जिल्ला प्रशासन कार्यालय सर्लाहीले अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण आफ्ना कर्मचारीमा पनि पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा प्रवाह वैशाख २९ गतेसम्मका लागि स्थगित गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले एक सुचना मार्फत जानकारी दिनु भयो ।
वैशाख २२ मा एन्टिजेन परीक्षण गर्दा आफ्नो कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयका सबै प्रकारका सेवाहरु वैशाख २९ गतेसम्मका लागि स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनु भयो ।
यस्तै दाहसंस्कार, पितृकार्य, विवाह, ब्रतबन्ध, औषधि उपचार आदि कार्यका लागि पास लिनुपर्ने सूचना पनि जिल्ला प्रशासन कार्यालय सर्लाहीले जारी गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि देशका विभिन्न ठाउँमा लकडाउन(निषेधाज्ञा) जारी गर्नुपरेकाले पास लिएर मात्र सो कार्यहरु गर्न गराउन जिल्ला प्रशासन कार्यालय सर्लाहीले आग्रह गरेको छ ।
पासका लागि आउने र जाने दुवै तर्फको स्थानीय निकायको सिफारिस, जाने व्यक्तिको नाम र संख्या सहितको व्यहोरा खुलेको निवेदन र अन्य कागजातमा विरामीलाई रेफर गरेको पत्र, ब्लु बुक, सवारी चालक अनुमति पत्र लगायतका कागजात संकलन गरि इमेल मार्फत पठाउन प्रशासनले आग्रह गरेको छ ।
विरामीको हकमा भने स्थानीय निकायको सिफारिस अनिवार्य छैन । आवश्यक कागजात इमेल मार्फत पठाएपछि पास उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी तामाङले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । पासका लागि आवश्यक कागजात उबककमबयकबचबिजष्२नmबष्।िअयm इमेल मार्फत पठाउन सकिने भएको छ ।