Close This

नाबालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-४ गते   १३६ पटक हेरिएको

सर्लाहीको ईलाका प्रहरी कार्यालय केशरगञ्ज,बयलवासले नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिका–१२ लामिदमारमा ७ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा लामिदमारका अन्दाजी ३१ वर्षीय कीर्तिमान गोले रहेका ईलाका प्रहरी कार्यालय केशरगञ्ज,बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयो । उहाँका अनुसार गोलेले मावली घरमा हजुरआमासँगै बस्ने नाबालिकालाई गएको वैशाख १० गते मिठोमिठो खानेकुरा दिन्छु भन्दै ललाइफकाई नजिकै आफन्तको खाली घरमा लगेर करणी गरेको पाइएको बताउनुभयो ।
पीडित बालिकाका बुवाआमा ज्याला मजदुरीका लागि लालबन्दीमा बस्दै आएका छन्। बुवाआमा बिहीबार घर फर्किएपछि बालिकाले आफूमाथि गोलेले करणी गरेको बताएकी पारिवारिक स्रोतले बताएको छ ।
त्यसपछि सो घटनाबारे पीडित परिवारले बिहीबार नै इलाका प्रहरी कार्यालय केशरगञ्ज,बयलवासमा उजुरी हालेका थिए । घटनाबारे जानकारी पाउनासाथ शुक्रबार आरोपी गोलेलाई घरबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक ढुङ्गानाले बताउनुभयो । गोलेविरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरी जिल्ला अदालत सर्लाहीबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech