मरिणमा बहुआयामिक महोत्सव आयोजना हुने

266 Shares

सिन्धुलीको  मरिण  गाउँपालिकाले आगामी पुस ९ देखि २१ गतेसम्म बहुविध गतिविधिले भरिपूर्ण पाँचौँ मरिण महोत्सव–२०८२ आयोजना हुने भएको छ।मरिण गाउँपालिका ४ साहान स्थित खेल मैदानमा आयोजना हुने महोत्सवलाई कृषि,पर्यटन संस्कृति र स्थानीय व्यापारसँग जोडिएको समग्र उत्सवका रूपमा प्रस्तुत गर्ने योजना बनाईएको मरिण गाउँपालिकाका अध्यक्ष प्रख्यात मोत्तान(विमर्स)ले जानकारी दिए ।
उनका अनुसार सिन्धुली उद्योग वाणिज्य संघ,मरिण शाखा आयोजक रहने महोत्सवले स्थानीय समुदायले उत्पादन गर्दै आएका कृषिजन्य वस्तु,हस्तनिर्मित सामग्री,ढाका–अल्लोका पहिरन, बाँस–काठको कला साथै दुग्धजन्य उत्पादन लगायतका सामग्री प्रदर्शन गरिने छन्। सिन्धुलीको मौलिक पहिचान झल्काउने वस्तुहरूको प्रतियोगितात्मक प्रदर्शनीलाई महोत्सवको मुख्य आकर्षण मानिएको सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताए ।
उनका अनुसार पर्यटन प्रवद्र्धनलाई मध्यनजर गर्दै मधुवनी डाँडाबाट प्याराग्लाइडिङ उडान, मरिणको पहिचान बनिसकेको माछा तथा तामा उत्पादनको विशेष प्रदर्शन,पञ्चकन्या पोखरी अवलोकन कार्यक्रम तथा स्थानीय संस्कृति झल्काउने विविध झाँकीहरू प्रस्तुत गरिने छन्। त्यसैगरी अन्तर–विद्यालय नृत्य प्रतियोगिता,चर्चित कलाकारहरूको मञ्च प्रस्तुति तथा दोहोरी गीत कार्यक्रमले महोत्सवलाई थप जीवन्त बनाउने मरिण गाउँपालिकाकी उपाअध्यक्ष बिमला माझीले बताईन् ।
उनका अनुसार मनोरञ्जनका लागि बाल उद्यान,सर्कस शो,झूला,पिङ र मौतकुवा लगायतका आकर्षक गतिविधिहरू निरन्तर सञ्चालनमा रहने छन्।महोत्सवले मरिणको सांस्कृतिक र आर्थिक दुवै क्षेत्रमा सकारात्मक प्रभाव मरिण गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार