आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा ३ मतदानस्थल थपिएको छ, भने २५ वटा मतदान केन्द्रलाई स्थानान्तरण गरिएको छ ।
मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिको बैठकले बागमती नगरपालिका २ स्थित प्रगितशील दुग्ध उत्पादन संस्था गणेशपुरमा रहेको मतदानस्थललाई जनता मा.बि. सोल्टी,जनता प्रावि भवानीपुरमा रहेको मतदानस्थललाई जानकी जनता प्रा.वि.मा,सन्तोस्पुर प्रावि सन्तोषपुरमा रहेको मतदानस्थललाई सोही वडाभित्रको श्री जनजागूति प्रावि रक्षापुर मतदानस्थलमा गाभिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ। त्यस केन्द्रमा मतदान गर्नका लागि मतदाता अपायक रहेको र सो मतदान केन्द्र विभाजन गरी थप गर्ने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सत्य नारायण शाहले जानकारी दिनु भयो । उहाँका अनुसार ४१ वटा केन्द्रको त्रुटि सच्याउने र २५ वटा केन्द्र स्थानान्तरण गर्ने काम गरिएको हो ।
जिल्लाका २५ मतदान स्थल मतदातालाई पायक पर्ने स्थानमा स्थानान्तरण गरिएको छ । विद्यालय गाभिएका,भौतिक संरचना निर्माण भई कम्पाउण्ड साँघुरो भएका केन्द्रलाई स्थानान्तरण गरिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०७७ अनुसार केन्द्र आफ्नै वडामा हुनुपर्ने भएकाले १ केन्द्र वडामा सारिएको कार्यालय प्रमुख शाहले जानकारी दिनुभयो ।उहाँका अनुसार बलरा नगरपालिकामा रहेको रामसखी मोहित सिंह जनता मा.वि.बलरा मतदानस्थललाई बलरा नगरपालिकामा रहेको साविकको गाविस भवन बलरा बजारमा सारिएको छ ।
त्यस्तै,जिल्ला निर्वाचन कार्यालयले गत असार १ गतेदेखि सुरु गरेको नामावली सङ्कलन कार्यमा नयाँ नाम दर्ता गर्नेको सङ्ख्या ८ हजार ७ सय ७३ जना थपिएका छन् । जिल्लाका ८ हजार ७ सय ७३ जना मतदाता थपिएका कार्यालयका प्रमुख शाहले जानकारी दिनुभयो । जिल्लाको ४ स्थानबाट गरिएको नामावली सङ्कलनका क्रममा उनीहरुले नाम दर्ता गराएका हुन्।
नाम दर्ता गराउनेमध्ये १ सय ७९ जना बाह्य जिल्लाका छन् । उनीहरुले यहाँ नामावली दर्ता गराएको भए पनि सम्बन्धित जिल्लामा नै पठाइने उहाँले बताउनुभयो । स्थानीय निकायको निर्वाचन २०७९ मा जिल्लामा ४ लाख ७४ हजार ४ सय ३९ मतदाता रहेका थिए । जिल्लामा ३ सय १८ मतदानस्थलमा ५ सय ९९ मतदान केन्द्र थिए । सङ्घीय र प्रदेशसभा निर्वाचनमा मतदानस्थल थप भएसँगै केन्द्र समेत थप हुने कार्यालय प्रमुख शाहले बताउनुभयो । सर्लाहीमा ४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् भने ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।