सर्लाही सदरमुकाम मलंगवा नगरपालिका क्षेत्रमा झण्डै २ दशकदेखि निर्माणको प्रतिक्षामा रहेको पक्की सडकको निर्माणकार्य शुरु भएको छ । जिल्लाको नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत पर्ने मलंगवा नगरपालिका १० स्थित जिल्ला विकास चौकदेखि वडा न–८ राजश्री सिनेमा हल चौकसम्म बजार एरियाको भित्री सडक निर्माणको कार्य शुरु भएको हो ।
करिब १७ सय मिटर लम्बाई दुबैतर्फ डेढ–डेढ मिटर नाला तथा १३ मिटर आरसिसि ढलान रहने गरि जम्मा १५ मिटर चौडाइको उक्त सडकको निर्माण कार्यशुरु भएपछि मलंगवाबासी खुसी भएका छन् ।
सहरी विकास मन्त्रालयको रु १० करोड बजेटबाट उक्त सडकको निर्माण कार्यशुरु भएको मलंगवा नगरपालिकाले जनाएको छ । यस अघि ४२ मिटर चौडाइको सडक बनाउने योजना रहेको भएपनि ४२ मिटरमा बनाउँदा सयौं स्थानीय बासिन्दाहरुको घरहरु पुर्ण रूपमा क्षतीहुने र सडक पनि नबन्ने भएपछि नगरपालिकाको बोर्डको बैठकको निर्णयअनुसार १५ मिटरमा सडक बनाउन लागेको नगर प्रमुख निरसल साहले बताउनुभयो ।‘लामो समयसम्म पनि सडक नबनेपछि हामीले आश मारिसकेका थियौं ।’ अब सडक बनेपछि अन्य सुविधा पनि थपिने भयो भन्दै नगरबासी खुसी भएका छन् ।