Close This

तीनपाटन र हरिहरपुरगढीमा गरी न्यायिक समितिद्धारा ६२ वटा विवाद निरुपण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-१३ गते   २५९४ पटक हेरिएको

सिन्धुलीको तीनपाटन गाउँपालिकाको न्यायिक समितिले पनि ३२ वटा विवाद समाधान गरेको तीनपाटन गाउँपालिकाका न्यायिक समितिका संयोजक तथा गाउँपालिकाकी उपा अध्यक्ष पदम माया तामाङले कमलामाइ मिडिया प्रालीलाई बताउनु भयो ।
आर्थिक वर्ष २०७७÷०७८ मा न्यायिक समितिमा ४८ वटा विवाद दर्ता भएकोमा ३२ वटा विवाद समाधान भईसकेको र १६ वटा विवाद समाधानको प्रक्रियामा रहेको उहाँले बताउनु भयो । तीनपाटन गाउँपालिकामा पनि धेरैजस्तो जग्गा खिचलो र लेनदेन सम्बन्धिका विवाद आउने गरेको संयोजक तामाङले बताउनुभयो ।
यस्तै, हरिहरपुरगढी गाउँपालिकाको न्यायिक समितिले ३० वटा विवाद निरुपण गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा न्यायिक समितिमा जम्मा ३९ वटा विवाद परेकोमा ३० वटा विवादको समाधान भएको न्यायिक समितिका संयोजक तथा गाउँपालिकाकी उपा अध्यक्ष अनिता कुमारी राईले बताउनुभयो । बाकी ९ वटा विवाद समाधानको प्रक्रियामा रहेको उहाँले कमलामाई मिडिया प्रालीलाई जानकारी दिनुभयो । हरिहरपुरगढी गाउँपालिकाको न्यायिक समितिमा कुटपिट, जग्गाको खिचलो, लेनदेन सम्बन्धि विवाद आएको उहाँले बताउनु भयो ।
हरिहरपुरगढी गाउँपालिकाका ८ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । न्यायिक समितिमा दर्ता भएका विवादहरु न्यायिक समितिको छलफल पछि वडाको मेलमिलाप केन्द्रबाट नै धेरैजसो विवाद समाधान भएको संयोजक राईले बताउनुभयो । न्यायिक समितिमा समाधानको प्रक्रियामा रहेका ९ वटा विवादमा धेरैजसो लेनदेन र जग्गा खिचलो सम्बन्धि रहेको र समाधान गरिएको विवादहरुमा पनि लेनदेन र जग्गा खिचलो सम्बन्धि नै धेरै विवाद रहेको संयोजक राईले बताउनुभयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech