सर्लाही प्रहरीद्धारा चाडपर्व विशेष सुरक्षा योजना सार्वजनिक

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-६-२४ गते   ५३८ पटक हेरिएको

जिल्ला प्रहरी कार्यालय सर्लाहीले चाडपर्व विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । नेपालीहरुको महान चाड वढा दशैँ,दिपावली र छठ पर्वलाई लक्षित गर्दै प्रभावकारी प्रहरी परिचालन,दुरुस्त कारवाही,शिघ्र सेवा र सहज पहुँचको व्यवस्था गर्ने योजना बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । 
उनका अनुसार आम जन समुदायमा भरपर्दो सुरक्षा वातावरण निर्माण गर्ने योजना सहित चाड पर्व लक्षित विशेष सुरक्षा योजना बनाएको र सोही अनुसार प्रहरी परिचालन हुने बताए ।
चाडपर्वको समयमा नेपाल भारत सीमावर्ती क्षेत्रमा अवैध आपराधिक गतिबिधी बढ्न सक्ने,ग्रामिण क्षेत्रहरुमा मादक पदार्थ सेवन र बिक्री वितरण बढ्न सक्ने र राजमार्गमा अवाञ्छित गतिविधी हुन सक्ने तर्फ सचेत हुँदै सर्लाही प्रहरीले सवै नागरिकलाई प्रहरीले सुरक्षा दिन्छ भन्ने आभाश दिलाउने गरी काम गर्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
उनका अनुसार दमकल तथा एम्बुलेन्सहरुलाई तयारी हालतमा राख्न समन्वय गरिएको,घरेलु तथा सामाजिक अपराधलाई नियन्त्रण,चोरी तस्करी नियन्त्रण,राजमार्गमा सञ्चालन हुने सवारी साधन तथा यात्रुहरुको सुरक्षा,मुर्ती विसर्जन गर्ने क्रममा हुन सक्ने बिवाद तर्फ सम्वेदनशिल भएर समन्वय, सहकार्य र परिचालनमा विशेष जोड दिएर सुरक्षा  योजना बनाईएको छ ।
साथै चाडपर्वको समयमा अधिकांश सरकारी कार्यालयहरु बिदा हुने हुँदा सरकारी कार्यालयहरुको सुरक्षालाई समेत सुरक्षा योजनामा समेटिएको प्रवक्ता पंजियारले बताए । साम्प्रदायिक सद्भावलाई मजवुत बनाउन खटेका प्रहरीहरुले नागरिकहरुलाइ सचेतना अभिबृद्धी गर्ने कार्यक्रमहरु समेत सुरक्षा योजनामा समेटिएको प्रहरी उपरिक्षक सुवेदीको भनाई छ ।
चाडपर्वको समयमा विशिष्ट पाहुनाहरुको पनि आगमन हुन सक्ने  भएकोले पाहुनाहरुको सुरक्षा पनि समावेश गरिएको,राजमार्गमा यात्रु सहायता कक्ष स्थापना गरि सवारी साधनहरुमा यात्रा गर्ने यात्रुहरुलाई कुनै समस्या आइपरे तुरुन्त सेवा प्रदान गर्ने र रातको समयमा जंगल क्षेत्रमा संयुक्त सुरक्षा परिचालन गरि रात्री बसहरुलाई सुरक्षा प्रदान गर्ने लगायतका विषयमा प्रहरीले योजना नै बनाएर कार्यन्वयन गर्ने काम सुरु गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech