बागमतीका खाजा घर तथा होटलहरुमा खुलेआम यौन धन्दा,युवती र महिला राखेर देह व्यापारको मोलमोलाइ

570 Shares

सर्लाहीको बागमती नगरपालिका क्षेत्रका करिब आधा दर्जन खाजा घरहरु तथा होटलहरुमा देह व्यापार हुने गरेको तथ्य फेला परेको छ। कमलामाई मिडिया प्रा.लिको टोलीले गरेको स्थलगत अवलोकनका क्रममा बागमती नगरपालिका क्षेत्रभित्र पर्ने पुर्व पश्चीम राजमार्ग आसपासका आधा दर्जन खाजा घर तथा होटलहरुमा युवतीहरूलाई राखेर खुलेआम यौन गतिविधि सञ्चालन हुने गरेको तथ्य फेला परेको हो ।
स्थलगत खोज तथा प्राप्त सूचनाका आधारमा बागमती नगरपालिका क्षेत्रमा रहेका केही होटलमा १७ देखि ३५ वर्ष उमेर समूहका युवतीहरूलाई राखेर सेवाग्राही हरुसँग रकमको मोलमोलाइ हुने गरेको प्राप्त सूचनामा स्पष्ट उल्लेख छ।प्राप्त सूचना अनुसार एक हजारदेखि पाँच हजारसम्म रकममा युवतीसँग यौन धन्दाका लागि मोलमोलाइ हुने गरेको तथ्य समेत स्पष्ट भएको छ।
विशेषगरी न्यू कालिका होटल एण्ड लज,ह्यारिसन होटल एण्ड लज, बिन्दावासिनी होटल,बागमती खाजा घर लगायतका होटल तथा खाजा घरहरुमा युवतीहरु तथा महिलाहरु राखेर यौन धन्दाको मोलमोलाई तथा यौन धन्दा हुने गरेको पाइएको हो।बागमती क्षेत्रका होटल तथा खाजा घरहरुमा अवैध गतिविधिहरु नियमित हुने र बागमती क्षेत्र भारतयि नागरिकहरुको आकर्षणको केन्द्र बनेको र भारतिय नागरिकहरु बागमतीका होटलहरुमा आएर मद्यिरा सेवन गरी देह व्यापार तथा जुवा खेलमा संग्लग्न हुने गर्दा बागमती क्षेत्रको आर्थिक करोबार चलायमान भएको भएपनि होटलहरुमा हुने गैर कानूनी धन्दाले सामाजमा विकृति फैलाएको प्रष्ट छ।
होटलमा राखिएका केटीहरुको मोलमोलाईमा होटल सञ्चालक हरुबाट चर्काे शुल्क माग भएपछि ती मानिसहरुले बाहिर हिडडुल गर्ने बागमतीका किशोरी तथा महिलाहरुलाई जिस्क्याउने काम समेत गर्ने गरेका स्थानीयको आरोप छ। स्थानीयका अनुसार पर्यटकीय चाप बढिरहेको बागमती क्षेत्रमा यस्ता गतिविधि खुलेआम सञ्चालन हुँदा समेत सम्बन्धित निकायको प्रभावकारी अनुगमन र निगरानी देखिएको छैन् ।सामान्य खाजा घरदेखि ठूला होटलसम्म यौन गतिविधि हुने गरेको तथ्य बाहिरिँदा बागमतीको पर्यटन र सामाजिक प्रतिष्ठा माथि समेत प्रश्न उठेको छ।शान्ति–सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने र कानुनको प्रभावकारी कार्यान्वयन गराउने प्रहरी संगठनको जिम्मेवारी भएपनि यस प्रकारका गतिविधिहरु भई राख्दा प्रहरी प्रशासनको कार्यशैली माथि गम्भीर प्रश्न उठेको छ।
यस प्रकारका गतिविधिहरुको प्रसंग उठ्दै गर्दा प्रहरीले कमिसन असुलेर यस प्रकारका धन्दा चलाउन दिएको आरोप आउँछ । प्रहरीको पोसाक र अधिकारलाई अपराध नियन्त्रणका लागि प्रयोग गर्नुपर्नेमा यदि कुनै प्रहरी कर्मचारीले व्यक्तिगत आर्थिक लाभका लागि अवैध गतिविधि लाई आँखा चिम्लिने,संरक्षण गर्ने वा नियमित रकम उठाउने गरेको प्रमाणित भएमा त्यो सामान्य अनुशासनहीनता मात्र नभई प्रहरी संगठनको विश्वसनीयता माथिकै गम्भीर प्रहार हुने स्थानीय बताउँछन्। उनीहरुका अनुसार बागमती क्षेत्रमा प्रहरीको मिलेमतोमा अवैध गतिविधिहरु हुने गरेका छन् ।
स्थानीय नागरिकहरू प्रहरीसँग सुरक्षा र न्यायको अपेक्षा गर्छन् तर अवैध गतिविधि अर्थात देह व्यापार वा अन्य गैर(कानुनी गतिविधिबाट नियमित रकम उठाएर त्यस्ता गतिविधिलाई संरक्षण गरिन्छ भने नागरिकले कहाँ न्याय खोज्ने ? भन्ने प्रश्न सृजना हुनु स्वभाविकै भएको स्थानीय जानकार बताउँछन् ।
यता,सो विषयमा जिज्ञासा राख्दा प्रहरी अधिकारीहरुले“घुमुवा परिचालन भएको छैन” वा“आरोप निराधार छन्।”भनेर मात्र पन्छिनु भन्दा कुन प्रहरी कर्मचारी कहाँ ? कुन जिम्मेवारीमा ? र के उद्देश्यले परिचालित छन् ? भन्ने विषय स्पष्ट पार्नुपर्ने देखिन्छ।साथै अवैध गतिविधि सञ्चालन हुने भनिएका स्थानमा प्रहरीको निगरानी,कारबाही र आर्थिक कारोबार बारे समेत आन्तरिक छानबिन हुनुपर्ने देखिन्छ ।अपराध नियन्त्रण गर्ने निकाय नै अपराधसँग जोडिएको आरोपमा मुछिएपछि त्यसको जवाफदेहिता झन् कडा हुनुपर्छ भने यस्ता गतिविधि नियन्त्रणका लागि स्थानीय प्रहरी,प्रशासन, तथा स्थानीय सरकारले होटल तथा खाजा घरमा नियमित अनुगमन गरी आवश्यक कानुनी कारबाही अघि बढाउनु पर्ने जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार