सर्लाहीमा निषेधाज्ञा फेरि थप गरिएको छ । सोमबार जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसि)को बैठकले कोरोना संक्रमणको जोखिम अझै कायमै रहेकाले असार ३१ गते राती बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले जानकारी दिनु भयो ।
सोमबारको बैठकले पसलहरु साँझ ७ बजेसम्म खोल्न दिने र जिल्लाभित्र सबै निजी तथा सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको उहाँले बताउनुभयो । सर्लाहीमा यसरी औपचारिकताका लागि पटक–पटक निषेधाज्ञा थपिए पनि यसको कार्यान्वयन भने फितलो भएको पाइएको छ ।
सबै निकायबाट निषेधाज्ञाको उल्लंघन भइरहेको छ । सरोकारवाला निकाय र आम नागरिक सबैको तर्फबाट भीडभाड र स्वास्थ्य मापदण्डको पालना हुन छाडिसकेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार जिल्लामा अहिले कोरोना भाइरसका सक्रिय संक्रमित ६९ जना रहेका छन् । गएको २४ घण्टामा जिल्लामा नयाँ संक्रमित थपिएका छैनन् भने मृत्यु पनि कसैको नभएको कार्यालयले जनाएको छ । पछिल्ला दिनमा निकै कम मात्रामा कोरोना परीक्षण भइरहेको छ ।