सर्लाहीको ईश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजारमा हल गोरुको प्रतिमा निर्माण गरिएको छ। इश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजारमा गाईवस्तुको धेरै नै किनबेच हुने र जिल्लाकै सबैभन्दा पुरानो बजारको पहिचान बनाएको बयलवास बजारको मुख्य बजार क्षेत्रमा एक हल गोरुको प्रतिमा निर्माण गरेको हो ।
महेन्द्र बजार पुरानो नामले परिचित बयलवास बजारमा गाईबस्तुको किनबेच धेरै नै हुने बजारले बढी प्रख्यात छ।यहाँ अहिले पनि बुधबार र शनिबार गाईवस्तुको अत्यधिक किनबेच हुने गरेको इश्वरपुर नगरपालिका ६ का वडा अध्यक्ष महम्मद रहमन अंसारीले बताए।गोरुको धेरै नै किनबेच हुने बयलवासलाई पछिसम्म चिनाइ राख्न र ईतिहास समेत संरक्षण गर्न हल गोरुको प्रतिमा निर्माण गरिएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले बताए ।
फूलजोर–त्रिभुवननगर हुलाकी सडकको बिच भागमा निर्माण गरिएको उक्त प्रतिमाको नगरप्रमुख आचार्य, ईश्वरपुर नगरपालिका ५ का वडाध्यक्ष पंची महतो,ईश्वरपुर नगरपालिका ६ का वडाध्यक्ष महम्मद रहमन अंसारी,ईश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ,इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख एवम प्रहरी नायब उपरीक्षक मान प्रसाद श्रेष्ठलगायतको उपस्थितिमा उद्घाटन गरिएको छ ।
जिल्लाकै पुरानो बजार रहेपनि बयलवास बजारको व्यवस्थापन हुन सकिरहेको थिएन् तर जब फूलजोर–त्रिभुवननगर हुलाकी सडकको निर्माणका साथै बयलवास बजारमा व्यापारीक भवन निर्माणले बजारको मुहार फेरिएको जानकारहरु बताउँछन् ।