Close This

पदकको पनि सम्मान गर्न सिक्ने हो कि ?

पत्र पत्रिका    प्रकाशित: २०७७-६-४ गते   ५०४ पटक हेरिएको

केही दिन पहिलेमात्र नेपाल सरकारले सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी नपाएर त्यो पुरस्कार नै खालि रह्यो । तर अहिले २००जनालाई मात्र दिइने भनेको राष्ट्रिय पदक तथा विभूषण नियमावली नै परिवर्तन गरेर करिब ६०० जनालाई दिएको छ । मुलुकमा धेरै व्यक्तिहरु योग्य र पदक प्राप्त गर्ने हुनु त मुलुकको विकासको द्योतक हो तर केही दिन पहिले सर्वोत्कृष्ट कर्मचारी फेला नपर्नु अनि अहिले लामो विवरणमा थुप्रै कर्मचारीको नाम देखिनुले के कुराको संकेत गर्छ ?

प्रधानमन्त्रीलाई पहिलेका राजाको जस्तो श्रेणीमा राखेर पदक वितरण गरिएको देखिन्छ । प्रधानमन्त्रीको सेवामा खटिएकाहरु पनि पुरस्कृत हुनुलाई राजाको काल सम्झाएको छ । यसका लागि नियमावली परिवर्तन गर्ने अनि गृह मन्त्रालयको ठाउँमा रक्षा मन्त्रालयको जिम्मा लिएकाले पदक वितरणमा हाली मुहाली गरेकाले पनि केही प्रश्नहरु समाजमा उठेका छन् । पदक प्राप्त गर्नेहरुमध्ये दुई ओटा हातका औंलामा गन्न लायक बाहेक तिनको क्षमता र कार्य कुशलताका वारेमा कसले नेपाली जनतालाई सूचनाको हक प्रदान गर्ने होला ? अहिले मूलधारका सञ्चार माध्यममा र सामाजिक सञ्जालमा उठेका प्रश्नहरुको जबाफ सरकारले दिनुपर्छ कि पर्दैन ?

नेपालका शासकहरुमा जनताका पक्षमा र सामाजिक न्यायका पक्षमा कहिल्यै चेत आउँदैन कि ? यसको उदाहरण संविधान दिवसको उपलक्ष्यमा वितरण गरिएको पदक र विभूषणले फेरि देखाएको छ । राजाको सक्रिय समयमा या पञ्चायतको जगजगी भएको बेलामा राजा पनि विरामी पर्थे, देश दौडाहामा जान्थे । राजा विरामी भएर अस्पतालबाट फर्केपछि स्वाभाविकरुपमा त्यहाँ राजालाई हेरचाह गर्ने डाक्टर, नर्स, कार्यालय सहायक तथा भेटघाटमा आउने सबैलाई गोरखा दक्षिण वाहु या त्यस्तै पदकबाट विभूषित गर्दथे । अनि राजाको जयजयकार हुन्थ्यो । तर अढाइ सय वर्ष त्यसो गरेको राजालाई उनकै बडी गार्डले पनि सहयोग गरेन र श्रीपेचलाई म्युजियममा राखेर हिँड्नु परेको निकट अतीत छ ।

तर त्यही राजतन्त्रको एकलौटी परम्परा देखेर आएको हाम्रो पुस्ताले नै राजाको निरंकुशताका विरुद्ध संघर्ष गरेर पञ्चायतलाई फालेर संवैधानिक राजतन्त्रात्मक वहुदलीय शासन ल्यायौँ नेपालीहरुले । पञ्चायतको बेलामा पनि पदक र विभूषणका लागि लाम लाग्ने र आफन्तलाई त्यस्तो पदक वितरण गर्नेहरुको एउटा समूह नै हुन्थ्यो रे । उनीहरुको काम भनेको कसलाई पदक कहिले दिलाउने भन्ने मात्र हुन्थ्यो रे । तर त्यो बेलामा एउटा भने पक्का चलन थियो स्थायीरुपमा-एस एल सी मा बोर्ड प्रथम आउने विद्यालयको प्रधानाध्यापकलाई भने पदक दिइन्थ्यो ।खरु कुरामा भने आसेपासे र गृह मन्त्रालय, राज दरबार अनि दरबारियाका आफन्तले पाउँथे । सुरक्षा निकायको एउटा अनुशासन हुन्थ्यो क्या रे , पालैसँग पाउने । गोरखा दक्षिण वाहु अर्थात् गोरखाका राजाका दाहिने भएकाहरुलाई राजाले कदर गर्थे क्यारे ।

त्यसपछि राजाको सक्रिय काल गयो , वहुदलीय व्यवस्था आयो । राजतन्त्रात्मक संसदीयकालमा पनि त्यो रोग केही मत्थर त भयो तर आसेपासेलाई विनाकारण पदक दिने कुरामा खासै कमी आएन । वरु पदकप्रति नै विमोह सुरु भएको थियो । र पनि पदकका लागि मरिहत्ते गर्नेहरुको लाम लाग्ने नै भयो पुरानो परम्परा र देखासिकीले गर्दा ।

एउटा सामान्य पदकका लागि , त्यो पनि शिक्षा पुरस्कारका लागि एउटा उदाहरण मैले नै सुनेको थिएँ काठमाडौँमा । प्रत्येक वर्ष फागुन १२ गते शिक्षा दिवस मनाइन्थ्यो र शिक्षा पुरस्कारका लागि दौडधूप सुरु हुन्थ्यो पहुँचवालाहरुको । एकपटक एकजना चल्तीपिर्तीवाला काठमाडौंका प्रधानाध्यापकले जिल्ला शिक्षा समितिको अध्यक्ष तत्कालीन जिल्ला पञ्चायतका सभापतिलाई आफ्नो प्राथमिक विद्यालयकी एकजना शिक्षिकालाई पुरस्कार दिनका लागि अनुरोध गर्नुभएछ । अनि सभापतिले नदिनका लागि बैठकले अन्तिम नामावली तयार गरेर पठाएको छ, शिक्षा दिवसका दिन दिइन्छ ।

यसपटकका लागि दिन नसकिने भनेपछि ती महोदय रिसले शिक्षा सचिवलाई कुरा लगाउन पुगेछन् । जसरी पनि हजुर मेरो शिक्षिकालाई यसपटकको काठमाडौँ जिल्लाको पुरस्कार दिलाउन जिल्ला शिक्षा अधिकारीलाई दबाब दिनु पर्‍यो भनेछन् । शिक्षा सचिवले ती शिक्षिकालाई राष्ट्रिय पुरस्कार पो दिएछन् । जिल्लाले अयोग्य ठानेको व्यक्तिले केही दिनमा नै राष्ट्रिय पुरस्कार पाउँदा पुरस्कारको के महत्व भयो ? अनि परम्पराप्रतिको आस्था के रह्यो ?

राजतन्त्रात्मक वहुदलीय कालमा पनि त्यस्तै एकजना प्रधानाध्यापकले गोरखा दक्षिण वाहु चौथो पाउनु भएछ । उहाँको विद्यालयमा ३० प्रतिशतले पनि प्रवेशिका उत्तीर्ण गरेका थिएनन्, विद्यालय लथालिङ्ग थियो तर उहाँलाई सरकारका तर्फबाट सिफारिस गर्नेले गरे, उहाँले पाउनु भयो । यस्तो धेरै कथा सुन्नुपथ्र्यो । जो जो जयजयकारका लागि सत्ताधारीको नजिक जान्थ्यो , उसैले पदक पाउने चलन आज पनि किन छ त ?

अहिले राजतन्त्रलाई नै फालेर गणतन्त्रात्मक शासन व्यवस्थामा जे देखिएको छ, त्योप्रति को जबाफदेही हुने भन्ने छैन , सरकार नै जबाफदेही हुनुपर्छ र जनताका जिज्ञासा र प्रश्नका जबाफ दिनुपर्छ । सत्तामा हुँदा सबैले आफूलाई सगरमाथाको टुप्पोमा छौँ जस्तो मान्छन् । तर शिखरमा सधैँ बस्न सकिँदैन भन्ने कुराको साक्षी संविधान हुन्छ, इतिहास हुन्छ र स्वयं सरकारका कामहरुले निर्धारण गर्छन् । अहिले नेपाली जनता पक्कै धेरै सचेत भएका छन् ।

राजाको काललाई बिर्साउने गरी पदक वितरण गरिएकोमा सरकारले जनतालाई चित्तबुझ्दो जबाफ दिनै पर्छ । त्यो पदक तथा विभूषण नेपाल भन्ने देशले दिएको हो जसले यो देशका लागि अविस्मरणीय योगदान दिएका हुन्छन् अतीतमा या वर्तमानमा । ती वैज्ञानिक हुन सक्छन, ती सामाजिक अभियन्ता हुनसक्छन् ,ती समाज सुधारक हुनसक्छन् र ती साहित्यकार हुनसक्छन् । जो पनि मुलुकका लागि योगदान दिन्छ, तिनलाई पदकद्वारा विभूषित गर्ने प्रचलन विश्वभर नै छ ।

नेपालमा पनि त्यस्तो चलन ठिकै छ तर त्यसको पनि मानक हुनुपर्छ जसले गर्दा पदक पाउनेको पनि सम्मान होस् र पदकको पनि अवमूल्यन नहोस् । राज्यको तर्फबाट गरिने कुनै पनि काममा राज्य नै जबाफदेही हुन्छ र स्वयं पदक वितरकले पनि कारण खोेलेर सम्मान गर्दा सम्मानको सम्मान हुन सकोस् भन्ने हाम्रो जिज्ञासा हो । विज्ञेषु किमधिकम् । पदक र पुरस्कार वितरणले मात्र मुलुकको विकासले फड्को मार्दैन , विकासका लागि व्यवहारनै आवश्यक छ ।इमेज खबरबाट

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech