लालबन्दी १ नवलपुरको सर्पदंशको आईसीयू र भेन्टिलेटर चाँडै सञ्चालनमा आउने

2.5k Shares

सर्लाहीको लालबन्दी नगरपालिका १ मा रहेको सर्पदशं उपचार केन्द्र नवलपुरमा आईसीयू र भेन्टिलेटर सहितको उपचार सेवा सञ्चालनको तयारीमा छ । सर्पदंश उपचार केन्द्रमा दक्ष प्राविधिक चिकित्सक सहित आईसीयू र भेन्टिलेटर सञ्चालनमा आउने तयारीमा पुगेको हो ।
सर्पदंश उपचार केन्द्रको लामो पहल पछि दुईजना एमबीबीएस डाक्टर नियुक्त गरेर सर्पदंशका विरामीलाई सुविधा सम्पन्न सेवा प्रदान गर्न लागेको हो । केन्द्रले केही बर्ष पहिला उपकरण खरिद गरेको भएपनि दक्ष प्राविधिक डाक्टरको अभावमा सामान्य खालका बिरामी बाहेकलाई उपचार सेवा दिन सकेको थिएन ।
केन्द्रले नियुक्त गरेका डाक्टर आईसीयु र भेन्टिलेटर प्रयोगको ट्रेनिङका लागि धरानमा रहेकाले केही दिन भित्रै आईसीयु र भेन्टिलेटर सहितको सेवा सुचारु हुने केन्द्र सञ्चालक समितिका अध्यक्ष उद्वव पौडेलले जानकारी दिनु भयो । दक्ष डाक्टरको अभावका कारण केन्द्रमा रहेको भेन्टिलेटर र आईसीयू लामो समय देखी अलपत्र अवस्थामा रहेको थियो । भने, सर्पदंशका गम्भीर बिरामीहरुले उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको थियो ।
केन्द्रको आफ्नै जनशक्ति नभएका कारण अन्य अस्पतालका प्राविधिकको सहयोगमा संचालन गरिएको भेन्टिलेटर मेसिन समेत केही समय पहिला तोडफोड भएको थियो । सोही मेसिन पुनः मर्मत गरेर संचालन गर्ने तयारी गरिएको केन्द्रले जनाएको छ । यस सिजनको लागि आवश्यक औषधी एन्टी स्नेक भेनम प्रयाप्त रहेको र आफुहरु सम्पुर्ण रुपमा तयारी अवस्थामा रहेको अध्यक्ष पौडेलले बताउनु भयो ।अब केही दिनभित्रै आईसियु र भेन्टिलेटर समेत संचालनमा आउने भएकाले बिरामीहरुले अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनु भयो ।
गर्मी मौसम सुरु भए सगैँ जिल्लामा सर्पदंशका बिरामीको संख्यामा समेत बृद्धीहुदै गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अहिले दैनिक ३÷४ जना सम्म सर्पदंशका बिरामी आउने गरेका छन् । केन्द्रमा हाल ८ बेडको क्षमता रहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । स्थानीय सरकारको सहयोगमा सञ्चालन भईरहेको केन्द्रलाई आवश्यकता अनुसार सहयोग गरिदिन समेत स्थानीय तहहरुसँग उहाँले आग्रह गर्नु भयो । 

सम्बन्धित समाचार