Close This

फुटकर विकासदेखि राष्ट्रिय गाौरवको आयोजनाको नाममा मनपरी चुरे दोहन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२२ गते   २२४ पटक हेरिएको

कोरोना महामारी र निषेधाज्ञाको मौका छोपी लगातार खोला र चुरे क्षेत्र दोहन भइरहेको छ । रातदिन मेसिन प्रयोग गरेर ढुंगा, गिट्टी, बालुवा निकासी भइरहेको छ । अहिले हरेकजसो खोलामा एस्काभेटर,जेसिवी र टिपरको लाइन देखिन्छ । 
जिल्लाको बाँके,फुलजोर,कालीन्जोर र लखन्देही नदीमा स्थानीय निकायले ठेक्का लगाएका छन् । वातावरणिय प्रभाव मुल्यांकन(आईईई)प्रतिवेदन अनुसार उक्त नदीहरुमा नदीजन्य पदार्थको उत्खनन् गर्न ठेक्का लगाइउको भएपनि ती स्थानमा मेसिनको प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन भई रहेको छ  । उक्त नदीहरुमा रातदिन धमाधम एस्काभेटर,जेसिवी र टिपरहरुले ढुंगा, गिट्टी, बालुवा उत्खनन गरिरहेका छन् । उक्त नदीहरुमा करिब २ सय वटा टिपरहरुको लाइन नै लाग्ने गरेको छ ।
स्थानिय निकायहरुले नदी ठेक्का दिँदा मेसिनको प्रयोग नगर्ने र मानिसले मात्रै नदीजन्य पदार्थ उठाउने सम्झौता गरिएको थियो तर अहिले विपद्को बहाना बनाएर मेसिन प्रयोग गर्न थालिएको छ । पुर्व पश्चीम लोकमार्ग अन्तर्गत सर्लाही र महोत्तरीको सिमानामा रहेको पुलको दक्षिणतर्फ एस्काभेटरले तटबन्धसमेत भत्काएर नदी उत्खनन् गरेको छ । 
जसका कारण पुर्व पश्चीम लोकमार्ग र पुल समेत धरापमा पर्नुको साथै श्रीनगर क्षेत्रका वस्तीमा नदी पस्ने जोखिम बढेको स्थानीय हरि चौधरीले बताउनु भयो । ‘हामीले उत्खनन् भइरहेको ठाउँमा पुगेर रोक्ने प्रयास ग¥यौं तर हाम्रो सुनुवाइ भएन,’ उहाँले बताउनुभयो । ‘नदी किनारमा बनाइएको तटबन्धसमेत भत्काइएको छ । जथाभावी मेसिन लगाइरहेका छन् ।’ जिल्लाका सबै नदीमा यसैगरी उत्खनन भइरहेको चौधरीले बताउनु भयो ।
अवैध उत्खननले सिँचाइ कुलोहरूसमेत भासिन थालेको स्थानीय किसानको गुनासो छ । नदीको बहाव अर्कैतिर मोडिएर गाउँबस्ती जोखिममा पर्नुका साथै खेतीयोग्य जमिन समेत जोखिममा परेको अर्का स्थानिय कपिल चौधरीले बताए । ‘जथाभावी मेसिन प्रयोग हुँदा नदी अर्कैतिर जाने जसका कारण वर्षामासमा नदी गाउँमा पस्ने जोखिम बढेको उहाँच्को भनाई छ ।
वर्षातको समय आइसकेका कारण मेसिन प्रयोग गरेर रातीपनि नदीजन्य पदार्थ उत्खनन्को काम गर्न थालिएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटाले बताउनु भयो । ‘हामीले पहिले नै ठेक्का लगाइसकेका छौं, पछि विपद् नहोस् भनेरै परिमाण पुगेपछि नदी उत्खनन्को काम रोक्न ठेकेदार कम्पनीलाई पत्राचार नै गरि सकेको भएपनि ठेकेदार कम्पनीले अटेर गरी नदी दोहन गरि रहेका उहाँले बताउनु भयो । उहाँका अनुसार ‘अहिले महामारीका बाहना बनाउँदै ठेकेदारले लार्पबाहीपुर्ण तरिकाबाट नदी दोहन गरेको र पटक पटक रोक्न आग्रह गर्दा समेत अटेर गरेको हो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) निर्माण कार्यमा प्रयोग भएका सवारी साधनहरुलाई नरोक्ने बताएपछि निर्माण सामाग्री बोक्ने तथा नदी जन्य पदार्थ बोक्ने सवारी साधनहरुको मनोमानी समेत बढेको ट्राफिक प्रहरीले जनाएको छ ।
यी सबै खोलामा अत्यधिक दोहन भएको छ । डिभिजन वन कार्यालय सर्लाहीका अनुसार जिल्लाको कुल क्षेत्रफल १ लाख २५ हजार ९ सय ४८ हेक्टर मध्य १३ हजार ८ सय ६८ हेक्टर अर्थात १३ दशमलव ९ प्रतिशत चुरे क्षेत्रमा पर्छ । ढुंगा, गिट्टी र बालूवा निकासी चुरेबाट नै भइरहेको छ । चुरेमा धेरै खहरे खोला छन् । अधिकांश विकासका काम चुरे क्षेत्र नष्ट गर्ने गरी भइरहेका छन् । चुरे क्षेत्र बचाउन निकै प्रयास गर्दा पनि सम्भव नभएको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताउनु भयो ।  उहाँका अनुसार 
 विकासका नाममा चुरे विनाश भइरहेको छ ।
स्थानीय निकायले ठेक्का लगाइसकेका स्थानमा कोरोना महामारीका कारण काम गर्ने मानिस पाउन नसकेको र वर्षातको समय नजिकिँदै गरेकाले मेसिन प्रयोग गर्ने अनुमति दिइएको जिसस सभापति चौधरीले बताउनु भयो । ‘स्थानीय निकायले काम गर्ने मानिस पाउन कठिन भयो, ठेक्का दिइसकेका ठाउँमा नदीजन्य पदार्थ निकाल्न ढिला भयो, अब वर्षातमा झनै समस्या हुन्छ भनेर मेसिन प्रयोगको माग गरेकाले हामीले अनुमति दिएका हौं,’ उहाँले बताउनु भयो । उहाँका अनुसार ‘यसमा स्थानीय निकायको अनुगमन र निगरानी आवश्यक हुन्छ । चोरी, निकासी हुन दिइएको छैन । नियमानुसार मात्रै निकालिएको छ ।’
नियम नमान्नेलाई कारबाही प्रक्रिया पनि थालिएको उहाँले बताउनु भयो । 
चुरे दोहन नगर्न स्थानीयको माग
जिल्लाको चुरे आसपासका बासिन्दाले ढुंगा, गिट्टी, बालुवाका लागि चुरे क्षेत्रमा उत्खनन नगर्न आग्रह गरेका छन् । जिल्लाको आधाभन्दा बढी वन क्षेत्र ओगटेको चुरेमा कमजोर भू–बनोटका कारण हुने भू–क्षयले बर्सेनि सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको र खानेपानीको समस्या उस्तै विकराल भइरहेको उनीहरूले बताएका छन् । त्यसमै उत्खनन् बढाए आफूहरूको बिल्लीबाठ हुने उनीहरूको भनाइ छ ।
चुरे क्षेत्रको माटो अत्यन्तै कमजोर प्रकृतिको हुने भएकाले त्यसलाई चलाउना साथ सबै बग्ने गरेको इश्वरपुर नगरपालिका १२ का स्थानियबासी विनोद कुमार तामांगले बताउनु भयो । वन पैदावार र ढुंगा, बालुवा र गिट्टीका लागि चुरे क्षेत्र उपयोग गर्दा जिल्लाको चुरेफेदीका बस्तीहरु र खेतीयोग्य जमिन बगर बन्दै गएको तामांगले बताउनु भयो । ‘ढलापडा सुक्खा खडाका नाममा चुरे क्षेत्रको वन मास्दै लाने क्रम अझै रोकिएको छैन, त्यसमाथि चुरे दोहन गरी ढुंगा, बालुवा र गिट्टी निकासी भन्दै क्रसर उद्योगहरू ठडिन थालेका छन्,’ उहाँले बताउनु भयो । जिल्लाको चुरे खहरेबाट दशकअघि अवैध ढुंगा संकलन गरी भारत निकासी गरेको मार स्थानीयले अहिलेसम्म व्यहोरिरहेको उहाँले बताउनु भयो ।
