Close This

देशकै ठुलो मानव निर्मित तालमा ३५ सिट क्षमताको जेटबोट संचालन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-१० गते   ३२१५ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिक ४ मा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानव निर्मित तालमा नेपालकै पहिलो जेटबोट संचालनमा आएको छ । विहिबार(आज) एक कार्यक्रमको आयोजना गरी बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले सो जेटवोट चलाउने पाईलटलाई साचो हस्तान्तरण गर्नु भएको हो ।
पुर्ब पश्चिम लोकमार्ग देखि करिव ३ किलोमिटर दक्षिण तर्फ बागमती नगरपालिका ४ मा  निर्माण भएको भरत तालमा नेपालकै पहिलो ३५ सिट क्षमता भएको जेटबोट संचालन गरिएको बागमति नगरपालिकाका नगर प्रमुख थापाले जानकारी दिनुभयो । सो मानवनिर्मित भरत तालमा २०७८ साल बैशाख १ गतेदेखि बागमती ईन्टरटेनमेन्ट प्रा.लीले दुईबटा मोटरबोट संचालन गरेको थियो भने विहिवार(आज)देखि जेटवोट कुदाईएको नगर प्रमुख थापाले जानकारी दिनुभयो । 
सो ताल प्रदेश नम्बर २ को पर्यटकीय गन्तव्यको रुपमा चिनिँदै आएको छ । तालमा विभिन्न ठाँउबाट दैनिक हजारौं आन्तरीक पर्यटकहरु आउने गरेको पाइएको छ ।  बागमती नगरपालिकाका नगर प्रमुख थापाको बिशेष पहलमा निर्माण गरिएको सो तालकोे कुल गहिराई ३५ फिट रहेकोछ भने सो ताल १ सय २१ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको छ । तालको कुल लागत रु ६० करोड निर्धारण गरिएको छ भने हाल सम्म रु ३७ करोड लगानी भईसकेको नगरउप प्रमुख लिलाकुमारी मोक्तानले जानकारी दिनु भयो । 
गर्मी महिनामा सो भरत तालमा मोटरबोट चढेर गर्मी भगाउन र मनोरन्जन लिन अति आनन्द आउने गरेको छ । विदाको दिन परिवारसहित ठूलो संख्यामा आन्तरिक पर्यटकहरु उक्त तालमा आउने गरेका छन् । लगभग १५ देखि १८ मिनेटसम्मको मोटरबोटको यात्रा सकिँदा पोखराको फेवाताल भन्दा बढि मनोरञ्जन हुने पर्यटकहरुको भनाई छ ।
यस तालमा हंसराज प्रजातिको हाँसहरु समेत पालिएको छ । उक्त हाँसहरुले तालमा पौडि खेलेको ढृश्य देख्दा मनै लोभिने गरेको पर्यटकहरुले बताएका छन् । तालमा केहि समयपछि माछासमेत पालन गरिने नगरपालिकाले जनाएको छ । भरत ताल निर्माणको सम्पुर्ण काम करिब २ महिना भित्रमा सकिने नगर प्रमुख थापाले बताउनुभयो । 
सो जेटवोट उद्घाटन समारोहमा बागमती नगरपालिका  १२ का वडा अध्यक्ष ओम श्रेष्ठ, बागमती नगरपालिकाका ईन्जिनियर सागर पौडेल, बागमती नगरपालिकाका अधिकृत दुर्गेन्द्र ओली तथा राम कुमार बिश्वकर्मा लगायत नगरपालिकाका जनप्रतिनिधहरुका साथै कर्माचारीहरुको समेत सहभागीता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech