Close This

दुर्घटना गराई फरार भएको ट्याक्टर ९ महिना पछि फेला,प्रहरीको बहादुरीको पर्दाफाँस

पत्र पत्रिका    प्रकाशित: २०७८-३-२७ गते   ८१ पटक हेरिएको

 गत कात्तिक १० गते राति करीब ८ः३० बजे नवलपर–मलङ्गवा सडकखण्डमा नवलपुर चौकभन्दा करीब ७ सय मिटर दक्षिण भएको सवारी दुर्घटनाको ट्याक्टर फेला परेको छ । प्रहरीले नम्बर नखुलेको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएको भन्दै अर्काे ट्याक्टर नियन्त्रणमा लिएको थियो । तर प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टरले दुर्घटना गराएको नभई अर्काै ट्याक्टरले दुर्घटना गराएको पुष्टि भएको छ । तर प्रहरीले निर्दाेष ट्याक्टरलाई नियन्त्रणमा लिएर उक्त ट्याक्टरका चालकमाथी मुद्धा चलाएको छ ।
प्रहरीका अनुसार लालबन्दी नगरपालिका–२ स्थित नवलपुर चौकभन्दा करीब ७ सय मिटर दक्षिण नवलपर–मलङ्गवा सडकखण्डमा नम्बर नखुलेको ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिएर उक्त ट्र्याक्टर फरार भयो । ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार लालबन्दी नगरपालिका २ बस्ने अन्दाजी १८ वर्षीय अङ्कुश पासवानको मृत्यु भयो । घटनापश्चात् इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले दुर्घटना गराउने ट्याक्टरको खोजतलास गरि दुर्घटनामा संलग्न नै नभएको लालबन्दी नगरपालिका २ का नेपाली सेनाका अवकाश प्राप्त सुवेदार थीरबहादुर खड्काको रातो रङको ट्याक्टर उनको घरैबाट नियन्त्रणमा लिएको थियो ।
मृतक पासवानको घरपरिवार समेतले मोटरसाइकललाई ठक्कर दिने ट्याक्टरको नं नखुलेको बयान दिएको भए पनि उक्त ट्याक्टरका चालक फरार भएकाले दुर्घटनामा संलग्न नै नभएको सो ट्याक्टरका धनि खड्कालाई नियन्त्रणमा लिएर प्रहरीले बहादुरी देखाएको थियो । खड्काको ट्याक्टरले दुर्घटना नगराएको भए पनि खड्कालाई गत माघ १५ देखि फागुन ७ गतेसम्म प्रहरीले सिन्धुली कारागारमा राखेको थियो ।
गत फागुन ७ गते रु १ लाख ५० हजार धरौटी बुझाएर जेलमुक्त भएका खड्का फरार ट्याक्टर चालकको खोजी गरी सजाय दिन र अहिले पनि निर्दोष हुँदाहुँदै कारागारमा बसेर कैदीजीवन बिताइरहेका आफ्ना निर्दोष चालक लालबन्दी नगरपालिका २ का फेकन रामको रिहाइ र प्रहरीले नियन्त्रणमा लिएर राखेको आफ्नो ट्याक्टर र ट्याक्टरमा लाग्ने अन्य कृषि यन्त्र छुटाइदिन हारगुहार गरिरहेका छन् । आफ्नो ट्याक्टरले दुर्घटना नगराएको भन्ने सम्पूर्ण प्रमाणहरु समेत प्रहरीलाई बुझाइसकेको भए पनि हालसम्म यस विषयमा प्रहरी प्रशासनले कुनै चासो नलिएको र प्रहरीले यो विषयमा आफ्नो सबुत लिएरअदालत जान भनेको पीडित ट्याक्टर धनि खड्काले बताएका छन् ।
अरूले नै गरेको अपराधको सजाय भोगेर थुनामुक्त भएपछि अदालतीय प्रक्रियामार्फत भए पनि वास्तविकता बाहिर ल्याउने पक्षमा रहेका खड्का परिवारले दुर्घटनामा संग्लग्न ट्याक्टर सर्लाहीको हरिवनका कविन कार्कीको नाममा २०७७ कार्तिक ९ गते सिरहाको लहानको मेस्सि सोरुमबाट निस्केको,दुर्घटना गराएको समयमा उक्त ट्याक्टर अनटेष्ट रहेको,ट्याक्टरका चालक फरार रहेका,ट्याक्टरका सहचालकले कविन कार्कीको ट्याक्टरले दुर्घटना गराएको बताएका र खोजी गर्दै जाँदा सो प्रमाणित भएको बताएका छन् । ट्याक्टर निकालेको करिब १ हप्ता पछि उक्त ट्याक्टरको नम्बर प्रदेश २–०१–००१ त ०८१३ प्रमाणित भएको खड्का परिवारले बताएका छन् ।
उक्त ट्याक्टरका चालक विजय गिरी सोहीदिन देखि फरार हुनु,ट्याक्टरका सह चालकले प्रदेश २–०१–००१ त ०८१३ नम्बरको ट्याक्टरले नै दुर्घटना गराएको बताउनु,पीडित पक्षले आफुहरुसंग हाल सम्म पनि क्षेतीपुर्तिको माग नगर्नु,साथै खड्काको ट्याक्टरका चालकले जेलबाट पनि केही राजनैतिक दलका नेताहरुले आफुलाई दुर्घटना गराएको स्विकार नगरे परिवार नै सिध्याइ दिने धम्की दिएका बताएको आधारमा दुर्घटना गराउने ट्याक्टर प्रदेश २–०१–००१ त ०८१३ नैरहेको खड्का परिवारको दाबी छ । उक्त ट्याक्टर दुर्घटना भएदेखि बाहिर ननिस्केको पनि खड्का परिवारले बताएका छन् ।
एक निर्दोष व्यक्ति अहिले न्यायका लागि प्रहरी प्रशासन तथा न्यायालयको आश्रय खोजी रहेका छन् भने दुर्घटना गराउने ट्र्याक्टर फेला परेपनि प्रहरी मौन देखिएको छ । प्रहरीले खोजी कार्य नगरेको र पछि केही मानिसहरुको सहयोगमा दुर्घटना गराउने ट्याक्टर प्रमाणित भयो । तर प्रहरीले सोकुरास्विकार गरेको छैन । थीर बहादुरका छोरा वसन्त खड्काले बताउनु भयो ।
प्रहरीले तयार पारेको घटना प्रकृति मुचुल्का, माथिल्लो निकायलाई पठाएको टिपोट, रेफर गरी पठाइएको जिल्ला प्रहरी कार्यालयबाट आएको परिपत्र सबैमा प्रहरीले केही केर मेट गर्नुले पनि दुर्घटनामा संग्लग्न सवारी साधन लुकाउने पक्षमा प्रहरी आफैँ रहेको र सोही निर्दाेष ट्याक्टरलाई कार्वाहीको भागेदार बनाउने पक्षमा रहेको देखिएको छ ।
दुर्घटनामा संग्लग्न सवारी साधनका सहचालकले सबै विवरण बताउनु, उक्त सवारी साधनका चालक सोही दिनदेखि फरार हुनु, पीडितले खड्कासँग क्षतिपूर्तिको माग नगर्नु, प्रहरीले घटना प्रकृति मुचुल्का, माथिल्लो निकायबाट आएको पत्रलगायत कागजातमा केरमेट गर्नुले आफुहरुलाई पहिला नै शंका लागेको वसन्तले बताउनुभयो ।
यसले प्रहरी र दुर्घटनामा संलग्न सवारी साधनका साहु कविन कार्की बीचको मिलेमतो रहेको आशङ्का पीडित पक्षले समेत गरेका छन् । भने दुर्घटनामा संग्लग्न सवारी साधन अहिले पनि सर्लाहीको हरिवनमा कविनको घरमा नै रहेको स्रोतले दाबी गरेको छ । प्रहरीले दुर्घटना गराउँने ट्याक्टरका साहुसंग ठुलो रकम लिएर आफुहरुलाई फसाएको पीडित पक्षको भनाई छ । साथै हाल जेलमा रहेका चालककी श्रीमतीले आफुलाई ज्यान मार्ने सम्मको धम्की आएको प्रहरीलाई बताए पनि प्रहरीले वाइयात कुरा गरेको भन्दै कुरा नसुनेको उनकी श्रीमती सुनैना देवीले बताएकी छन् ।
दुर्घटना भएको ९ महिना पछि उक्त दुर्घटना गराउने ट्याक्टर फेला परेको र यी सबै सबुत प्रमाण सहित आफुहरु अदालती प्रक्रियामा जाने वसन्तले बताउनुभयो । उक्त दुर्घटनाको ईलाका प्रहरी कार्यालय लालबन्दीले अनुसन्धान गरेको थियो । प्रहरीले आफ्नो बहादुरी देखाउन दुर्घटना भएको तीनदिनपछि निर्दाेष ट्याक्टर नियन्त्रणमा लिएको थियो सो ट्याक्टर अहिले पनि ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको छ । नवजनप्रहार साप्ताहिकबाट साभार

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech