लागुऔषधको ट्रान्जिन्ट प्वाइन्ट बन्दै सर्लाही,प्रहरी सक्रिया

2.7k Shares

 सर्लाहीको नेपाल भारत सिमा क्षेत्रबाट धमाधम लागुऔषध कारोवारीहरू पक्राउ पर्न थालेका छन्। एक महिनाको अवधिमा दर्जनौं  तस्करहरु लागुऔषधसहित प्रहरीको फन्दामा परिसकेका छन् ।
नेपालबाट भारत तर्फ गाँजा लाने तस्करहरु उताबाट फर्किंदा आफ्नो साथमा डाइजापाम, टेन्टेक्स, फेन्साडिल, कोडेक्स लगायतका प्रतिवन्धित लागुऔषधहरु लिएर आउने गरेको अवस्थामा पक्राउ पर्ने गरेका प्रहरीले जनाएको छ ।
विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण केही समयको लागि सुस्ताएको अवैध लागुऔषधको तस्करीले फेरी बढेको हो । पछिल्लो समय जिल्लास्थित नेपाल–भारत सिमानाका लागुऔषध ओसारपसारको लागि ट्रान्जिट प्वाइन्ट बन्न थालेको छ । 
छिमेकी जिल्ला सिन्धुली र मकवानपुरमा उत्पादन भएको गाँजा जिल्लाको बागमती, लखन्देही र बाँके नदीको बाटो प्रयोग गरेर गाँजा तस्करहरुले भारतीय बजारमा पुर्याउने गरेका छन् । खोलाको बाटो हुँदै लुकाइ छिपाई लगिएको गाँजा भारतीय सीमामा लगेर महँगो मूल्यमा बेच्ने गरेको पक्राउ परेकाहरूले प्रहरी समक्ष बयान दिएका प्रहरी स्रोतले जनाएको छ ।
सर्लाहीसँग सीमा जोडिएको सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रबाट व्यापक मात्रामा गाँजा ल्याउने गरिएको प्रहरीले बताएको छ ।  ती तस्करहरुलाई गोप्य सूचनाको  आधारमा जिल्लाको उत्तरी क्षेत्रमा रहेको लालबन्दी, हरिवन र बागमतीमा प्रहरी युनिटहरुलाई सक्रिय पारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाही स्रोतले जनाएको छ ।
गाँजाको ओसारपसार रोक्न सिन्धुलीबाट आउने जिल्लाको उत्तरी भेगका भित्री सडक , नदीको बाटो तथा नेपाल भारत सिमानाकाहरुमा कडाइका साथ  निगरानी र चेकजाँच बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । 
उहाँका अनुसार चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध ओसार पसार गर्ने १ सय ३० जना मानिसहरुलाई नियन्त्रणमा लिएको छ । भने  ८८ वटा मुद्दा दर्ता गरी अनुसन्धान कारवाही गरीएको प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष १ सय २५, महिला १ र विदेशी पुरुष ४ जना रहेका छन् ।
त्यस्तै बरामद भएका  लागू औषधहरुमा नाईट्रोसन र नाईट्राभेट ७ हजार ३ सय ५३ ट्याब्लेट,नाईट्राभेट एम्पुल १ हजार २ सय ६४,कोरेक्स,ओनरेक्स २ हजार ५ सय ७४ बोतल,गाँजा ७ सय ३५ किलो ७ सय ५० ग्राम,ईन्जेक्सन १ सय ५८ र चरेश ५ सय ग्राम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राठौरले जानकारी दिनु भयो । 
भारतको सोनवर्षा,भुतही, सितामढीबाट ल्याएका लागुऔषधहरु नेपाल भारत बोर्डर हनुमान चौक (रामनगरा), कन्हौली भाँडसर र त्रिभुवननगर गाउँ नजिकैको सोनवर्षा बजारमा बसोबास गर्ने स्थानीय व्यक्तिहरुसँग कन्ट्याक्ट् मिलाएर उनिहरुको  घरमा लुकाएर राख्ने र पछि बिस्तारै विस्तारै सुरक्षाकर्मीहरुको आँखा छलेर मलंगवा,भेल्ही,भाँडसर ,पर्सा,नारायणपुर, संग्रापुर,त्रिभुवननगर हुँदै नेपाल भित्र्याउने गरेको श्रोतले जनाएको छ ।
 नेपाल –भारत सिमा नजिकका भारतीय गाउँ तथा बजारमा तस्करहरु दिनहुँजसो जमघट हुने गरेका छन् । जिल्लाको ५१ किलो मिटर खुल्ला सिमाना रहेको,नेपालीहरुको  खेतीपाती भारतिर र भारतिय नागरिकहरुको खेतीपाती नेपालतिर रहेका कारण पनि गैर कानुनी क्रियाकलाप नियन्त्रणमा आफुहरुले सोचे अनुसार काम गर्न नसकि रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार