सर्लाहीको बागमती नगरपालिका १० शंकरपुरमा करिब रु ३ करोडको लागतमा साना किसान कृषि सहकारी संस्थाले स्थापना गरेको कष्टम ह्यारिङ्ग सेन्टर स्थापना गरेको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न तथा कृषि पेशालाई मर्यादित एवम व्यवसायीक बनाउने उदेश्यले स्थापना कष्टम ह्यारिङ्ग सेन्टरको स्थापना गरिएको हो ।
कष्टम ह्यारिङ्ग सेन्टरको स्थापनाले किसानहरुको लागत मूल्यमा ४० देखी ४५ प्रतिशत सम्म घट्ने विस्वास आफुहरुले लिएको प्रदेश २ सरकारका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बताउनु भयो । उहाले प्रविधि र प्राविधिकलाई उपयोग गर्न सके मात्र कृषि क्षेत्र सवल बन्न सक्ने कमलामाई मिडिया प्रालिलाई बताउनु भएको छ ।
यहाँका ८० प्रतिशत नागरिक कृषिमै आश्रीत भएकाले यसको विकासमा प्रदेश सरकारले काम गरिरहेको पनि मन्त्री साहले बताउनु भयो । प्रदेश २ मा ७ हजार सहकारी संस्थाहरु रहेकाले यसलाई उत्पादनको क्षेत्रमा लगाउन सरकारले लगानी गर्ने मन्त्री साहले बताउनु भयो । चर्को मूल्य तिरेर हलो र ट्याक्टरको भरमा खेती गर्दै आएका किसानहरु उक्त कृषि सहकारी संस्थाले कष्टम ह्यारिङ्ग सेन्टर मार्फत कृषि कार्यको लागि आफ्नै गाउँमा कृषि यन्त्रहरु उपलब्ध गराउने भएपछि खेती गर्न सजिलो हुने भन्दै खुसी भएका छन्। यसबाट कृषि कार्यमा लागत कम लाग्ने, उत्पादित वस्तुको सुरक्षित भण्डारण हुने र कृषि पेशा मर्यादित एवम व्यवसायिक हुने स्थानीय किसानहरुले विश्वास लिएका संस्थाका अध्यक्ष कमल कुमारी पोखरेलले बताउनुभयो ।
किसानको खेतीपातीमा सहुलियत होस् भन्ने उदेश्यले प्रदेश २ सरकर कृषि विकास निर्देशनालय धनुषाबाट ५० प्रतिशत अनुदानमा १७ ओटा आधुनिक कृषि यन्त्र ल्याएको अध्यक्ष पोखरेलले कमलामाई मिडिया प्रालिलाई बताउनु भयो । उहाँका अनुसार निर्देशनालयको रु १ करोड ४० लाख २३ हजार ३ सय २५ रुपैया ६९ पैसा अनुदान र संस्थाको रु १ करोड २९ लाख ९९ हजार ६ सय ५९ रुपैया ५ पैसा गरि जम्मा रु २ करोड ७० लाख २२ हजार ९ सय ८४ रुपैया ७४ पैसाको लागतमा कृषि यन्त्रहरु खरिद गरि कष्टम ह्यारिङ्ग सेन्टरको स्थापना गरिएको हो ।
कष्टम ह्यारिङ्ग सेन्टरमा ६ थान ट्याक्टर, २ थान पावर टेलर, २ थान माटो मिलाउने मेसिन , २ थान मिनी टेलर, ५ थान मकै रोप्ने मेशिन, ५ थान ट्रली, १ थान कम्बाइन्ड हाबेष्टर, २ थान बोरा सिलाउने मेशिन, ४ थान रोटा भेटर, १ थान एम्बी प्लग, ४ थान डिक्स ड्यारो, ६ थान कल्टी भेटर, १ थान धानको बिउ राख्ने मेशिन, २ हजार थान प्लाष्टिक ट्रे, १ थान स्टार रिपर, १ थान धान रोप्ने मेशिन र २ थान रिपर राखिएको संस्थाले जनाएको छ ।
धान खेतीमा एक कट्ठा रोपाईंका लागि रु ४ सय, मकैमा प्रति कट्ठा रु ५ सय मजदुरी तथा धान र मकै गोढ्न,जोत्नका लागि प्रति घण्टा रु १ हजार ४ सयको दरले ट्याक्टर साहुलाई पैसा तिर्दै आएका किसानहरुलाई अब मंहगोमा मजदुर खोज्नु पर्ने झण्झट हटेको छ । ती यन्त्रहरुको प्रयोगका लागि सहकारीले चलन चल्तीको रेटभन्दा २० प्रतिशत कम मूल्य निर्धारण गरेको कष्टम ह्यारिङ्ग सेन्टरका संयोजक महेन्द्र महतोले बताउनु भयो ।
धान रोप्न प्रति बिघा खाना र खाजासहित करिब रु १० हजार र मलको छुट्टै खर्च हुँदै आएकोमा धान रोप्ने मेशिन आएपछि अब रु ६ हजारमा काम हुने सेन्टरका संयोजक महतोले बताउनु भयो । धान कटाई र दाउनी गर्दा प्रति बिघा रु १२ हजार खर्च हुँदै आएकोमा सहकारीले ल्याएको कम्बाइन्ड हाबेष्टरबाट रु ८ हजारमै काम हुने उहाँले बताउनु भयो ।
त्यस्तै मकै काट्न, ढुवानी गर्न र दाउनी गर्न प्रति बिघा रु २५ हजार खर्च लाग्दै आएकोमा आधुनिक यन्त्रबाट मात्र रु १० देखि १२ हजार सम्ममा काम हुने भएको छ । बागमती नगरपालिका १० मा स्थापना गरिएको कष्टम ह्यारिङ्ग सेन्टर प्रदेशमै ठुलो लगानीमा स्थापना भएको सेन्टर रहेको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले बताउनु भयो ।