प्रधानमन्त्री ओलीद्वारा आत्मालोचना, बैशाख २५ मा स्थायी कमिटीको बैठक गर्ने नेकपाको निर्णय

1.7k Shares

 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आत्मालोचना गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यसैगरी अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि आत्मालोचना गरेका छन् ।

बैठकले बैशाख २४ गते सचिवालय र २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ । यसैगरी उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय पनि गरेको छ । त्यसका लागि उपयुक्त समय कुरिने बताइएको छ ।

यसअघि १७ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नै बामेदव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धती र कम्युनिष्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएका छौं’ । 

प्रवक्ता श्रेष्ठले पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मालोचना गरेको जानकारी दिए ।अर्का अध्यक्ष दाहाल र अरु नेताहरुले पनि आत्मालोचना गरेर अगाडि बढ्ने निर्णय भएको छ । बैठकले पार्टीलाई फुट उन्मुख गराउने कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन समेत दिएको छ । पार्टीलाई एक ढिक्का बनाएर लैजान सबै सहमत भएका छन् ।

सम्बन्धित समाचार