सर्लाहीका उखु उत्पादक किसानहरु उखुको भुक्तानी नपाएको भन्दै फेरी आन्दोलित भएका छन् । आफुहरुले उत्पादन गरेकोउखुको करोडौँ भुक्तानी नपाएको भन्दैउनिहरु आन्दोलनको तयारीमा लागेका हुन ।
विगत ‘३÷४ वर्षअघि देखिकै करिब रु ३० करोड भुक्तानी आफुहरुलेपटक पटक आन्दोलन गर्दापनि नपाएको भन्दै आफुहरु फेरी आन्दोलनको तयारीमा लागेका सिसौटियाका उखु उत्पादक किसान रामविलास महतोले बताउनु भयो ।
२०७४ सालकै पैसा नपाएको गुनासो जिल्लाका उखु उत्पादक किसानहरुको गुनासो छ। पटकपटकको आन्दोलनपछि महालक्ष्मी र अन्नपूर्ण सुगर मिलबाट करिब रु ३ लाख भुक्तानी पाए पनि महत्तोले उद्योगबाट अझै रु ८५ हजार उठाउन बाँकी रहेको छ । उखुकै पैसा माग्न जिल्लाका उखु उत्पादक किसानहरु काठमाडौं पुगेका महतोले बताउनु भयो । “मैले पहिला २ बिघा जमिनामा उखु लगाउँथे । उखु बेचेरै आफ्नो घर परिवार र व्यवहार चलाउँने गरेको मलाई उद्योगले भुक्तानी नदिएपछि अहिले समस्या भएको छ ।” महतोले राससलाई बताउनु भयो ।
‘सरकारबाट आश्वासन पाए पनि भुक्तानी हुन सकेन । जसका कारण फेरी आन्दोलन गर्न बाध्य भएर काठमाण्डौँ तर्फ आफुहरु लागेको उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताउनु भयो ।’ सचिव रायले आफूले पनि करिब रु २० लाख भुक्तानी नपाएको बताएका छन् ।
समितिका अनुसार इन्दिरा सुगर मिलबाट रु ३ करोड, लुम्बिनीबाट रु ३ करोड, अन्नपूर्णबाट रु १२ करोड, महाकालीबाट करिब ९ करोड भुक्तानी हुन बाँकी रहेको छ । श्रीराम सुगर मिलबाट पाउनुपर्ने रु ३ करोड सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइए पनि जिल्लाका किसानहरुले अहिले सम्मपनि नपाएको सचिव रायले बताउनु भयो । उखु उत्पादक किसानहरुले उत्पादन गरेको उखुको भुक्तानी नपाउँदा जिल्लाका किसानहरु उखु उत्पादन पेशा प्रति असन्तुष्ट बन्दै गएका छन् ।
‘ऋण लिएर उखु खेती गरेका हुन्छौं, बिक्री भए पनि तत्काल पैसा पाइँदैन,’ जसका कारण आफुहरुले वर्षाै देखि गर्दै आएको उखु उत्पादनको पेशा दिनप्रतिदिन परिवर्तन गर्न बाध्य भएका छौँ, ‘आफ्नै पैसा पाउन पटकपटक आन्दोलन गर्नुपर्ने अवस्था आई रहेको छ । किसानका लागि योभन्दा ठूलो अत्याचार के हुन सक्छ ?’ जिल्लाका उखु उत्पादक किसानहरुको गुनासो छ ।
समयमै भुक्तानी नपाउँदा उखु उत्पादक किसानहरु पटकपटक आन्दोलन गर्न बाध्य छन् । विगतकै भुक्तानी नभएपछि सर्लाहीका ५ किसान फेरि काठमाडौं आइपुगेका हुन । कोटेश्वरको धर्मशालामा बसेर बिहीबार पत्रकार सम्मेलन गरेर सरकारलाई जानकारी गराउने र माग सम्बोधन नभए पुनः आन्दोलनको घोषणा गर्ने उनिहरुले बताएका छन् ।
‘श्रीरामका सञ्चालकले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिएका छन् । तर, किसानहरुले पाएका छैनन्,’ सचिव रायले बताउनु भयो ।, ‘महाकालीले करिब रु २ करोड अनुदान रकम पनि दिएको छैन ।’ यसवर्ष महाकालीले करिब २ महिना क्रसिङ गरेको थियो । तर, एक महिनाको मात्रै भुक्तानी गरेको समितिले जनाएको छ ।
उखु किसानहरू २०७६ वैशाख ३१ यता निरन्तर आन्दोलनमा छन् । २०७६ पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा किसान र चिनी मिल उद्योगीबीच सम्झौता समेत भएको थियो।
२०७६ माघ ७ गतेसम्म सरकारले दिनुपर्ने अनुदानसहित सबै बक्यौता चुक्ता गर्ने सहमति भएको थियो । तर, सम्पूर्ण रकम भुक्तानी अहिले पनि भएको छैन । रकम नपाएपछि पीडित किसानहरुले गत चैत ८ गते माइतीघरमा रिले अनशन गर्ने घोषणा गरेका थिए। तर, चैत ११ गतेदेखि लकडाउन भएपछि अनशन स्थगित भयो । सहमति कार्यान्वयन नभएको भन्दै उनीहरूले २०७७ कात्तिक २३ गते तत्कालीन उद्योगमन्त्री लेखराज भट्टलाई स्मरण पत्र बुझाएका थिए ।
जिल्लाका उखु उत्पादक किसानहरुले कात्तिक २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरी समस्या समाधानको पहल गरिदिन अनुरोध गरेका थिए । तर, किसानहरुले आश्वासन बाहेक केही नपाएको बताएका छन् । ‘विभिन्न राजनीतिक दलदेखि राष्ट्रपतिसम्म आफ्नो कुरा राखेका छौं, केन्द्रमा मात्रै नभई जिल्लामा पनि कैयौंपटक आन्दोलन भयो,’ उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष राम स्वार्थ रायले बताउनु भयो । ‘मिलमा अनशन बस्यो, भुक्तानी दिने सहमति पनि हुन्छ, तर कार्यान्वयन हुँदैन।’ भुक्तानीको पहल गरिदिन भन्दै करिब १५ पटक काठमाडौं धाउनुपरेको उहाँको भनाई छ । राष्ट्रपति भण्डारीसँगको भेटपश्चात् पनि माग सम्बोधन नभएपछि उनीहरू पुनः आन्दोलनमा उत्रिन बाध्य भएका छन् ।
त्यसपश्चात् केही उद्योगीले भुक्तानी गरे पनि अन्नपूर्ण, इन्दिरा, श्रीराम र लुम्बिनीले पूर्ण रूपमा भुक्तानी गरेका छैनन् । त्यसपछि २०७७ पुसमा किसानहरुले दोस्रोपटक काठमाडौंमा आन्दोलन गरेका थिए । आन्दोलनकै दबाबले सुगर मिलले केही रकम मात्रै भुक्तानी गरेका थिए ।
सरकारले चिनी उद्योगीको शेयर र जग्गा लालपुर्जा रोक्का गर्ने तथा २१ दिनभित्र भुक्तानी नगरे कडा कारबाही गर्ने प्रतिबद्धता जनाएपछि किसानहरूले आन्दोल स्थगीत गरेका थिए । १६ दिनको आन्दोलनपछि सरकार र उखु किसान संघर्ष समितिबीच ४ बुँदे सहमति भएको थियो। भने आन्दोलन स्थगन गर्ने निर्णयले पैसा नपाउने चिन्ताकै कारण सर्लाहीका उखु किसान नारायण राय यादवको हृदयाघातका कारण मृत्यु भएको थियो।
मिलले सरकारले तोकेको उखुको समर्थन मूल्यसमेत नदिएर ठग्ने गरेको रायको आरोप छ । ‘करिब २० प्रतिशत घटाएर किसानलाई पैसा दिइन्छ,’ उनले भने, ‘सरकार र उद्योगीबाटै अत्याचार भयो। किसानहरु सधैँ मारमा परको किसानहरुको भनाई छ ।’