सर्लाहीको लालबन्दीका व्यापारीहरुले सोमबार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीको ध्यानाकर्षण गराएका छन् । केही दिनदेखि अत्याधिक गर्मी र चर्को घाम भइरहेको समयमा छिनछिनमै लाईन काट्दा जनजीवन कष्टकर भएको भन्दै लालबन्दीका व्यापारीहरुले प्राधिकरण कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका हुन् ।
उनिहरुले अनियमित विद्युत कटौतिले व्यापार व्यवसाय र उद्योगहरु प्रभावित भएको भन्दै वितरण केन्द्रको ध्यानाकर्षण गराएका हुन् । लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायलाई ज्ञापन पत्र बुझाउँदै लालबन्दीका व्यापारीहरुले विद्युत नियमित गर्न माग गरेका छन् ।
उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीको नेतृत्वमा वितरण केन्द्र पुगेका व्यापारीहरुले अघोषित लोडसेडिङ हुँदा सर्वसाधारण आजित भएका जानकारी गराएका छन् । प्राधिकरणले भने हावाहुरी, गर्मीमा पंखा, फ्रीज, एसीजस्ता विद्युतीय उपकरण बढी चल्दा लोड थेग्न नसकेर र विद्युतका संरचना पुराना रहेका तर ग्राहकहरु बर्सेनि ठूलो संख्यामा बढिरहेकाले विद्युत नियमित गर्न नसकिएको बताउँदै पन्छीने गरेको छ ।
अहिलेको पुराना विद्युत संरचनालाई लोड थेग्न मुस्किल परिरहेको र हालको जस्तो समस्या अब बर्खाभरी नै रहने सक्ने प्राविधिकहरुले बताएको छ । लालबन्दी नगरपालिका १ नवलपुरमा निर्माणधिन अवस्थामा रहेको सवस्टेशन बनेपछि भने अहिलेका जस्तो समस्या नहुने वितरण केन्द्र लालबन्दीका कार्यालय प्रमुख सुधिर कुमार रायले बताउनु भयो ।
उँहाका अनुसार सर्लाहीको विद्युतभार धेरै रहेका कारण उक्त विद्युतभार हटाउन रौतहटको चन्द्रनिगाहपुर र धनुषाको ढल्केबरमा रहेका सवस्टेशनबाट बिजुली प्रवाह गरेको छ । अहिलेको समस्या तत्काल समाधानका लागि ढल्केबरबाट ल्याइएको लाईन जिल्लाको पूर्वी भेगमा प्रवाह गरिने र चपुरबाट ल्याइएको ३३ केभी लाईन मलंगवासहित पश्चिमी बेल्टमा प्रवाचह गरिने प्राधिकरणले जनाएको छ ।