पक्राउ पुर्जी जारी भएको एक हप्ता हुँदा समेत पक्राउ परेनन् वडा अध्यक्ष कार्की

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-२४ गते   ६९४ पटक हेरिएको

 सिन्धुलीको गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेल माथि हातपात गर्ने गोल्नजोर २ का वडा अध्यक्ष दौलत कार्कीलाई अझै प्रहरीले पक्राउ गरेको छैन् ।जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक साता अघि नै पक्राउ पुर्जी जारी गरेको भएपनि प्रहरीले अहिले सम्म पनि पक्राउ नगरेको हो । वडा अध्यक्ष कार्कीलाई प्रमुख प्रशासकीय अधिकृत पौडेलले अभद्र ब्यवहार सम्बन्धी मुद्धा दर्ता गराएका थियो ।
कार्कीलाई कार्वाहीको माग गर्दै कर्मचारी सम्बद्ध जिल्लाका विभिन्न पेशागत संघ÷ संगठनहरुले प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापन पत्र समेत बुझाएका थिए भने जिल्ला स्थित सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले सयुक्त प्रेस विज्ञप्ती जारी गर्दै वडा अध्यक्ष कार्कीलाई तत्काल कानुनी कार्वाहीको माग समेत गरेका थिए ।
उक्त घटनालाई लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाले वडा अध्यक्ष कार्कीलाई कार्वाही तथा कर्मचारीहरुको सुरक्षाको प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई पत्राचार समेत गरेको छ ।
राष्ट्र सेवक कर्मचारीहरू उपर देखिएको सुरक्षा संवेदनशीलतालाई मनन गरी देशभरका सबै कर्मचारीहरूले आत्मसम्मान,आत्म विश्वास एवम उच्च मनोबलका साथ सेवा प्रवाह गर्दै मुलुकको दिगो शान्ति,सुशासन,विकास र समृद्धि कायम गर्न आवश्यक सुरक्षा प्रत्याभूति तथा शान्तिपूर्ण कार्य वातावरण निर्माण गरिदिन भन्दै मन्त्रालयले २०८० असार २० गते निर्णय पनि गरि सकेको छ  ।
यता, वडा अध्यक्ष कार्कीलाई पक्राउ पुर्जी जारी भइसकेको तर उनी फरार रहेकाले खोजी कार्यजारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजकुमार सिलवालले बताए ।उनले हदम्याद भित्र वडा अध्यक्ष कार्कीलाई पक्राउ गरेर कानुन अनुसार मुद्धा प्रक्रिया अगाडि बढाएने बताएका छन् । अभद्र व्यवाहार सम्बन्धी मुद्धामा कानुन अनुसार प्रमाणित भएमा वडा अध्यक्ष कार्कीलाई १ बर्ष कैद वा रु १० हजार जरिवाना वा दुबै सजाय हुने कानुनी ब्यवस्था रहेको छ ।

उनी नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिका २ को वडा अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका हुन । हाल कांग्रेस सरकारमा रहेका कारण उनले राजनितिक अश्रय पाएका कारण प्रहरीले पक्राउ गर्न नसकेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech