरिकता लिएको भन्दै जिल्ला अदालतमा जाहेरी परेको थियो ।
नागरिकता किर्ते अभियोगमा २०७९ पुसमै उच्च अदालत जनकपुरका न्यायाधीशद्धय न्यायाधीश विष्णुप्रसाद कोइराला र सागर विष्टको संयुक्त इजलासले जाहेरी दर्ता गरी कारवाही अघि वढाउन आदेश दिएपछि उनीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको थियो । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत दायर गरेको मुद्दामा अदातले पक्राउ आदेश जारी गरेको हो ।
गाउँपालिका अध्यक्ष साहले २०३४ सालमा नागरिकता लिँदा आफु ३३ वर्षको भएको उल्लेख गरेका छन् । जसको नागरिकता नम्बर २६१९०२१७ रहेको छ भने २०७३ मंसिर ९ गते प्रथम प्रतिलिपि लिँदा १९–०१–७३–०८६३६ नम्बरको नागरिकताको प्रतिलिपि लिएका छन् । भने मतदाता नामावलीको लिष्टमा उनको नागरिकता नम्बर २६१९०२१७ नै उल्लेख गरिएको छ । जसमा उनको जन्म मिति २०११ बैशाख १० उल्लेख गरिएको छ । तर मतदाता नामावली लिष्टमा उनको जन्म मिति २०११ बैशाख १० गते नै छ । यता अदालतले पक्राउ पुर्जी जारी गरेपछि गाउँपालिका अध्यक्ष सम्पर्क विहिन भएका छन् ।
त्यस्तै नेपाली कांग्रेस सर्लाहीले धनकौल गाउँपालिकाका अध्यक्ष साहको नागरिकताको विषयलाई लिएर भ्रम छरिएको भन्दै आपती जनाएको छ । नागरिकता हराएको र प्रतिलिपि लिँदा नागरिकता नम्बर र जन्म मिति फरक पर्न गएको विषयमा गाउँपालिका अध्यक्ष साहले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिई सच्याउनु भएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।
आपराधिक गतिविधिमा संलग्न हुने व्यक्ति हुन निजले सरकारी सम्पती कब्जा गर्न,किर्ते,जालसाजी कागजपत्र बनाउने गिरोहमा सक्रिय भएर हरकठवा मा. वि.को विद्यालय भवनको जग्गादाताको मृत्यु भएको बखत लाशसंग कपाली कागज बनाउन, ललितपुरकी ८६ वर्षिय एकल महिलालाई प्रलोभनमा पारेर करोडौँको घरजग्गा हडप्ने प्रयास गर्ने लगायतका कार्यमा लागेका धनकौल गाउँपालिका २ का नेकपा(एमाले)का नेता राम आधार रायले गाउँपालिका अध्यक्ष साहको चरित्र हत्या गर्न विभिन्न किसिमका प्रपञ्च रहेका नेपाली कांग्रेसका केही नेताहरुले सामाजिक सञ्जाल मार्फत बताएका छन् ।धनकौल गाउँपालिका २ का एमालेका स्थानीय नेता राय ८६ वर्षिय एकल महिलाको करोडौँको घर जग्गा हडप्ने प्रयासमा लागेपछि पीडितले उजुरी गर्दै सर्लाही आएपछि फरार भएका समेत पाइएको छ ।