चुरेखहरेबाट ढुंगा उत्खनन् गरी जिल्लाको इश्वरपुर नगरपालिका ५,लालबन्दी नगरपालिका १७,९,१,११,हरिवन नगरपालिकाका विभिन्न स्थानमा संकलन गरेर दशकअघि भारत निकासी भएको थियो । स्थानीयको ठूलो विरोधपछि त्यो क्रम रोकिएको थियो । बाँके र लखनदेहीको बगर उक्सिएर फाँट खेतहरू बगर बन्ने र हिउँदको मौसममा पानीको हाहाकार भई काकाकुल बन्नुपर्ने अवस्था आएको फँडानी र दोहनले गर्दा नै भएको उनीहरूको ठम्याइ छ ।
डिभिजन वन कार्यालय सर्लाहीका अनुसार २९ हजार ७ सय ३६ दशमलव १३ हेक्टर वन क्षेत्रमध्ये १३ हजार ८ सय ६८ हेक्टर अर्थात १३ दशमलव ९ प्रतिशत चुरे क्षेत्रमा पर्छ । 
कार्यालयका वन अधिकृत तथा सुचना अधिकारी राकेश रन्जन दासले चुरे क्षेत्रको माटो पानी अडिन नसक्ने खालको भएकाले त्यसलाई चलाउँदा बगिहाल्ने बताउनु भयो । ‘चुरेलाई चलाए त्यसबाट विपत्ति निम्तिन सुरु भइहाल्छ, ठुल्ठूला खहरे बन्छ, खेतीयोग्य जमिन बगर नै बनाउँछ,’ उहाँले भन्नुभयो । पछिल्लो पटक चुरे क्षेत्रमा एकातिर खहरे बढेका छन् भने अर्कोतर्फ खेतीयोग्य जमिन बगर बनेको छ । यससँगै सुक्खा मौसममा खानेपानीको हाहाकार हुने गरेको जनज्योति मावि लालबन्दीका पूर्व अध्यक्ष मनिष माझीले बताउनु भयो । ‘हामीले देखेका बेला चुरे क्षेत्रबाट एकाधबाहेक खहरे निस्किएका थिएनन्, वन कटानी र ढुंगा, बालुवा निकाल्ने गरेपछि अहिले दर्जनौं नयाँ खहरे बनेका छन्,’ उहाँले बताउनु भयो ।
चुरे क्षेत्र जिल्लाको इश्वरपुर नगरपालिकादेखि बागमती नगरपालिकासम्म पर्छ । जिल्लामा पर्ने चुरेको ६० किलोमिटर क्षेत्रमा पुर्वपश्चीम लोकमार्ग पर्दछ । सडक बिस्तार,नदी दोहनले चुरे क्षेत्र कमजोर भएकाले उत्खनन् भन्दा संरक्षणमा जोड दिनुपर्ने सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीकी अध्यक्ष कृष्णा पौडेलले बताउनुभयो ।
‘जिल्लाका सामुदायिक वन व्यावस्थापन गरेर चुरे क्षेत्र संरक्षणको जिम्मा उपभोक्तालाई दिनु पर्ने’उहाँले बताउनु भयो ।‘यतिखेर त्यही चुरेमा सबैका आँखा गडेका छन् । चुरेमा दोहन सुरु हुनासाथ अर्को प्राकृतिक विपत्ति आइलाग्छ ।’
पुर्व पश्चीम लोकमार्गलाई लक्षित गरेर चुरे क्षेत्रमा खुलेका क्रसरहरूले यतिखेर जरा गाड्न थालेका छन् । डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव प्रसाद देवका अनुसार जिल्लामा सागरनाथ वन विकास परियोजना ६ हजार ६ सय  ६९ दशमलव १५ हेक्टर,सामुदायिक वन १३ हजार ७ सय ३८ हेक्टर,धार्मिक वन ६ दशमलव ६४ हेक्टर,कवुलियती वन ६४ दशमलव १४ हेक्टर,साझेदारी वन ५ हजार ४ सय ३१ दशमलव ४२ हेक्टर र राष्ट्रिय वन ३ हजार ८ सय २७ दशमलव ३५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
यता,राष्ट्रिय गौरवको आयोजना पुर्व पश्चीम रेल मार्गको ट्याक निर्माणको काम गरि रहेको गजुरमुखी निर्माण सेवा प्रालीले पनि रेल्वेको ट्याक बनाउने काम गरि रहेको छ । जसको नाममा अन्य आफुलाई ठेकेदार भन्नेहरुले नदी तथा चुरे दोहन गरी रहँदा राष्ट्रिय गौरवको आयोजना बद्नाम भएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech