सर्लाहीको बरहथवा नगरपालिकाका तीन सय १७ जनामा मोती विन्दुको शल्यक्रिया (अप्रेसन) गरिएको छ ।बरहथवा नगर अस्पतालमा सञ्चालन गरिएको मोती विन्दुको अप्रेसन क्याम्पमा तीन दिनमा तीन सय १७ जनाको आँखामा देखिएको मोती विन्दुको शल्यक्रिया गरिएको बरहथवा नगर अस्पताल प्रशासनले जनाएको छ ।अस्पतालका अनुसार इन्डो आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा.राकेश यादव नेतृत्वको टोलीले बिरामीको आँखा परीक्षण सहित मोती विन्दुको शल्यक्रिया गरेका हुन ।
बेनभोलेन्स च्यारिटी हल लिमिटेड चाइना र कम्युनिटी भिजन केयर ललितपुरको सहयोगमा बरहथवा नगरपालिका कार्यालयले नगर अस्पतालमा मोती विन्दुको निःशुल्क शल्यक्रिया शिविर सम्पन्न गरेको बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालले बताईन्।उनका अनुसार शिविरमा बरहथवासहित छिमेकी पालिकाबाट आएका आँखाका बिरामीले लाभ लिएका छन् ।