ठेकेदारलाई थप रकम दिने विषयमा तीनपाटनका अध्यक्ष र उपाध्यक्ष वीच मतभेद,पालिकाकोबैठक बस्न सकेन

2.4k Shares

सिन्धुलीको तीनपाटन गाउँपालिकाले भ्रामक समाचार प्रति आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा ठेकेदार पक्षलाई थप रकम विनियोजन गरेको भन्नेप्रसंगलाईसमेटेर केही मिडियाहरुले समाचार सम्प्रेषण गरेका थिए । त्यसप्रति गाउँपालिकाले आफ्नो गंभिर ध्यानाकर्षण भएको भन्दै विज्ञाप्ती जारी गरेको छ ।
गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि ठेकेदारलाई गाउँपालिकाले थप बजेट दिएको भन्दै सम्प्रेषण गरिएको समाचारमा सत्यता नरहेको गाउँपालिका अध्यक्षद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
ठेकेदार कम्पनी ए.एम पाइनस जेभिसँग २०७६ माघ ९ गते रु ४ करोड ८२ लाख ८ हजार २ सय ६० रुपैयाँ ५० पैसामा २०७९ साल असार २५ गते निर्माण सम्पन्न गर्ने गरी गाउँपालिकाले सम्झौता गरिएको थियो । उक्त भवन निर्माणको क्रममा ड्रइङ डिजाइनमा उल्लेख भएको तर लागत इष्टिमेटमा आरसीसी ढलान, पिलर, फर्मा, डण्डीलगायतको परिमाणमा कमी भएकाले गाउँपालिकाले भेरियसन गरेको गाउँपालिका अध्यक्ष कर्णवहादुर थापा मगरले दाबी गर्नु भयो ।


 गाउँपालिकाको सार्वजनिक खरिद नियमावली, २०७७ को नियम १२७ (१) बामोजिम कुल लागतको १५ प्रतिशत गाउँपालिका अध्यक्षले ठेकेदार पक्षलाई थप रकम निकासा दिन सक्ने प्रावधान अनुसार नै स्वीकृत गरिएको गाउँपालिका अध्यक्ष मगरको दावी छ । ‘गाउँकार्यपालिकाले सर्वसम्मत रुपमा पास गरेको सोही नियमावलीको प्रावधान अनुसार गाउँसभाबाट निर्णय गरी प्राविधिक नापजाँच तथा मूल्यांकनका आधारमा गत वर्षको चैत ४ गते रु ७१ लाख ५१ हजार १ सय ८७ रुपैयाँ भेरियसन आदेश स्वीकृत गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
 नियमावलीमा रहेको प्रावधानअनुसार भेरियसन रकमसमेत स्वीकृत गरी हालसम्म गाउँपालिका भवनको जम्मा लागत रु ५ करोड ५३ लाख ५९ हजार ४ सय ४७ रूपैयाँ हुन आएको गाउँपालिकाले जनाएको छ । यस अघि पालिकाले ठेकेदार पक्षसँग रु ४ करोड ८२ लाख ८ हजार २ सय ६० रुपैयाँ २६ पैसामा ठेक्का सम्झौता गरेको थियो भने पालिका भवनको निर्माणको काम स्थानीय स्तरमा पालिका अध्यक्ष मगरका आफ्नै भाईले गरिरहेका छन् । हालसम्म संघीय समपूरक कोष तथा गाउँपालिकाको स्वीकृत बजेटबाट कार्यसम्पादन मूल्यांकन बमोजिम रु ३ करोड २३ लाख ९९ हजार १ सय ४२ भुक्तानी भइसकेको विज्ञाप्तीमा उल्लेख छ । भने ‘चालु आर्थिक वर्षको लागि संघीय सरकारबाट रु ६९ लाख रूपैयाँ बजेट प्राप्त भएको,‘२०७९ असार २५ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने भएकाले नपुग रु १ करोड ६० लाख ६० हजार रकम गाउँपालिकाले विनियोजन गर्नुपर्ने प्रस्ताव गाउँकार्यपालिकामा रहेको विषयमा अनावश्यक हल्ला फैलाइएको छ ।’ विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
रकम विनियोजन गर्ने बैठकमा अध्यक्ष मगरले भवन निर्माणमा रु १ करोड ६० लाख रकम अपुग हुने भन्दै छुट्याउने प्रस्ताव गरेपछि बहुमत पालिका सदस्यहरुले सो प्रस्तावलाई अस्वीकार गरेका थिए । हामी कुनै पनि हालतमा थप रकम दिन सक्तैनौं भनेर सदस्यहरुले अडान लिएपछि अहिलेसम्म तीनपाटन गाउँपालिकाको विकास योजना र रकम पारित नभएका गाउँपालिकाकी उपा अध्यक्ष पदम माया तामाङ्गले बताउनु भयो ।
उहाँका अनुसार गाउँपालिकाको प्रशासनिक भवन निर्माणका क्रममा गुणस्तरहिन सामाग्री प्रयोग भएको भन्दै आफु लगायत पालिका सदस्यहरुले पटक पटक अध्यक्ष मगरलाई सचेत गराउँदा पनि सो क्रम नरोकिएको र अहिले ठेकेदारका नाममा थप रु १ करोड ६० लाख रकम निकासा गर्न खोजिएपछि त्यसको चर्को आलोचना भएको हो ।
निर्माण कम्पनीका तर्फबाट हामीलाई ठेक्का संझौता अनुसारको काम सकेर जिम्मा नलगाई कसरी भवन निर्माणमा घाटा लाग्यो भनेर विश्वास गर्ने ? पहिला त भवन जिम्मा लगाउनु पर्यो, नपुग भएको भए आवेदन गर्नुपर्यो ती सबै काम नभई कानून भन्दा बाहिर गएर कसरी जनताले तिरेको करबाट करिब डेढ करोड रकम छुट्याउन मिल्छ ? पालिका उपाध्यक्ष तामाङ्गको भनाई छ ।

सम्बन्धित समाचार