Close This

विकास शुल्कको बाहनामा भर्ना शुल्क असुल्दै सर्लाहीका सामुदायिक विद्यालयहरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-६ गते   ९३ पटक हेरिएको

सर्लाहीका सामुदायिक विद्यालयहरुले विभिन्न बाहनामा विद्यार्थीहरुसंग शुल्क असुल्ने गरेका पाइएको छ । सरकारी तथा सामुदायिक विद्यालयहरुले  निःशुल्क पठन पाठन गराउनु पर्ने भएपनि जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुले विभिन्न बाहनामा शुलक असुल्ने गरेका अभिभावकहरुको गुनासो  छ । 
जिल्लाको मलंगवा नगरपालिका ५, भाँडसरमा रहेको रामगुलाम जनता माध्यमिक विद्यालयले भर्ना शुल्कको नाममा  चर्को शुल्क लिएको अभिभावक तथा विद्यार्थीहरुले गुनासो गरेका छन् । विद्यार्थीहरुको भर्ना समयमा भर्ना लिए वापत लिने शुल्कलाई भर्ना शुल्क भनेर लिन नमिल्ने गरेको भन्दै आफुहरुले विकास शुल्कको नाममा लिने गरेको विद्यालयले जनाएको छ । विद्यार्थीहरु तथा अभिभावकहरुसंग भर्ना शुलक भनेर विकास शुल्कको शिर्षकमा रकम लिने गरेको स्थानिय अभिभावक रवीन्द्र महतोले बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक जुगेश्वर राउतको निर्देशनमा आफुहरुले काम गरि रहेको र उहाँकै निर्देशनमा विद्यार्थीहरुको भर्ना लिँदा विकास शिर्षकमा रकम लिने गरेको विद्यालयको लेखा शाखाका कर्माचारी राम विश्वास रायले बताउनु भयो ।
 विद्यार्थी भर्ना गर्न जाँदा विकास शुल्कको शिर्षकमा भर्ना शुलक असुल्ने गरेको अभिभावक महतोकोे भनाई छ । पहिला शुल्क बुझाएको बिल दिन मिल्दैन भनी पन्छिन खोजेपनि पछि जिद्दी गरेर  माग्दा भर्ना बापत लिएको शुल्क विकास शुल्कको शिर्षकमा उल्लेख गरेर विद्यार्थिहरु तथा अभिभावकहरुलाई बिल दिने गरेको अभिभावकहरुको भनाई छ । 
माध्यमिक तहसम्म निःशुल्क शिक्षाको नीति नेपाल सरकारले ल्याएको भएपनि जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुले भर्ना शुल्क, परीक्षा शुल्क, गयल शुल्क, खेलकुद शुल्क, विकास शुल्कको नाममा मात्र नभई अंग्रेजी माध्यामको नाममा समेत शुलक असुली रहेका छन् ।
विद्यार्थीहरुलाई भर्ना गर्न लिएर जाँदा लेखापाल रायले भर्ना गराए बापत रु ५ सय विद्यालयलाई बुझाउनु पर्ने नबुझाएको खण्डमा भर्ना गर्न नमिल्ने बताएका मलंगवा नगरपालिका ६ खुटौनाका अभिभावक ललन राय यादवले गुनासो गर्नु भयो ।
विद्यार्थीहरुको भर्ना गराए बापत एक रुपैयाँ पनि तिर्नु पर्दैन सरकारले कक्षा १ देखि १२ सम्मको अध्यायनलाई  निःशुल्क गरेको छ बच्चाको नाम लेखिदिनु पर्यो भनि आग्रह गर्दा समेत नमानेपछि बाध्य भएर रकम बुझाएको र सो बापत रसिद माग्दा भर्ना शुल्क भनेर लिएको रु ५ सय विकास शुल्कको शिर्षकमा उल्लेख गरेर रसिद दिएको अभिभावक यादवले बताउनु भयो ।
 विद्यालयका प्रअ राउतलाई गैरकानुनी रुपमा विद्यार्थीहरुसँग रकम नअसुल पटकपटक आग्रह गर्दा समेत अटेर गरेपछि अविभावक तथा विद्यार्थीहरु बाध्य भएर जिल्ला प्रशासन कार्यालय सर्लाहीमा विभिन्न बहानामा गैरकानुनी रुपमा असुलीदैँ आएको रकम र यस्ता कार्य गर्ने गराउने उपर कार्वाहीको माग गर्दै निवेदन पेस गर्न बाध्य भएका छन् ।
अभिभावकहरुकोे निवेदनका आधारमा कार्यालयले शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सर्लाहीलाई आवश्यक कार्बाहीको लागि पत्रचार गरेको थियो । सोही अनुसार राम गुलाम माविका प्रअ राउतको नाममा स्पष्टीकरण दिन भनि पत्र काटेर पठाएको इकाई प्रमुख राम आधार प्रसाद कुशवाहाले  जानकारी दिनु भयो ।
इकाई कार्यालयले काटेको पत्र अभिभावकहरुले विद्यालयमा लिएर जाँदा प्रअ  र लेखापालले पत्र बुझ्न अस्विकार गरेपछि पुनः दोस्रो र तेस्रो पटक पत्र लिएर जाँदा पनि बुझ्न नमानेपछि बाध्य भएर हुलाक मार्फत पत्र पठाएको तर उनीहरूले हुलाकबाट गएको पत्र पनि नबुझी पुनः हुलाकमै पठाएको अभिभावकहरुको गुनासो रहेको इकाई प्रमुख कुशवाहाले  बताउनु भयो ।
तालुक निकायबाट आएको पत्र नबुझ्नु, आफुखुसी मनोमानी गरि रहनुले विद्यालयमा व्यापक भ्रष्टाचार भएको अभिभावकहरुले आरोप लगाएका छन् । विद्यालयसँग सम्बन्धित नै नरहेका स्थानीय व्यक्तिहरुको आपसी मिलेमतोमा विद्यालयले विभिन्न बहानामा  विद्यार्थीहरुबाट वार्षिक करिब रु ४ लाख रकम असुल्दै आएको छ । जबकी निजी श्रोत बाहेक विभिन्न शिर्षक गरी   विद्यालय संचालनका लागि सरकारबाट करिब बार्षिक रु ६ लाख रकम आइरहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech