लालबन्दीमा कृषि क्याम्पस स्थापना गर्न छलफल

817 Shares

दुर्गा कुमारी अधिकारी 
सर्लाहीको लालबन्दी नगरपालिकाभित्र कृषि क्याम्पस स्थापनाका लागि छलफल भएको छ । काठमाडौँ विश्व विद्यालय धुलिखेलसँग समन्वय गरी लालबन्दी नगरपालिकाले नगरभित्र कृषि क्याम्पस खोल्ने तयारी स्वरुप छलफल गरेको हो ।
नगरभित्र क्रियाशील प्रमुख राजनीतिक दलका प्रतिनिधिसहित जनप्रतिनिधि,अन्य सरोकारवाला र अगुवालाई भेला गरेर लालबन्दी नगरपालिका ९ स्थित रहेको जनज्योति बहुमुखी क्याम्पसको सभाहलमा छलफल गरिएको लालबन्दी नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
कार्यक्रममा सहभागीहरुले मधेश प्रदेशकै प्रतिनिधित्व हुने गरी लालबन्दी नगरपालिकाले कृषि क्याम्पस स्थापना गर्न गरिरहेको पहलमा प्रशंसा र समर्थन जनाएका छन् । लालबन्दी नगरपालिकाका नगर प्रमुख अधिकारीले मधेश प्रदेशको मात्रै नभई भारतको उत्तरवर्ती प्रदेशका विद्यार्थी समेत आउन सक्ने गरी आफूहरुले कृषि क्याम्पस खोल्न लागेको बताए । उनका अनुसार क्याम्पस खोल्न काठमाडौँ विश्वविद्यालयले नगरपालिकालाई जग्गा उपलब्ध गराइ दिन र त्यसपछि विश्वविद्यालयको तर्फबाट सबै काम अघि बढाउने प्रतिवद्धता आएको छ ।
विश्व विद्यालयको सो प्रस्ताव अनुसार आफूहरुले पहिलो चरणमा लालबन्दी नगरपालिका १६ परवानिपुर स्थित रहेको डिम जनता माध्यमिक विद्यालयको नाममा रहेको ६ बिघा जग्गा उपलब्ध गराउने गरी छलफल अघि बढाएको तर विश्वविद्यालयले सयदेखि डेढ सय रोपनी जग्गा मागेकाले जग्गा कसरी व्यवस्थापन गर्ने ? भन्ने विषयमै केन्द्रीत भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले बताए ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य चौधरीले लालबन्दीमा कृषि क्याम्पस खोल्नु आफ्नो प्राथमिकता भएको बताएका छन् । कृषि क्याम्पस स्थापनाका लागि सोमबार पनि जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुखसहितको उपस्थितिमा छलफल गरिएको थियो ।
लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीको अध्यक्षता तथा सर्लाही क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा काठमाडौँ विश्व विद्यालय धुलिखेलका प्राध्यापक विवेक बराल,लालबन्दी नगरपालिकाकी उप प्रमुख कल्पनामाया पाख्रिनलगायतको आतिथ्यता रहेको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले जानकारी दिए ।

सम्बन्धित समाचार