Close This

ओली ‘डेन्जर जोन’बाट ‘सेफ जोन'मा जानेछन, अन्ततः नेकपा फुट्दैन

पत्र पत्रिका    प्रकाशित: २०७७-१-१७ गते   ३८९ पटक हेरिएको

नेकपाको संसद र केन्द्रिय समितिको गणित आफ्नो ठाउँमा छ । अहिले गणितको जोड घटाउ र हिसाब किताबले पार्टी फुटको औचित्य पुष्टि गर्न सक्दैन । पार्टी भित्रको आन्तरिक समिकरण र गठजोड सतहमा देखिए झैँ पूर्व माओवादी र पूर्व एमालेमा विभक्त छैन । विभिन्न विश्लेषण र विवेचनामा पूर्व माओवादी र एमाले भनेर संख्याको गणना गरेर फूटको सम्भाव्यता औल्याए पनि नेकपा भित्र सिद्दान्तको झगडामा छैन । इगो र आफूले सत्ताभोग नपाएको नोकझोकमा छ ।

पार्टी फुट्न बेगल बन्न सैद्दान्तिक नीतिगत, राजनीतिक आधार कारण र प्रमाण चाहिन्छ । एउटा आधार हो परिस्थितिजन्य अवस्था । यो स्थितिमा हठाथ पार्टी फुट्ने औचित्य स्थापित हुन किन सक्दैन भने ओलीलाई पार्टी पद्दति र विधानको आधारमा नेकपाको सचिवालय, स्थाई कमिटि र केन्द्रिय कमिटि अनि संसदले कुनै प्रोसेस गरेको छैन । चर्चित विश्लेषक खगेन्द्र संग्रौलाले भने झैँ यहाँ झगडा ओली जस्तो आफू हुन पाइन् भनेर हो । पार्टीमा सैद्दान्तिक र रणनीति कार्यनीतिमा विभेद भएर होइन । नेकपाको एकताको एकै ध्येय थियो चुनाब जसरी पनि जित्ने । ओलीको महत्वाकांक्षी योजनामा प्रचण्डलाई शरण दिएका हुन । आफ्नो असुरक्षित राजनीतिक भविष्य देखेर प्रचण्ड अन्तर बिरोध र ठूलो अविश्वासका बीच एमालेसँग लहसिन पुगे । केपीसँगको अत्यन्त कटु र तिक्त सम्बन्ध एकाएक विश्वासमा परिणत भयो । कुनैपनि घटनाको विकासक्रमको चरण र अभ्यास हुन्छ तर नेकपा एमाले र माओबादी केन्द्र बिचको पार्टी एकता आकस्मिक र अप्रत्यासित दुर्घटना हो ।

यद्यपी, दुर्घटना पनि अकारण चै हुदैनन् । माओबादी केन्द्रले बोकेको जनयुद्द दुर्घटित भएको हो । तसर्थ नेकपाको एकता सामान्य घटना भन्न मिल्दैन दुर्घटना हो । यो दुर्घटना राजनीतिक मान्यतामा ठूलो अन्तर कार्यशैली र पार्टी पद्दतिमा व्यापक अन्तर हुँदाहुँदै भएको हो । पार्टी एकताको नाम दिएको भए पनि नेकपा एमाले र माओवादी केन्द्रको मिलन हठात बिसाइएको सिद्दान्तको भारी हो । चुनावी मोर्चाको अर्को रुप हो । एक अर्काका थुप्रै बिपरित मान्यता र मुल्यको स्खलन हो । एकताको एक शुत्रीय अभियान ओलीले चुनाव जित्नु र प्रचण्डको राजनीतिक भविष्य अस्तित्वमा नै रहनु थियो । नीतिहरुको अवसान गराएर नेताको उत्थान यो भन्दा बढी कुनै पनि सिद्दान्त र मुल्यले काम गरेको छैन । शक्ति आर्जनको लागि भएको स्वार्थ मिलन नै पार्टी एकता थियो । नहुनु पार्टी एकता भैसक्यो चुनावमा प्रचण्ड बहुमत पनि आयो । पार्टी कमिटीहरु प्रायजसो मर्ज भैसके । कार्यकर्ताहरु यताउता वरपर गर्न थालिसके ।

मनोविज्ञानमा कहिँ कतै ठुलै हिस्सा हामी पूर्व माओवादी र पूर्व एमाले भन्ने छ तर पनि अब पार्टी मर्ज भएको कारण जेरी झैँ जेलिएको छ । ओली खेमाको शक्तिलाई केन्द्रीकृत गर्ने नीति र नियतिको कारण प्रचण्ड मात्रै प्रताडित छैनन् । पूर्व एमाले भित्रकै माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम पनि उपेक्षा र पिडामा भएको सर्वत्र आएको कुरा हो । तसर्थ कार्यकर्ताको ठूलो हिस्सा प्रचण्डको छत्र छाँयामा पनि छ । प्रचण्डको लबिबाट पनि मन्त्री मण्डलामा सहभागी र सत्ताको उपभोग गरेका बिभिन्न निकायका प्रतिनिधि ओलीको प्रभावमा छन् । अहिलेको विवाद एकीकरण हुनुपूर्वको मनस्थितिमा छैन । त्यसैले पनि पार्टी फुटको लागि सहजता छैन, प्रतिकुलता छ । पार्टी फुटको लागि नैतिक र ब्यबहारिक धरातल अलिकति पनि अनुकुल र अपेक्षित छैन ।

पार्टी फुट्दा प्रचण्डको छहारीमा माधव नेपाल र झलनाथलाई जान सजिलो छैन । त्यहाँ बिधि नीति र सिद्दान्तको झगडा नभएको कारण व्यक्तिको इगोको कारण पार्टी फुट्ने पर्याप्त कारण पुग्दैन । थोरै पनि नैतिक धरातल बनेको छैन । विश्व संकटमा छ । देश संकट उन्मुख छ तर पार्टी फुट्ने रहर गर्छ भने कुनै पनि खेमाले जनताको तर्फबाट क्षमा पाउने छैनन् । यो यथार्थबाट नेकपाका दुवै खेमाका नेता कार्यकर्ता अनाविज्ञ छैनन् । अतः जतिसुकै बबण्डर भए पनि पार्टी फुट्दैन । फुट्नु हुँदैन । उसै पनि टूट फूटको लामो शृंखलाबाट आएका कम्युनिष्टहरुले अब पनि फुट परस्त नीति अंगाले भने आफ्नो क्षति र संकट अनुमान गरिए भन्दा धेरै बढी हुनसक्छ । कहिल्यै उठन नसक्ने, कहिल्यै सबल हुन नसक्ने गरी थला पर्नेछ । कम्युनिष्ट राजनीतिको लागि मलिलो नेपाली भुमि रुखो र सुख्खा बगर बन्ने निश्चित छ ।

सारा विश्व कोरोनासंग लडिरहेछ तर नेकपा कुर्सीको लागि लडिरहेछ । जनतामा संदेश कस्तो जाँदैछ । नेताहरुले हेक्का पक्कै राख्छन । पदको लागि होइन पद्दतिको लागि भनेर पत्याउने कसले ? यो सत्य सबैलाई थाहा छ नेकपा मिलेर गए राम्रो काम गरे आगामी स्थानीय निकायको चुनाव देखि संघीय र प्रदेसको निर्वाचनमा  सरकारले राम्रोकाम गरे भोट माग्नु पर्दैन । नराम्रो गरेजति मागे पनि जनताले दिंदैनन । घटना नै घटना काण्ड नै काण्ड भ्रष्टाचार नै भ्रष्टाचारको आरोप अनि आफु आफू मारामार गर्दाको स्थितिमा पार्टी विभाजन नितान्त जोखिमको खाडलमा जाकिनु भन्दा पर हुने छैन । तसर्थ पार्टी फुटाउने हिम्मत कसले गर्छ ? पार्टी फुट्दाको हविगत बिगतदेखि सबै पार्टीको झल्झली जनताको नजरमा छ भने नेताको स्मृतिमा छैन भनेर कसरी बुझौ ? सरकारको स्थायित्वको लागि लागेको नारा सरकार अस्थिर बनाउने चलखेलमा लागेपछि जनताले भोलि बिश्वास गर्ने आधार के रु जनताले गरेको प्रश्नको जबाफ कसरी दिने ? पूर्व माओवादी एक्लै पनि किन फुट्न सक्दैन भने आज पनि उसका विरुद्द थुप्रै मुद्दाहरु अदालतमा छन् । अख्तियारमा छन् तसर्थ भोलि शक्तिहीन हुने बित्तिकै गलामा पासो लाग्छ भन्ने ज्ञान उसमा राम्रोसँग छ ।

नेकपा फुट्दैन तर नफुटन यसो गर्छ नेकपाले । ओली डेंन्जर जोनबाट सेफ जोनमा यसरी आउछन ।

स्थायी कमिटी ,सचिवालय र केन्द्रिय कमिटी यी तिनै तहमा ओलीको वर्चस्व कम भएको तथ्य तर्क र विश्लेशण यथार्थको नजिक छ । तसर्थ ओली पार्टीको यी फोरमबाट भाग्न खोज्दैछन् । तर भागेर टारेर सक्ने स्थिति छैन ।अब सम्भवत स्थायी कमिटीको बैठक फेस गर्न ओलीले पर्छ नै । यसो हुँदा ओली अब नरम र उदार भएर प्रस्तुत हुन सक्छन ।कान समाएर अब पार्टी पद्दति नीति र नियमको पालना गर्छु भनेर कसम खान्छन । आफुलाई नहटाउन अनुनयविनय गर्छन । अनि मिलेमतोमा भागबण्डाको खेलोमेलो चल्छ । पार्टी कमिटिको बैठक समयमा र नियमित बस्ने प्रतिबद्दता जाहेर हुन्छ । मन्त्री परिषद्को फेर बदल गरिन्छ । केन्द्रदेखि प्रदेशसम्म मन्त्रिमन्डल पुनर्गठन गर्ने, मुख्य मन्त्रीसम्मको जिम्वेवारी अदलबदल गर्ने, बिभिन्न सरकारी नियुक्तिमा पार्टीसँग यथोचित सल्लाह गर्ने आदि इत्यादी कुरामा प्रधानमन्त्रीद्वारा प्रतिबद्दता आउनेछ ।

ओलीले अन्तिम कसरतको रुपमा संसदीय दलको अविश्वास प्रस्ताब छल्न आफू रोगी बिरामी र आफ्नो छोटो आयु भएको दलिल पेश गरेर सहानुभूतिको मत पनि अपेक्षा गर्नेछन । यस बीच बिभिन्न रणनीति, कुटिलता र धम्की, त्राश, आश, लोभ, आश्वासन लगायत सबै फोहोरी खेलको अभ्यास पनि हुनेछ । प्रचण्ड समुहलाई एक्ल्याउनेदेखि प्रचण्ड समुहका सांसद आफ्नो पक्षमा पार्ने, माधव, झलनाथलाई पूर्व एमाले एक हुनपर्ने भावनात्मक संदेश पनि संचारित हुनेछ । यसो भयो भने प्रचण्डको केही जोर चल्दैन । ओली सुरक्षित जोनमा हुनेछन । पार्टी फुटको मनोवैज्ञानिक भय देखाएर पनि स्थितिलाई आफ्नो काबुमा राख्ने प्रयासमा ओली रहन्छन । ओलीले राष्ट्रपतिलाई पटकपटक रातारात भेटेर, सुरक्षा निकायका प्रमुखको ब्रिफिंग लिएर, प्रधान न्यायाधीशलाई भेटेर पनि अर्को मनोवैज्ञानिक भय र भ्रम घुमाउरो थ्रेट दिंदैछन । राष्ट्रपति, प्रधान न्यायाधीश, सुरक्षा प्रमुखहरुसँगको अनपेक्षित भेटघाटले कुनै अदृश्य तयारी र अर्थात संसद बिघटन सम्मको शंकास्पद गतिबिधि भनेर बिपक्षी खेमालाई सन्त्रस्त बनाउने कुटिल चाल पनि रचना भैरहेछ ।

अन्तिम विकल्पको रुपमा संसद बिगठन र मध्यावधी चुनाबमा जाने घोषणा रहेपनि त्यो हदसम्म जाने सम्भावना कम छ । किनकी यो जटिल र गम्भीर परिस्थितमा चुनावको घोषणाले चुनाब जित्ने कल्पना गर्न सकिन्न । अतः पराजय पाउने चुनावमा ओली पक्कै जाँदैनन् । प्रतिशोधको जतिसुकै ठुलो ज्वाला दन्किए पनि मध्यावधी चुनावरुपी पानीले निभाउने प्रयत्न आत्मघाती र राजनीतिक अवसानको अन्तिम कडी हो भन्ने कुरा प्रधानमन्त्रीले नबुझ्ने कुरा हुँदैन । यी राजनीति भित्रका गल्ने, पेल्ने, थर्काउने मनोवैज्ञानिक रुपमा कमजोर बनाउने रणनीति र भित्रका तिता खेलहरु मात्र हुन् ।

यी तमाम खेल झेल र आपसी घुर्की, धम्की, अविश्वास र चालका बीच नेकपा सतही रुपमा भएपनि पुनः एक भएको घोषणा गरिन्छ । सबै हर्कत, चलखेल र अविश्वासको माहोलबाट फेस सेभिंगको लागि बोलिन्छ, लेखिन्छ । ‘देशी बिदेशी प्रतिक्रियावादीहरुको कुत्सित प्रयास, हाम्रो पार्टी नेकपा फुटाउने षडयन्त्र चकनाचुर पार्दै हामी एक भएको घोषणा गर्दछौं ।’ पार्टी सरकार र नेताहरुबिचको सामान्य असमझदारीलाई हल गर्न निरन्तर, छलफल, बैठक, भेटघाट र पार्टी निकायका फोरमहरु उपयोग गरिन्छ । ओली डेन्जर जोनबाट सेफ जोनमा यो पटक जेनतेन पुग्नेछन । संजिव कार्की 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech