Close This

घुमुवा हवल्दार मिश्रको सेटिङमा अवैध धन्दा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२२ गते   ९४९ पटक हेरिएको

बाराको बलिरामपुर र मुसहर्वा सिमानाका क्षेत्रमा प्रहरीका घुमुवाको संग्लग्नतामा अवैध धन्दा  बढेको छ। बलिरामपुर र मुसहर्वा सिमानाका क्षेत्रमा प्रहरीका घुमुवा हवल्दार चन्द्र भुषण मिश्रको सेटिङमा अवैध धन्दा फस्टाएको हो ।
उनले हुण्डी कारोबारी देखि लागुऔषध कारोबार गर्नेहरुको समेत  सेटिङ मिलाएरकमिसन असुल्ने गरेका प्रहरी स्रोतको दाबी छ । प्रहरी चौकी मुसहर्वाका सई रोशन अधिकारीले प्रहरी हवल्दार  मिश्रलाई घुमुवाका रुपमा खटाएका छन् । हबल्दार मिश्रले कपडा र भैंसी तस्कर देखि लागुऔषध कारोबारी र हुण्डी कारोबारीसँग समेत मासिक दररेट तोकेर पैसा उठाउने गरेका पाइएको छ ।
जिल्लाको मुसहर्वा र बलिरामपुर नाकाबाट अबैध कारोबार गर्ने कारोबारीहरुसंग मोटो रकम लिएर  घुमुवा हबल्दार मिश्रले नै संरक्षण र स्कटिङ समेत गर्ने गरेका एक जना स्थानीयले नाम नखोल्ने सर्तमा बताए। अहिले भारतीय बजारबाट अवैध मार्ग हुँदै कपडा,कस्मेटिक,तयारी पोषाक,मोटर पार्टस,पानी तान्ने मोटर, हार्डवेयर,इलेक्ट्रोनिकका सामान,किरानाका सामानहरुका साथै सुटिङ सटिङका सामानहरु सूर्तीजन्य पदार्थ,चिनी, किरानाका सामानहरु खुलेआम तस्करी हुदै नेपाल भित्रिरहेको छ ।
बलिरामपुर र मुसहर्वा नाकाबाट कपडा र भैंसीको तस्करी तीब्र रुपले बढेको छ । मुसहर्वा र बलिरामपुर,नाका हुँदै प्रसौनीको बाटो रातको करिब ९ बजेदेखि बिहानको ४ बजेसम्म भन्सार छली गरेर तस्करीको कपडा पिकअप भ्यान र मोटरसाइकलका माध्यमबाट नेपाल भित्र्याउने गरेका छन् ।
हबल्दार मिश्रले बलिरामपुर र मुसहर्वाबाट भोला मिया नामका अवैध कारोबारीको समुहसंग मोटो रकम बुझी पिकअप र १० वटा मोटरसाईकल प्रयोग गरी रातभर कपडा र जुत्ता चप्पलको तस्करी गर्न लाइन दिएका छन । बलिरामपुर र मुसहर्वाबाट रामअयोध्याले पनि हार्डवेयर,सुर्तीजन्य पदार्थ ,कष्टमेटिकको लाइन पाएका छन् ।
यस्तै बलिरामपुर र मुसहर्वा दुबै नाकाबाट रातभरि मोटरसाईकलको माध्यामले कपडा तस्करी गर्न गैर कानुनी कार्यगर्ने समुहले लाईन पाएका छन् । मुसहर्वा नाकाबाट सन्तोष गुप्ता, सुरेन्द्र जैसवाल, जयप्रकाश महतो, मनोज यादव लगायतका कारोबारीहरुले मोटो रकम नजराना बुझाएर राती राँगा र भैसीहरु नेपालमा भित्र्याउने गरेका छन्।बलिरामपुर र मुसहर्वा नाकाबाट छोटेलाल पटेलको समूहले कपडा तस्करीको ठुलो लाईन पाएका छ्न् । पटेलको समूहले नै कलैयामा खपत हुने कपडाको ५० प्रतिशत भन्दा बढी भन्सार नै नतिरी तस्करी गरेर ल्याउने गरेको कलैयाका कपडा व्यपारीहरुले बताए।
मुसहर्वा नाकाबाट,मुरारी महतो,खेना यादव,बिन्दा,सकिल,चन्दन ,पन्डित,प्रेम,सुनेश,बिरेन्द्र,पवन,तार्केश्वर,अनवर, लगायतका तस्करहरुले साइकल मोटरसाईकलको माध्यामले कपडा, हार्डवेयर,सुर्तीजन्य पदार्थ ,कष्टमेटिक, किरानाका सामानहरु  भित्र्याउने गरेका छन् । नेपालबाट भारततर्फ सन्तोष मुखिया नामका गैर कानुनी कार्य गर्ने व्यापारीले तस्करी गर्दै आएका छन् ।मुना मियाँले कपडाको काम गरिरहेका छन् । भारत घर भएका बूज साहले मदिराको काम गर्न लाइन पाएका छन् । उमेश जलन्धर माछाको र रगिन माछाको काम गरिरहेका छन् ।
जिल्लाको बलिराम्पुर गाउँ कै स्थानिय पवन गुप्ता र तर्केस्वर भिम भारतबाट नेपालमा सुर्ति जन्य पदार्थ,लत्ताकपडा , हाडयेवर लगायतका समानहरु भित्रयाउछन् भने नेपालबाट भारत रातिको समय प्रहरीको सेटिङमा मदिराकाृ तस्करी गराउदै आएका छन् । यस्तै उमेश साहले माछाको तस्करी गर्ने गरेका छन् ।
नेपाल सरकारले भारतबाट आउने माछालाई चेकजाँच गरेर मात्रै नेपाल भित्रिन दिने व्यवस्था गरेपनि यि तस्करहरुको समूहले सिमा नाका क्षेत्रमा रहेका प्रहरीको मिलोमतोमा खुलेयाम वीरगंज बजारसम्म माछाको तस्करी गर्ने गरेका छन् । जसबाट स्वदेशी माछा उत्पादकहरुले घाटा व्यवहोर्नु परेको छ । 
कसरी हुन्छ प्रहरी सेटिङ 
 सीमा क्षेत्रमा हुने तस्करी प्रहरीको सहमतीमा नै हुने गरेको देखिन्छ । प्रहरीको सहमती विना भारतिय बजारबाट नेपालमा हुने तस्करी त्यती सजिलो छैन् । सीमा क्षेत्रमा प्रहरीले सहमती नजनाए सम्म संस्थागत रुपमा तस्करी हुँदैन । प्रहरी र तस्करको सेटिङमा तस्करी हुने गर्दछ । बलिरामपुर र मुसहर्वा नाकामा पनि प्रहरी र संस्थागत रुपमा तस्करी गर्नेहरु बीच सेटिङ मिलाएर तस्करी हुने गरेको छ । 
यस नाकाबाट करिब १ दर्जन  गैर कानुनी काम गर्ने व्यापारीहरुले मासिक रुपमा प्रहरीलाई रकम बुझाएर तस्करी गर्ने गरेका छन् । यी तस्करहरुको काम सँधै सीमा क्षेत्रमा तस्करी गर्नु हो । प्रहरीसँग यिनीहरुको सेटिङ मिलेमा तस्करी गर्ने सेटिङ नमिलेमा तस्करी रोक्ने गर्दछन् । घुमुवा हबल्दार मिश्रले तस्करीको सबै सेटिङ मिलाएर उठेको रकम ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक देखि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरीप्रमुख प्रहरी उपरिक्षक होमिन्द्र बोगटीलाई समेत पुर्याउने गरेका प्रहरी स्रोतले जनाएको छ।आफुलाई कसैले कारबाही गर्न नसक्ने भन्दै घुमुवा हबल्दार मिश्रले यसरी असुली धन्दा चलाएका छन् ।
स्रोतका अनुसार अमलेखगञ्ज दरबन्दी भएका घुमुवा हबल्दार मिश्र दरबन्दी नगइ घुमुवा बस्न र पैसा कमाउनकै लागि आफ्नो नातेदार एक जना तस्कर र प्रहरीको दलाली समेत गर्दै आएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech