मलमाथी लागेको प्रतिबन्ध फुकुवा,जिल्लाका किसानहरु खुसी

2.8k Shares

जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको मल वितरण फेरी फुकुवा गरेको छ । प्रशासनले मल वितरणमा रोक लगाएको एक साता नपुग्दै प्रशासनले मल वितरण फुकुवा गरेको हो । 
कोटाभन्दा बढी मल वितरण भएको भन्दै रोक लगाएको प्रशासनले उखु तथा मकै किसानको गुनासोपछि वितरण फुकुवा गर्न आदेश दिएको हो ।
एक साताअघि धानको मुख्य सिजनमा मल वितरण गर्ने भन्दै हाल स्टकमा रहेकोमल वितरण नगर्न  जिल्लाको लालबन्दी नगरपालिका १ नवलपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडलाई प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले आदेश दिनु भएको थियो ।
‘कोटाभन्दा बढी मल वितरण भइसकेकाले यसको दुरुपयोग हुन सक्ने भन्दै वितरणमा रोक लगाइएको र धानको मुख्य सिजनमा समस्या नआओस् भनी त्यतिवेला वितरण गर्ने भन्ने उद्देश्य थियो, तर उखु तथा मकै किसानले मल हाल्नै नपाएको गुनासो आएपछि स्टकमा रहेको मल वितरण गर्ने र थप मलका लागि आवश्य पहल गर्ने भन्दै मल वितरण फुकुवा गरेको’ प्रमुख जिल्ला अधिकारी तामांगले बताउनु भयो ।
उखु तथा मकैमा मल छर्ने मुख्य समयमा वितरणमा रोक लगाएपछि  जिल्लाका किसानहरु मारमा परेका थिए । मलको जोहोका लागि किसानहरु कहिले कृषि सहकारी संस्था,कृषि सामग्री तथा साल्ट ट्रेडिङमा धाउने गरेका थिए ।   मल नपाए उब्जनी घट्ने भन्दै किसानहरुमा चिन्तित थपिएको थियो । तर प्रशासनले पुनः मल वितरणको आदेश दिएपछि जिल्लाका किसानहरु खुसी भएका छन् । ‘उखुमा मल हाल्नुपर्ने समयमा यसको वितरणमा रोक लगाएपछि समस्या भएको थियो,अहिले फेरी मल वितरण फुकुवा भएपछि खुसी लागेको हरिवन नगरपालिका किसान २ का राम पुकार महत्तोले बताउनु भयो ।
प्रशासनले मल वितरणमा रोक लगाएपछि भारतीय मलको तस्करी बढेको छ । अनुदानको मल गोदाममा थन्किएपछि भारतबाट तस्करी गरी ल्याइएका मल बजारमा छ्याप्छ्याप्ती भेटिन थालेको छ भने रु ९ सय पर्ने एक बोरा युरिया मललाई किसानहरुले रु एक हजार ५ सय सम्म तिर्नुपरेको थियो । तस्करहरूले किसानहरुको भेषमा मल ल्याउने र सीमामा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने गरेको स्थानीयको आरोप छ ।
जिल्लाको कृषि सामग्रीको गोदाममा युरिया तीन हजार ६ बोरा, डीएपी ७ सय ८९ बोरा, पोटास ५ सय १२ बोरा र कृषि चुन १० बोरा स्टक रहेको कम्पनीका प्रमुख दिपक थापा मगरले जानकारी दिनु भयो । यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनमा युरिया ९ सय ५ बोरा, डीएपी एक हजार ५ सय ५९ बोरा, पोटास ६१ बोरा गोदाममा रहेको छ । स्टकमा रहेको सबै मल भाग लगाएर सहकारी संस्थालाई वितरण प्रक्रिया अगाडि बढाइएको कृषि सामग्री कम्पनीले जनाएको छ । जिल्लामा जनप्रतिनिधिहरुको दबावमा जिल्ला प्रशासन कार्यालयले मल वितरण फुकुवा गरेको हो ।
कम्पनीका प्रमुख मगरका अनुसार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले असार १ गतेबाट मल वितरण सुरु गर्ने निर्णय भएको बताउनु भयो । जिल्लाका किसानहरुका लागि ७२ हजार बोरा युरिया र करिब तीन हजार बोरा डिएपी रहेको मगरले बताउनु भयो । उहाँका अनुसार जिल्लामा १ सय ५० वटा डिलरहरु दर्ता भएका छन् ।  जिल्लामा हरेक वर्ष माग भन्दा बढी मल आउने गरेको  कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार