जिल्ला भन्सार कार्यालय सर्लाहीले लक्ष्य भन्दा १७६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा कार्यालयले रु ३४ करोड ३६ लाख ३८ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकोमा रु ६० करोड ५९ लाख ५४ हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख राजेश कुमार दत्तले जानकारी दिनु भयो ।
कार्यालयले लक्ष्य भन्दा १७६ प्रतिशत बढी राजश्व संकलन गरेको हो । भारतबाट भित्रिएका खाद्यान्न र अन्य सामग्रीबाट भन्सार काटेर सो राजस्व सङ्कलन गरिएको भन्सार अधिकृत दत्तले बताउनु भयो ।
जिल्ला भन्सार कार्यालयले जिल्लाको मुख्य नाका तथा अन्य शाखा नाकाहरु हुँदै भारतबाट आयात भएको खाद्यान्न तथा अन्य विभिन्न सामाग्रीहरुबाट मात्रै सो राजश्व संकलन गरेको छ। भने नेपालबाट भन्सार काटेर कुनै पनि सामान आर्थिक वर्ष २०७७÷०७८ मा निर्यात नभएको कार्यालयले जनाएको छ । कोरोना सङ्क्रमणपछि जिल्लाको नेपाल–भारत सीमामा रहेका सातवटा छोटी भन्सार कार्यालय बन्द अवस्थामा रहेका छन् ।
मुख्य भन्सार नाका भएर पनि सामानहरु तुलनात्मक रुपमा कम भित्रीदा पनि राजश्वमा बृद्धी भएको छ । सिमानामा सुरक्षा व्यवस्था कडा पारिएकोले नेपाल भित्रने सामानहरु भन्सार कार्यालय हुदै भित्रने गरेका कारण पनि सामान कम भित्रीए पनि राजश्वमा वृद्धि भएको कार्यालय प्रमुख दत्तले बताउनु भयो ।