२५ दिनमा ढल्यो सोनल नेतृत्वको मधेश प्रदेश सरकार

248 Shares

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन नसकेपछि पदबाट राजीनामा दिएका छन्। शनिबार विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा आफुले विश्वासको मत पाउने सम्भावना नदेखेपछि उनले पदबाट राजीनामा घोषणा गरेका हुन।प्रदेशसभामा विश्वासको मत लिने वातावरण नरहेको भन्दै आफूले पदबाट राजीनामा दिएको मुख्यमन्त्री सोनलले बताए । 
प्रदेश सभाबाट बाहिरिएपछि मुख्यमन्त्री सोनलले प्रदेश सभालाई नियन्त्रणमा राखेर संघीयतालाई नै समाप्त पार्ने खेलमा सभामुख रामचन्द्र मण्डलको भूमिका रहेको समेत आरोप लगाए।“सत्ता पक्षका प्रदेश सभा सदस्यहरू कोही केही समयका लागि बाहिर गएका र कोही खाजा खान निस्किएका थिए।त्यो देखेर आफूले सभामुख मण्डललाई आधा घण्टा रोकेर वातावरण बन्न दिन आग्रह गरेको तर पटक पटक बेल बजाइ नै राखेपछि आफू राजीनामा दिने निर्णयमा पुगे हुँ।” मुख्यमन्त्री सोनलले बताए ।उनले संघीयता समाप्त पार्ने खेल भइरहेको अवस्थामा लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात् नगर्नेहरू प्रदेशसभा नै विघटन गर्ने तर्फ लागि परेका समेत आरोप लगाए ।आगामी दिनमा अर्को परिस्थितिको निर्माण हुनसक्ने बताउँदै जसले बहुमत पु¥याउँछ उसको सरकार वैधानिक ढङ्गबाट बनोस भन्ने अभिप्रायले आफूले मार्ग प्रशस्त गरेको मुख्यमन्त्री सोनलले बताए ।मधेश प्रदेशका मुख्यमन्त्री सोनलको सरकारलाई विश्वासको मत दिन नेकपा(माओवादी केन्द्र)का दुई जना प्रदेश सभा सदस्यले विद्रोह गर्दै विश्वासको मत नदिने अडान लिएका थिए ।
सभामुख मण्डलले मत विभाजनको प्रक्रियामा जानु अघि नै सत्ता पक्षबाट माओवादी केन्द्रका दुई जना प्रदेश सभा सदस्य रहबर अन्सारी र माला कुमारी कर्णले आफ्नो कुरा राख्न पाउनुपर्ने भन्दै मन्तव्य सहित विश्वासको मत नदिने घोषणा गरेका थिए।मधेश प्रदेश सभाका सभामुख मण्डलले मत विभाजनको प्रक्रियामा जान खोजेपछि रोस्टमबाट बोल्न आग्रह गर्दै माओवादी केन्द्रका प्रदेश सभा सदस्य एवम निवर्तमान राज्य मन्त्री अन्सारीले मधेश प्रदेश सभाको औचित्य र नैतिक धरातल सकिएको भन्दै आफ्नै मुखमा कालोमोसो दलेका थिए।रोस्टमबाट बोल्दै प्रदेश सभा सदस्य अन्सारीले सबै दल र सांसदहरूको नैतिक धरातल सकिएकाले कुनै दललाई विश्वासको मत नदिने घोषणा गरे।
माओवादी केन्द्रकी अर्की प्रदेश सभा सदस्य कर्णले समेत केन्द्रित शासन लागू गरेको विरोधमा कुनै पनि दलको नेतालाई पक्ष वा विपक्षमा मतदान नगर्ने हाउसबाट घोषणा गरिन्।मधेश प्रदेश सभामा एक सय सात जना प्रदेश सभा सदस्यहरु रहेका मध्ये तीन जना प्रदेश सभा सदस्य हाल निलम्बित छन्। 
हाल प्रदेश सभाको कूल सांसद संख्या एक सय चार जना रहेका मध्ये दुईजना जनस्वराज पार्टीका सांसद अनुपस्थित देखिएका थिए। जनमतबाट विभाजन भएर नयाँ पार्टी बनेका जनस्वराजका दुई सांसद पूर्व मुख्यमन्त्री सतिश कुमार सिंह र त्रिभुवन साह अनुपस्थित थिए। यता,नागरिक उन्मुक्ति पार्टीले मुख्य मन्त्री सोनारलाई विश्वासको मत दिने निर्णय गरेको थियो।तर,संघीय समाजवादी पार्टीकी विमला अन्सारी अनुपस्थित रहेकी थिइन्।नेपाली कांग्रेस र नेकपा(एमाले)लाई बाहिर राखेर सोनल नेतृत्वको सरकार २५ दिन पहिला गठन भएको  थियो ।जो शनिबार विश्वासको मत  लिन सक्ने अवस्था नदेखेपछि ढल्यो ।

सम्बन्धित समाचार