नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को भातृसंगठन योङ कम्युनिष्ट लीग, नेपाल सर्लाहीले सोमवार व्यापार घाटा न्यूनीकरण गर्न ढुङ्गा, गिट्टी र बालुवा निर्यात गर्ने सरकारको निर्णयको बिरोध गरेको छ ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै योङ कम्युनिष्ट लीग, नेपालले चुरे विनाशले तराई क्षेत्रमा ठुलो प्राकृतिक संकट आउने र तराई÷मधेस मरुभूमि हुने निश्चित भएकाले निर्णय फिर्ता लिन माग गरेको हो । सर्लाही संयोजक संजय पाचे र इन्चार्ज समिर बराइलीद्वारा जारी विज्ञप्तिमा चुरे विनाशले अन्नको भण्डार तराईलाई प्रत्यक्ष असर पार्ने उल्लेख गरिएको छ ।
जिल्लाका बाँके,फुलजोर,कालीन्जोर लखन्देही र बागमती लगायतका नदीबाट नदीजन्य पदार्थको अत्यधिक दोहन हुँदा वर्षेनी बाढी, पहिरो र डुवानको समस्या भोगिरहेका सर्लाहीवासीलाई यस निर्णयले थप क्षति हुनेमा दुईमत नरहेको विज्ञप्तिमा उल्लेख गरिएकोे छ ।
‘अहिले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड १९ )का कारण देश महामारीको चपेटामा परेको बेला जनतालाई राहत दिनुको साटो चोरबाटोबाट ल्याइएको बजेटमार्फत् चुरे सक्ने सरकारको निर्णयको हामी घोर भत्र्सना गर्दछौ”,विज्ञप्तिमा भनिएको छ । निर्णय फिर्ता नलिए सङ्गठन जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।