प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गर्नु भएकोे छ ।राष्ट्रपति भवन शीतल निवासमा मंगलबार मिश्रले शपथग्रहण गर्नु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ दिलाउनु भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि प्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना लगायतको उपस्थिति रहेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुख बनाउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो भने राष्ट्रपतिले मंगलबार उहाँलाई नियुक्त गर्नु भएको थियो ।
नव नियुक्त प्रदेश प्रमुख मिश्र को हुन् ?
प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुुख मिश्र महोत्तरीको पिपरा निवासी हुन् । २००२ सालमा जन्मिएका मिश्र ५९ वर्षदेखि राजनीतिमा सक्रिय रहनु भएको छ । मिश्रले मंगलबार प्रदेश २ प्रदेश प्रमुखको रूपमा शपथ समेत ग्रहण गर्नु भएको हो । प्रदेश प्रमुखमा नियुक्त हुनु भएका मिश्र बी.पी कोइरालाका समकक्षी कांग्रेसी नेता रामनारायण मिश्रका छोरा हुन्। रामनारायण २०१६ सालमा बीपी नेतृत्वको सरकारमा उद्योगमन्त्री भएका थिए ।
राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि रामनारायणलाई समेत बी.पीसँगै सुन्दरीजल कारागारमा राखेर बन्दी बनाइएको थियो। बुवा जेलमा गएपछि २०१९ सालबाट मिश्रले राजनीति सुरु गरेका थिए। ‘२०१९ सालमा बुवा जेलमा परेपछि प्रजातान्त्रिक आन्दोलनको झण्डा फहराउनकै लागि आन्दोलनको झण्डा बोकेको थिएँ,’ नवनियुक्त प्रदेश प्रमुख मिश्रले बताए ।
२०१९ मा बुवा जेल परेपछि मिश्रले नै प्रजातन्त्र दिवसको अवसरमा आन्दोलनको झण्डा फहराएका थिए। झण्डा फहराएको भन्दै मिश्रलाई समेत पक्राउ गरेर जलेश्वर कारागारमा राखिएको थियो। त्यतिबेला उनी कक्षा ९ मा अध्ययनरत थिए ।
नाबालकलाई कारावासमा राखिएको आलोचना भएपछि अढाई महिनापछि उनलाई कारागार मुक्त गरिएको थियो। देशमा प्रजातन्त्रको पुनर्बहाली भएपछि २०४८ सालमा मिश्र महोत्तरीको क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। तर, पछि भएको निर्वाचनमा उनि पराजीत भए । उनि नेपाली कांग्रेसका नेता हुन ।