सर्लाहीमा साउन १५ गतेसम्म निषेधाज्ञा थपिएकोे छ । यसअघि थपिएको निषेधाज्ञाको समय आज राती १२ बजेबाट सकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय सर्लाहीले फेरी निषेधाज्ञा थपेको हो ।
आज(बिहीबार) दिउँसो बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञा साउन १५ गतेसम्मका लागि थप गरेको हो । सर्लाहीमा अहिले कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३४ मात्रै रहेको छ।
कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले सजकता अपनाएर निषेधाज्ञा थपिएपनि खुकुलो पार्दै लगिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताउनु भयो । जिल्लाभर अहिले सबै जसो पसल व्यापार,व्यवसायहरु खुलिरहेका छन् । उहाँका अनुसार जिल्लाभर संचालनमा आउने सवारी साधन निर्वाध रुपमा चलिरहेका छन् ।
लामो दूरीका बसहरुको हकमा काठमाण्डौं उपत्यकाका प्रमुख अधिकारीहरुको निर्णय अनुसार हुने कुरा सर्लाहीका प्रमुख जिल्ला अधिकारी महतोले बताउनु भयो । सर्लाहीमा पछिल्लो समयमा कोरोना परीक्षण निकै कम हुने गरेको छ ।