Close This

गोलन्जोरमा झन्डा र अण्डा कार्यक्रम निरन्तर

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-२२ गते   १०६ पटक हेरिएको

सिन्धुलीको गोलन्जोर गाउँपलिकाले गर्भवती महिलालाई मध्यनजर गर्दै झन्डा अण्डा कार्यक्रम शुरु गरेको छ । अघिल्लो आर्थिक वर्षबाट शुरु गरेको उक्त कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ । 
 राज्यले मातृशिशु स्वास्थ्य र पोषणको क्षेत्रमा लिएका लक्ष्य,उद्देश्य पुरा गर्न समेत कठिनाई उत्पन्न भई रहेको अवस्थालाई मध्यनजर गर्दै आ.व. २०७७÷०७८ मा गोलन्जोर गाउँपालिकाले पालिका भित्रका स्वास्थ्य संस्थाहरुले गर्भवती सेवा दिनुपर्ने अनुमानित गर्भवतीको संख्यालाई हेरी पालिका भित्रका गर्भवती महिलाको पहिचान गरी उनीहरुलाई दिनुपर्ने स्वास्थ्य र पोषण सम्बन्धी परम्परागत व्यबहारलाई परिवर्तन गर्दै गर्भजाँच गर्ने कार्यलाई अति संबेदनशिल तथा अत्यावश्यक कार्यको रुपमा कार्यान्वयन गर्न र संस्थागत सुत्केरी गर्ने गराउने कार्यलाई प्रोत्साहन गरि सुरक्षित मातृत्व सेवालाई थप प्रभावकारी बनाउन गर्भवती महिलाहरुका लागी घरमा झण्डा र हातमा अण्डा कार्यक्रम कार्यन्वयन गरिएको गाउँपालिकाका अध्यक्ष पुष्प बहादुर कार्कीले जानकारी दिनु भयो । 
गर्भवती महिलालाई संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवाको पहुँच र उपलब्धतामा बृद्धि गर्नुको साथै गर्भवती महिलाको घरधुरी पहिचान गरि गर्भावस्थामा दिनुपर्ने परामर्शलाई थप प्रभावकारी बनाउदै स्वास्थ्य संस्थामा आउने बानीको विकाश गर्न पनि कार्यक्रम थप प्रभावकारी हुने उहाँले बताउनु भयो ।
गर्भवती महिलालाई स्वास्थ्य सेवा लिनको लागि प्रोत्साहित गर्दै घरमै सुत्केरी हुने र भोग्नुपर्ने जोखिमलाई न्यूनिकरण गर्दै स्वास्थ्य संस्थाम सुत्केरी हुने कार्यलाई प्रबर्द्धन गर्दै मातृशिशु स्वास्थ्यमा सुधार ल्याउन गाउँपालिकाले कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष दौलत विक्राम कार्कीले बताउनु भयो ।  गाउँपालिकालाई पुर्ण संस्थागत सुत्केरीको रुपमा घोषणा गर्ने कार्यमा  झन्डा–अण्डा कार्यक्रमले निकै सहयोग गर्ने आफुहरुले अपेक्षा गरेको उहाँको भनाई छ ।
मातृ तथा बाल स्वास्थ्य र पोषण संवेदनशील बनाई कुपोषण वा अधिक पोषण समस्या हटाउन र मातृ तथा नवशिशू मृत्यूदर कम गर्न कार्यक्रम लागु गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै आ.व. २०७७÷०७८ मा पोषण सम्बन्धी सहकारी मार्फत विनियोजन भएको रकम गर्भवती महिलाहरुको घरमा झण्डा र हातमा अण्डा कार्यक्रममा खर्च गर्ने गाउँपालिकाले निर्णय गरेको गाउँपालिकाकी उप अध्यक्ष गंगादेवी श्रेष्ठले बताउनु भयो । 
उहाँका अनुसार नेपाल सरकारको प्रोटोकल अनुसार गर्भवती जाँच गराउन आउने महिलालाई प्रति भिजिट एक क्रेट (३० वटा) का दरले अण्डा वितरण गरिएको हो । गाउँपालिका भित्रका सात वटैै स्वास्थ्य संस्थाबाट गर्भवती जाँच गराउने जसमा १ सय ८० जना माहिलालाई अण्डा वितरण गरिएको छ । यस कार्यक्रमलाई निरन्तरता दिनको लागी गाउँपालिकाले आ.ब. २०७८÷०७९ को लागि पनि बजेट विनियोजन गरिसकेको छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech