नेकपाले जबज छाड्नै नहुने ५ कारण

3.3k Shares

सशस्त्र संघर्षको माध्यमबाट समाजवादी राज्यसत्ता स्थापना गर्ने क्रम रोकिएको मात्र नभई समाजवादी देशहरुमा कम्युनिष्ट व्यवस्थाप्रतिको जनताकोे कोप असामान्य ढंगले बढेपछि सोभियत समाजवाद धरासयी भयो । सोभियत संघ आश्रित पूर्वी युरोपमा पनि समाजवादी सरकारहरु उखेलिए । जनताको यो कोप मार्क्सवादको सान्दर्भिकतामाथि नैतिक प्रश्न थियो र संघीन राजनीतिक हमला थियो । प्रलयको मौका छोपी संशोधनवादीहरु सक्कली अनुहारमा आएर माक्र्सवाद लेनिनवादबाट अलग भए भने उग्रवामपन्थीहरुले समाजवादी आन्दोलनमाथिको साम्राज्यवादी हमलालाई धारे हात लगाउँदै आन्तरिक कमजोरीमाथि पर्दा हाल्नमा पारंगत हुने कुलत जारी राखे ।

मदन भण्डारीले घोर अन्धकारमा प्रकाश दिने गरी आशाको दियो बालेर २०४६ सालदेखि नै जनताको बहुदलीय जनवादका आधारहरु खडा गर्दै २०४९ सालमा माक्र्सवादको नयाँ संस्करणको रुपमा रहेको यस सिद्धान्तको प्रतिपादन गर्नुभयो । नेपालमा २०४८ सालमा एमाले प्रमुख प्रतिपक्ष दल र २०५१ सालमा जननिर्वाचित सरकार गठन गर्न सफल भएपछि फर्सी कुभिण्डो ठानेर माक्र्सवादमाथि चोर औंला ठड्याउन हतारो गर्ने पुँजीवादीहरु निधार खुम्चाएर सोच्न बाध्य भए ।

विश्वका कम्युनिष्टहरुको ओठतालु सुकेको बेला नेपालमा एमाले अर्को सगरमाथा बनेर ठडिन सक्नुमा केही अन्तरनिहित तत्वहरु प्रमुख थिए । जबजको आलोक र मदनको अगुवाइमा नेकपाले केही राजनीतिक सुझबुझ र व्यवहारलाई संस्कार बनाइसकेको थियो । मदन एमालेको उक्त संस्कारलाई गौरव गर्दै यसरी व्याख्या गर्नुहुन्थ्यो,

‘हाम्रो पार्टी रुढीवादलाई काँध हालेर हिंड्ने पार्टी होइन र विज्ञानका बारेमा पनि अन्धविश्वास राखेर चल्ने पार्टी होइन । शास्त्र र सूत्रहरुका निम्ति जीवनको बलिदान दिने होइन जीवनको निम्ति सूत्र र शास्त्रहरुको रचना गर्ने पार्टी हो । गल्ती हुन्छ कि भनेर कामै नथाल्ने वा गल्ती नहोस् भनेर शास्त्रमा भने जस्तो मात्र गर्ने र गल्ती भएपछि त्यसैको जिम्मा लगाएर आफू पन्छिने पार्टी होइन । काम गर्ने आँट हुनुपर्छ, रचनात्मक ढंगले काम गर्ने शैली अपनाउनुपर्छ र गल्ती भए सच्याउने तत्परता र साहस गर्नुपर्छ । हाम्रो पार्टी त्यस्तै पार्टी हो ।’

नेपाली क्रान्तिको अगुवाइ गर्न सक्षम पार्टी बन्न सक्नुमा एमालेले बोकेका विशेषता र आधारमाथि भण्डारी यसरी प्रकाश पार्नुभएको छ –

(१) सर्वप्रथम हाम्रो पार्टीको सिद्धान्तनिष्ठता, रचनात्मकता र गतिशील जनदिशा, खुला हृदयी, आत्मालोचक र क्रान्तिकारी साहसिकता, पार्टीलाई एकताबद्ध राख्ने र कार्यकर्ता परिचालन गर्ने कुरामा दिइएको जोड तथा सिंगो पार्टीको क्रान्तिकारी आशावाद यसका प्रमुख तत्व हुन् ।

(२) देश, जनता र क्रान्तिको हितका निम्ति काम गर्दा बाटामा आइपर्ने जस्तासुकै कठिनाइ र जोखिमहरुलाई पनि झेल्ने कार्यकर्ताहरुमा उन्नत स्तरको मानसिक संकल्प हुनु ।

(३) जनतासँग घुलमिल गर्ने, उनीहरुको माया र विश्वास जित्ने, उनीहरुको दुःखसुखमा सहभागी हुनु । पार्टीको वरिपरि गोलबन्द क्षमता राम्रो हुनु ।

(४) जनताबाट, बन्धु पार्टीका अनुभवहरुबाट र आफ्नै पुराना अनुभवबाट सिक्ने अठोट हुनु ।

(५) क्रान्तिकारी काममा समर्पित भएर लाग्ने, आन्दोलनका उतार चढाब, अनुकूलता, प्रतिकूलताजस्ता सबै बेलामा उत्साहपूर्वक र अविरलरुपमा लागिरहने दृढता हुनु ।

(६) आफ्ना विचार र कामको समीक्षा गर्ने, तिनीहरुमा रहेको गुणदोष केलाउने, गल्ती कमजोरीहरु खोज्ने र तिनीहरुलाई सच्याउने तत्तरता तथा साहस हुनु ।

(७) व्यक्तिगत हितलाई पार्टी हितको मातहतमा राख्ने र पार्टी हितलाई क्रान्ति र जनताको हितको मातहतमा राख्ने दृष्टिकोण र व्यवहारमा जोड दिनु ।

(८) पार्टी एकतालाई सर्वोपरी महत्व दिने, खासगरी फुट र विभाजनले क्षतिग्रस्त भएको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित गर्ने महान दायित्वलाई मुख्य महत्व दिएर सिद्धान्तनिष्ठ पार्टी एकतालाई सर्वोपरी महत्व दिने भावना भएको पार्टी चरित्र कायम गर्नु ।

(९) जनताप्रति, पार्टीप्रति, आफ्ना क्रान्तिकारी सिद्धान्तहरुप्रति आत्मविश्वास राख्ने र स्वतन्त्रतापूर्वक कार्य गर्ने मनोबल हुनु ।

(१०) देश र जनताका शत्रुहरुप्रति तीव्र वर्गघृणा हुनु ।

(११) क्रान्तिलाई सहयोग गर्ने र जनताको हित हुने कुनै पनि स्वतन्त्र र नयाँ नीति, कार्यनीति लिनुपर्दा निःसंकोच र जनताको बीचमा खुला हृदयले जाने शैली हुनु ।

(१२) विचार र काममा पार्टीव्यापी रुपमा एकरुपता कायम गर्नु, नीति र निर्णय लिइसकेपछि तिनीहरुका कार्यान्वयनमा समान भावना र उत्साह लिएर सिंगो पार्टी दृढतापूर्वक जुट्नु ।

एक विरलाकोटीको पार्टी निर्माणको सपना, संकल्प र समर्पण भएको वैचारिक नेता मदन भण्डारी गुमाए पनि उहाँले प्रतिपादन गर्नुभएको जबजको माक्र्सवादको मार्गनिर्देशनमा रहेको एमाले अस्तित्वको लडाइँ र जनताको रोजाइ दुवै खाले प्रतिस्पर्धामा श्रेष्ठ साबित हुनुसँगै नेपालको वामपन्थी आन्दोलन उत्कर्षमा छ र संसारको आकर्षणको केन्द्र बनेको छ ।

जनताले गर्ने दया र कार्यकर्ताले गर्ने मायामा सन्तुष्ट रहने नेता उत्पादन गर्नु जबजको अन्तरवस्तु हो । जबकि प्रतिस्पर्धी पार्टी, विचार र व्यवहार शृंखलाको मक्सत कार्यकर्तालाई दास र सहकर्मीलाई आफ्नो सौन्दर्यकर्मी बनाउनु रहेको देखियो । जबज बिना पार्टी स्वास्नी सिँगार्ने, देश बिगार्ने लोभीपापीको महासंघ उत्पादन गर्ने कारखाना बन्ने छ । जबज बिनाको कम्युनिष्ट पार्टीले दृश्य शक्ति, श्रवण शक्ति र घ्राण शक्ति सबै गुमाउने छ ।

नेपालको एकीकरण गरेको सेनासँग भावनात्मक सम्बन्ध भएको राजतन्त्र, लोकतान्त्रि प्रतिस्पर्धात्मक व्यवस्थाको फ्रेमभित्र आफूलाई मसिहा ठान्ने नेपाली कांग्रेस र आफूलाई जनयुद्धको आरनबाट खारिएर आएको छुट्टै धातुको ठान्ने माओवादी एकमिटर पर देख्न नसक्ने दृश्य शक्ति, नजिकै ढोल पिटेको सुन्न नसक्ने श्रवण शक्ति र गनाएका मोजा सुघ्ने घ्राण शक्ति हाराहारीको कमसल राजनीतिक गुणका कारण उठ्नै नसक्ने गरी चिप्लिए तर सबैले छिछि र दूरदूर गरेको एमाले आफ्नै बलबुताले उठ्न सक्यो । यसको आधार जनतालाई भगवान् ठान्ने सिद्धान्त जबज थियो र जबजप्रतिको जनता जनाद्र्धनको आशा, विश्वास र अनुकम्पा थियो । आज निम्न वैचारिक, राजनीतिक सुझबुझ र संस्कारहरु गोलमालमा पर्ने हुनाले जबज बिनाको नेकपा पानी बिनाको माछा हुने देखिन्छ –

तत्वग्राही शैली

मदन भण्डारीले विचार, दृष्टिकोण र व्यवहारका क्षेत्रमा एमालेलाई तत्वग्राही शैली अवलम्बन गर्न प्रेरित गर्नु भयो । माक्र्सवादको रचनात्मक प्रयोग र विकास गर्न साधक स्वयं सही लिकमा उभिएको हुनुपर्छ । लतारिएर वा थचारिएर आएर जडसूत्रवाद र विर्सजनवादका दोहोरा खतराको सामना गर्ने युगीन दायित्वको नेतृत्व प्रदान गर्न संभव छैन । जबजले सारग्राही होइन, तत्वग्राही हुन सिकाउँछ । तत्वग्राही शैलीको महत्वमाथि भण्डारीले यसरी प्रकाश पार्नुभएको छ,

‘सर्वग्राही शैली प्रयोग गर्दा हामीलाई माक्र्सवाद लेनिनवादले पनि बाटो देखाउन सक्दैन । त्यसकारण हामीलाई चाहिएको शैली भनेको गुणग्राही विश्लेषणात्मक शैली हो, हरेक कुराभित्र रहेको त्यसको सामान्य स्वरुप र विशिष्ट स्वरुप, सामान्य तत्व र विशिष्ट तत्वको बीचमा विभेद् गर्ने शैली हो । मार्गदर्र्शक सिद्धान्त सामान्य सत्य हो र सत्य कहिल्यै पनि अर्मूत हुँदैन । त्यसरी मूर्त भएका प्रत्येक चीजहरु फेरि विशिष्ट नै हुन्छन् । यसरी हामी बुद्धि खर्च नगरी मार्गदर्शक सिद्धान्त ग्रहण गर्न सक्तैनौं । माक्र्सवाद जडसूत्र होइन, काममा बाटो देखाउने सिद्धान्त हो भन्दा लेनिनले दृष्टिकोणको सवाललाई नै महत्व दिनु भएको थियो भन्न सकिन्छ । त्यसकारण मार्गदर्शक सिद्धान्तमा एकरुपता प्राप्त गर्नका निम्ति माक्र्सवाद लेनिनवादको सामान्य तत्वलाई, त्यसको दृष्टिकोण र अडानलाई ग्रहण गर्नु पर्दछ र हाम्रो कार्य परिस्थिति र कार्यसूचीका परिप्रेक्ष्यबाट ठोस रुप प्रदान गर्नु पर्दछ ।’

गल्तीबाट पाठ सिक्ने तीक्ष्णता   

गल्तीबाट पाठ सिक्ने र संकटमा अवसर देख्ने कलाको अर्काे नाम नै भण्डारीको विचार शृंखला हो । गल्तीबाट पाठ नसिक्नु र नसच्चिनु भनेको पतनलाई वरण गर्नु हो । गल्तीबाट पाठ सिक्ने उन्नत चेत र समीक्षाको उदाहरणका रुपमा सोभियत मोडेलको समाजवादको असफलतामाथि भण्डारीको यस समीक्षालाई लिन सकिन्छ,

‘सोभियत समाजवादमाथि सुरुदेखि नै पुँजीवादीहरुले सशस्त्र आक्रमण, आर्थिक नाकाबन्दी, व्यापक वैचारिक हमलाजस्ता हरसंभव प्रहारहरु केन्द्रित गरिहेकै थिए । ठूलठूला बाहिरी हमलालाई त्यसले परास्त गर्यो तर पनि जीवनको लामो प्रतिद्वन्द्वितामा सोभियत मोडेल समाजवाद प्रमुख रुपमा आफ्ना आन्तरिक कमजोरीहरुका कारणले पछि परेको छ, विघठित भएको छ ।

समाजवाद निर्माणको प्रक्रियामा नियन्त्रण र सन्तुलनको स्थिति कायम गर्न नसक्नु, सबै कुरामा राज्यको अति केन्द्रित नियन्त्रणको प्रणाली कायम गर्नु, उत्पादनका प्रत्येक इकाइहरुमा उत्तरदायित्वको विकास गर्न नसक्नु, उत्पादकत्व बढाउनको निम्ति प्रोत्साहन नहुनु, नयाँ नयाँ प्रविधिको अनुसन्धान तथा विकास गर्न नसक्नु, पुँजीवादसँगको प्रतिस्पर्धा क्रममा उत्पन्न हुँदै गएको नयाँ परिस्थितिको मूल्यांकन गरी रचनात्मक ढंगले अघि बढ्न नसक्नु, उत्पादन प्रक्रियामा अन्तरक्षेत्रीय प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गर्दै साधनहरुको परिचालन गर्ने कुरामा ध्यान दिन नसक्नु, समस्त राजकीय तथा आर्थिक मामिलामा समेत जनताका स्वतन्त्र इच्छाहरुलाई अभिव्यक्त हुन नदिनु, प्रजातान्त्रीकरण, कानुनी राज तथा पार्टी एवं राज्यबीचको सम्बन्धको उचित सञ्चालन नहुनु र अझ राज्यको केन्द्रीय निकायका इच्छाहरुलाई व्यक्तिव्यक्तिको तहसम्म लगेर वलात् स्थापित एवं नियन्त्रित गर्नेजस्ता विशाल नोकरशाहीतन्त्रका अति केन्द्रित नियन्त्रण प्रणालीले सोभियत समाजवादको आन्तरिक जीवनलाई कमजोर बनायो ।

समय छँदै र ठीक ढंगले यस्ता कमजोरीहरु हटाउने काम भएन । स्तालिनको निधनपछि खुश्चोभले सुधारको नाममा वर्गसंघर्ष र साम्राज्यवादप्रतिको माक्र्सवाद–लेनिनवादी विश्लेषणमा संशोधन ल्याउने गलत कोसिस गरेका थिए । ब्रेझनेवले वैचारिक क्षेत्रमा खुश्चोभका गल्तीहरुलाई कायम राख्दै शस्त्रीकरण, तनाउ र सैनिक हस्तक्षेपको प्रयत्न गरे । आर्थिक विकास अवरोध उत्पन्न भयो । सोभियत समाजमा जडता र गतिरोध उत्पन्न भयो । यस्तो बेलामा शान्ति, निशस्त्रीकरण र सामग्रिक पुनर्संरचनाको नाममा गोर्भाचोभले ल्याएको सुधारलाई सोभियत जनताले व्यापक समर्थन गरेका थिए, तर त्यो वर्गीय तथा राष्ट्रिय दुवै हिसाबले आत्मसमर्पणवादी एवं विसर्जनवादी सुधार थियो ।

त्यसले समाजवादलाई समाप्त पार्यो र राष्ट्रलाई विखण्डित बनायो । सुधारबिनाको ब्रेझनेभवाद पनि सोभियत समाजवादलाई बचाउन सक्ने थिएन र गोर्वाचोभको आत्मसमर्पणवादी सुधारवादले पनि बचाउने प्रश्नै थिएन । समाजवादको आधारभूत चरित्रलाई दृढतापूर्वक कायम राख्दै अरु आवश्यक क्षेत्रमा स्थिति र समयसापेक्ष सुधार एवं परिवर्तन गर्दै अघि बढ्नु पथ्र्यो । सोभियत समाजवादले इतिहासमा धेरै राम्रा कुराहरु गरेको भए पनि प्रमुख रुपमा उपयुक्त कमजोरीहरुको कारणले परास्त एवं विघटित भएको छ ।’

प्राधिकारको अस्वीकार्यता

कम्युनिष्ट पार्टीमा प्राधिकार प्रयोग अभिसाफ थियो । एउटै व्यक्तिमा असीमित अधिकार अझ सत्तारुढ दलको प्रमुखमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका तीनवटै अंगलाई कठपुतलीझै खेलाउने मनोमानीलाई छुट दिनु अधिनायकवादलाई आमन्त्रण थियो ।

आफूमा असीमित शक्ति छँदा वा सफलता प्राप्त हुँदा लौह अनुशासन, जनवादी केन्द्रीयता वा जनताको जनवादी अधिनायकत्वको नाममा विरोधी वा प्रतिस्पर्धी र नवप्रतिभाको निषेधमा सम्पूर्ण शक्ति खचिर्नु कम्युनिष्टको पहिचान बनेको थियो । प्राधिकार वास्तवमा असल र योग्य उत्तराधिकारीमाथिको निषेध थियो । देखाउनका लागि कम्युनिष्ट पार्टीमा नेतृत्व परिवर्तनको नाटक मञ्चन गरिए पनि अघिल्लो पार्टी प्रमुखको उपस्थितिमा पछिल्लाको हैसियत लाचारछाया वा कठपुतलीको हाराहारीमा रहने गर्दथ्यो ।

संभवतः विश्व कम्युनिष्ट आन्दोलन र नेपालमा समेत एमालेमा बाहेक प्रतिस्पर्धामा साबिकको पार्टी प्रमुखले हार्नु परेको उदाहरण पाइँदैन । मदन भण्डारीले नेता पजनीको ठाउँमा कार्यकर्ताको रोजाइ र जनताको समर्थनको लिकमा एमालेलाई उभ्याएर लोकतान्त्रीकरणको पोषण प्रदान गर्नुभयो । महासचिवमा बहाल रहेको बेला भण्डारीले गरेको प्राधिकारको अस्वीकार्यता माथिको वकालत नेपालको कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरणको मुहान हो भन्दा अत्युक्ति नहोला ।

कम्युनिष्ट पार्टीलाई व्यवहार, चिन्तन र संस्कारगत ढंगले नै अलोकतान्त्रिक, असहिष्णु अधिनायकवादी बनाउने प्राधिकार सम्बन्धमा नेपालका कम्युनिष्टहरुमध्ये भण्डारीकालीन एमालेबाहेक आजसम्म कुनै पनि वाम घटकहरुले महाधिवेशनलगायतका फोरमहरु बहस चलाएको पाइँदैन । संभवतः अन्य वाम घटकहरु माथिको जनताको कोप भनौं वा उनीहरु जनताबाट बहिस्कृत हुनु वा उनीहरु उठ्न नसक्नुको कारक तत्व यही थियो ।

जबज केबल तीन अक्षरमात्र होइन, यो त कम्युनिष्ट पार्टीको लोकतान्त्रीकरण, यसलाई जनताको पहिलो रोजाइमा पार्ने चिन्तन, व्यवहार, मार्गदर्शन र संस्कारहरुको खानी हो । जबजको नाभीस्थल नै प्राधिकारको अस्वीकार्यता हो । यसको महत्वमाथि भण्डारीले यसरी प्रकाश पार्नु भएको पाइन्छ,

‘सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको तरिका, लेनिनवादी कार्यपद्धति र कार्यशैलीभित्र, खासगरी कमिटीको कार्यप्रणालीभित्र पर्ने एउटा अत्यन्त महत्वपूर्ण तत्व हो । तर यो सामूहिक नेतृत्वको शैली अमल गर्ने सम्बन्धमा विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा अनेक उल्लंघन भएका उदाहरण पाइन्छन् । ती अनुकरणीय कुराहरु होइनन् । सामूहिक नेतृत्वको उल्लंघनले कम्युनिष्ट आन्दोलनलाई लाभ होइन हानि पुर्‍याएको छ । आज अनेक मुलुकका कम्युनिष्ट पार्टीहरु सामूहिक नेतृत्वलाई कडाइकासाथ व्यवहारमा ल्याउने प्रयत्न गरिरहेका छन् । विगतमा उल्लंघन गरेका पार्टीहरुले पनि नेतृत्व शैलीको समीक्षा गर्दै छन् । माक्र्स एंगेल्सले सामूहिक नेतृत्वको शैलीलाई उच्च महत्व र आदर दिनुभएको थियो ।

कहिल्यै पनि उहाँहरुले व्यक्तिलाई नेतृत्वको प्राधिकार सुम्पिने कुरा सोच्नुभएन । लेनिन पनि सामूहिक नेतृत्वमा जोड दिनुहुन्थ्यो र उहाँले पनि व्यक्तिलाई प्राधिकार बनाउने सिफारिस कहिल्यै गर्नु भएन । व्यक्तिमा शक्तिको अति केन्द्रीकरणलाई उहाँ घृणापूर्वक विरोध गर्नुहुन्थ्यो । तर त्यसपछि विश्व कम्युनिष्ट आन्दोलनमा प्रत्यक्ष वा परोक्ष रुपमा त्यो चिन्तन देखा पर्दै गयो र विभिन्न मुलुकमा कम्युनिष्ट पार्टीहरुमा पनि त्यसको सिको हुन थाल्यो । आज व्यक्तिलाई विशेषाधिकार दिने, व्यक्तिको हातमा शक्ति अति केन्द्रीकरण गर्ने र प्राधिकार मान्ने चिन्तन खण्डित हुँदै गएको छ । यस्ता चिन्तनको भौतिक आधार खोज्नु पर्दा भने सामन्तवादको अवशेष र साम्राज्यवादको युगमा विश्वको एकमात्र नेता हुन चाहने कुआकांक्षाहरुलाई उल्लेख गर्न सकिन्छ ।

अर्काेतिर लामो समयसम्म एक्लो समाजवादी मुलुकको अस्तित्व र त्यसैले विश्वका न्यायपूर्ण आन्दोलनलाई सहयोग गर्न खेलेको भूमिका जस्ता कुराले समेत कम्युनिष्ट आन्दोलनमा पनि त्यस्तो प्राधिकारी चिन्तनको जगको रुपमा काम गरेका हुन सक्छन् । आज अनेक समाजवादी मुलुकको स्थिति र अर्काेतिर पुँजीवादका अनेक केन्द्रहरु विकसित हुँदै जानुले त्यस्तो चिन्तनको जग भत्किँदै गएको छ । यस्ता केही भौतिक परिस्थितिको संगतबाट जन्मिएको भए पनि प्राधिकार र विशेषाधिकारको चिन्तन माक्र्सवाद लेनिनवादको निम्ति बिरानो तत्व हो । यस्तो चिन्तन खण्डित भएर कम्युनिष्ट आन्दोलनको नै कल्याण भएको छ ।’

सर्वोपरी लक्ष्य : जनताको हित 

यस उपमहादिपमा जनतालाई नै भगवान् मान्ने विचारक मदन भण्डारीलाई मान्न सकिन्छ भने त्यस्तो विचार जबज नै हो । हाम्रा भगवान् भनेका नबोल्ने ढुंगाका देउता होइनन्, जीवित जनता हुन् भन्ने भण्डारीले नै जनतालाई परेड खेलाउने अधिनायकवादको जरो उखेल्दै कम्युनिष्ट पार्टी, यसका नेता र कार्यकर्ताहरु जनताको परीक्षणका विषय हुनुपर्नेमा जोड दिनुभएको थियो । जनताको कल्याणका लागि कम्युनिष्ट पार्टी, यसका नेता र कार्यकर्ता हुन्, कम्युनिष्ट पार्टी र यसका नेता अनि कार्यकर्ताको कल्याणका लागि जनता होइनन् । जनताको बहुदलीय जनवाद यही अनुलंघनीय लक्ष्मण रेखा हो । यही सत्यको लक्ष्मण रेखा भण्डारीले यसरी कोर्नु भएको छ,

‘जनता मुख्य तत्व हुन् र जनताको हित र कल्याण नै हाम्रो सर्वोपरी लक्ष्य हो । समाजवाद साम्यवादमा जनताको उच्चतम् कल्याण हुने भएकाले नै हामीले त्यसलाई आफ्नो उच्चतम लक्ष्य बनाएका हौं । सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादलाई उखेलेर फालेमा मात्र हाल नेपाली जनतालाई न्यूनतम रुपमा कल्याण हुनसक्ने भएर नै हामीले जनवादी क्रान्ति गरिछाड्ने प्रतिज्ञा गरेका हौं । त्यसकारण जनताको कल्याणभन्दा बढी हाम्रो अर्काे केही लक्ष्य, उद्देश्य छैन ।

यसबाट हाम्रो जनताप्रतिको दृष्टिकोण प्रष्ट बनेको छ । त्यसकारण हामीले जनतासँगको सम्बन्धलाई घनिष्ट र एकाकार बनाउने, जनताबाट सिक्ने र जनतालाई दिने, जनतासँग नम्रता, विवेक र औचित्यपूर्ण व्यवहार गर्ने कुरामाथि जोड दिन्छौं । रुखाइ, अविवेक, संकीर्णता, अहंकार, व्यक्तिवाद र निजी स्वार्थलाई पहिलो महत्व दिने व्यक्तिले जनतासँग मिल्न, उनीहरुप्रति सेवाभाव राख्न सक्दैन । त्यस्तो व्यक्ति क्रान्तिको बाधक हुन्छ, साधक होइन । त्यसैले हामी त्यस्ता कुराको निन्दा भत्र्सना गर्दछौं । केबल आदर्शको प्रदर्शन गर्न हामीले यसो गरेको होइन, त्यस बिना काम चलाउनै नसकिने हुनाले वास्तविक जीवनमा अमल गर्नको निम्ति यसो गरेका हौं ।’

शक्ति पृथकीकरणको सिद्धान्त 

अन्य उपायबाट महत्वाकांक्षा पूरा नहुने भएपछि थचारिएर लोकतन्त्रवादी हुनु र लतारिएर चुनाव लड्नु जस्तो घोर अवसरवादसँग जबजको न कुनै साइनो छ न सरोकार नै छ । बहुलवाद, आवधिक निर्वाचन, संविधानको सर्वोच्चता, कानुनी शासन, वैधानिक प्रतिपक्ष र यी सबैको सुनिश्चितता प्रदान गर्ने संसद् र शक्ति पृथकीकरणको सिद्धान्तलाई कम्युनिष्टहरुको तर्फबाट पहिलो हकदाबी मदन भण्डारीले नै गर्नुभयो ।

मानव जातिका साझा उपलब्धिहरु पुँजीवादीहरुका बपौती होइनन् भन्ने भण्डारीका तर्कहरुको खण्डिन गर्ने आँट कसैले गर्न सकेका छैनन् । शक्ति पृथकीकरणको सिद्धान्त कम्युनिष्ट आन्दोलनको गल्ती सच्याउने महत्वपूर्ण माध्यम बनेको छ । यसको अपरिहार्यता र महत्वमाथि प्रकाश पार्दै भण्डारी उल्लेख उल्लेख गर्नुहुन्छ,

‘समाजवादी देशहरुमा लामो समयसम्म व्यक्तिको हातमा शक्तिको अति केन्द्रीकरण रह्यो । त्यसबाट समाजलाई लाभ होइन हानि भयो । त्यसपछि व्यक्तिको हातमा हुने अति केन्द्रीकरणको आलोचना गर्दै विकेन्द्रीत गर्ने प्रक्रिया सुरु भएको छ । तर व्यक्तिको हातमा मात्र होइन, कुनै एउटा संस्थाको हातमा पनि अति केन्द्रीकरण हुनुहुँदैन ।

एउटै संस्था कार्यकारी, विधायी र न्यायिक अधिकार प्रयोग गर्ने केन्द्रीय शक्ति हुनुहुँदैन । राज्यका विभिन्न अधिकारहरुलाई प्रयोग गर्ने पृथक निकायहरु हुनुपर्छ । अझ राज्यका अधिकार शासक पार्टीले प्रयोग गर्ने र राज्य र पार्टीको बीचको भिन्नतालाई समाप्त गर्ने काम हुनुहुँदैन । राज्य र पार्टी बीचको भिन्नता र अन्तरसम्बन्धलार्ई ठीक ढंगले सञ्चालन गरिनुपर्छ । यही आधारबाट हामीले शक्ति पृथकीकरणको सिद्धान्तलाई आफ्नो कार्यक्रममा समावेश गरेका छौं ।’

निष्कर्ष       

खोज्छन् सबै सुख सुख त्यो कहाँ छ, आफू मेटाइ अरुलाई दिनु जहाँ छ भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको कवितामा झै बहुदलीय जनवादीहरुको बानी नै आफ्नो भाग मेटाउनुमा आनन्द मान्ने रहेको छ । चुनावमा जनताको बहुदलीय जनवाद जनताबाट स्वीकृत भयो तर पार्टी एकताको मूल्यमा कोमामा राख्नु पर्दाको सकस बहुदलीय जनवादीहरुले सामना गरे ।

एकताको शर्तमा मातृभूमि र जनसमुदायको हितका खातिर जबज कोमामा राख्दा र चामल र कनिकाको भाउ समान तोकिँदा बहुदलीय जनवादीहरुले हाँसी हाँसी सहे र कुर्बानीको भाषा बोले । छुचुन्द्रो टाउकामा चमेलीको तेल भनेझै आफैंले स्थानीय चुनावमा हराएको व्यक्ति इन्चार्ज भएर आए पनि त्याग र संयम सहारा लिँदै सलाम ठोके ।

कथाकार गुरुप्रसाद मैनाली शहिद कथामा लेख्नुहुन्छ, जुन जाति मर्न जान्दछ, इतिहास उसैको लेखिन्छ । बहुदलीय जनवादीहरुकोे यो त्यागलाई कमजोरी ठान्नेको हालत भने ढिलोचाँडो सुतेको सिंहमाथि उफ्रिने मृगको जस्तो हुनेछ । किनकि मौन रहँदैमा हरेकले कसैको हैसियतलाई कम आँक्न मिल्दैन । बहर छँदाका नारायणकाजी श्रेष्ठ, सीपी, जेएन, गौतम र प्रचण्डलाई तह लगाइसकेका हली रुपी बहुदलीय जनवादीहरुले बूढो गोरुको क्लबमा सीमित रहेको प्रचण्ड, जेएन र गौतम त्रिकोणको बहादुरिताका साथ सामना गर्ने औकात राख्दछन् । विचारको कुरा उठ्दा इज्जतको प्रश्न छ भन्ने र संक्रमणकालको संवेदना उछाल्ने तर अवसरको प्राप्तिका लागि जस्तासुकै प्रकारका समीकरणका खेती गर्न धक नमान्ने चलाखी सतहमा आइसकेको छ ।

जनमोर्चा, माले र माओवादीमा रहेर सानो परिवारमा बाक्लो दाल खाने सपना ध्वस्त गरिदिएकोमा बहुदलीय जनवादीमाथि तुष साध्नकै लागि पार्टी एकताको नाटक मञ्चन गरिएको हो भने अवसरवादलाई तावाको माछो भुग्रोको हालतमा पार्ने कला र सामथ्र्य जबज र बहुदलीय जनवादीसँग छ । जसरी सुन्दरता बाघको स्वरुपमात्र हो भने पौरख उसको सार हो त्यसरी नै सरलता बहुदलीय जनवादीहरुको स्वरुप हो भने क्रान्तिकारी सु¥याइँ उनीहरुको सार हो ।

  • राजनीतिक विश्लेषक शाही नेकपाका युवा नेता हुनुहुन्छ ।https://www.khulanepal.com
सम्बन्धित समाचार