सर्लाहीको लालबन्दी नगरपालिका– १ स्थित रहेको सर्प दंश उपचार केन्द्रमाथि आर्थिक अनियमितताको आरोप लागेको छ।२०७० साउन ७ गते स्थापना भएको संस्थाले १२ वर्ष पुरा हुँदै गर्दापनि केन्द्रको आय÷व्याय पारदर्शी रुपमा सार्वजनिक नगरेको पाइएपछि संस्थामाथि आर्थिक अनियमितताको आरोप लागेको हो ।
स्थापना भएको १२ वर्ष सम्म तीन जना मात्रै अध्यक्ष बन्नु,आठ हजार सात सय ३० जना सफल उपचार भएका विरामीहरुको छुट्टा छुट्टै तथ्यांक र हिसाब किताब नराखीनु,निर्माण सामाग्रीहरु सहयोग गर्ने दाताहरुको विवरण सार्वजनिक नगरीनु तथा विभिन्न निकायहरुबाट सहयोग स्वरुप प्राप्त भएको रकमको आय÷व्याय पारदर्शी रुपमा सार्वजनिक नगरीनुले केन्द्रमा ठूलो आर्थिक अनियमितता भएको प्रष्ट हुने स्थानीयले बताएका छन् ।
केन्द्रका शेयर सदस्यहरु र तीनका परिवारलाई रु पाँच सय ५० र गैर शेयर सदस्यहरुलाई रु दुई हजार पाँच सय ५० मा उपचार हुने गरेकोमा विगत १२ वर्षमा आठ हजार सात सय ३० जना सफल उपचार भएको छ।तर ती आठ हजार सात सय ३० जना सफल उपचार भएका मानिसहरु के कति शेयर सदस्यहरु र के कति गैर शेयर सदस्यहरु हुन भन्ने एकीन विवरण सार्वजनिक नगरीँदा सो वापतको रकम अनियमितता भएको,केन्द्रको स्तरोउन्नतीको सवालमा विभिन्न दाताहरुले आर्थिक तथा निर्माण सामाग्रीहरु सहयोग गरेकामा कसले के कति सहयोग गरे सो सार्वजनिक नगरिएको तथा विभिन्न निकायहरुबाट प्राप्त भएको सहयोग रकम सार्वजनिक नगरीनुले केन्द्रमा व्यापाक अनियमितता भएको स्थानीयको आरोप छ ।
१२ वर्षको अन्तरालमा रामजी प्रसाद पोखरेल,बोधराज काफ्ले र उद्धव प्रसाद पौडेल अध्यक्ष भएर चलाएका र उनीहरुको भौतिक शरीर फरक फरक भएपनि एउटै मानिसहरु रहेका कारण आफुहरुको कमिकमजोरी लुकाउन उनीहरु तीनै जनाको मिलेमतो रहेको स्थानीयको आरोप छ ।
यता,आफुहरुले बिरामीहरुको तथ्यांक एकमृष्ट रुपमा सार्वजनिक गर्ने गरेको र रकम पनि एकमृष्ट देखाउने गरेको केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष उद्धव प्रसाद पौडेलले बताए ।केन्द्रले वार्षिक साधारण सभा मार्फत बिरामीहरु तथा आय÷व्याय एकमृष्ट प्रस्तुत गर्ने गरेको र आर्थिक अनियमितता नभएको अध्यक्ष पौडेलले दाबी गरे।तर बिरामीहरुको फरक फरक तथ्यांक नराखेको र आय÷व्याय पनि फरक फरक नराखेको स्वीकार गरे ।केन्द्रलाई स्थानीय दाताहरुले निर्माण सामाग्रीहरुका साथै विभिन्न निकायहरुबाट हरेक वर्ष आर्थिक सहयोग समेत प्राप्त हुँदै आएको छ ।