बहु बिवाहलाई कानूनी मान्यता दिन खोजेपछि सर्लाहीका विभिन्न राजनीतिक दल निकट महिला संघ/संगठनहरुले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।बहु बिवाह सम्बन्धी कानुन संसोधन प्रस्तावको बिरोधमा नेपाली कांग्रेस नेपाल महिला संघ,नेकपा(एमाले)निकट अखिल नेपाल महिला संघ,नेकपा(माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तीकारी) र नेकपा(एकिकृत समाजवादी) पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी)ले सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ मार्फत कानून,न्याय तथा संसदीय मामिला मन्त्रालय र गृह मन्त्रालय सिंहदरवारको ध्यानाकर्षण गराएका हुन ।
विभिन्न चार महिला संघ/संगठनहरुले प्रमुख जिल्ला अधिकारी श्रेष्ठ मार्फत सरलाई बुझाएको ज्ञापन पत्रमा“हालसालै सरकारद्वारा प्रस्तुत गरिएको बहु बिवाह सम्बधी कानुनी संसोधन प्रस्तावप्रती हामी गम्भीर आपत्ती जनाउदछौ।यस प्रकारको प्रस्तावले संबिधान प्रदत महिला अधिकार र नेपाल पक्ष राष्ट्र भएर गरेका अन्तरास्ट्रिय सन्धि तथा महासन्धि विपरित सरकारले देवानी संहिता २०७४ को धारा १७५ लाई संसोधन गर्न खोज्नु गलत छ।बहु बिवाहलाई कानुनी मान्यता दिने गरि कानुन मन्त्रालयले गरेको तयारी निन्दनीय छ। विभिन्न कालखण्डका आन्दोलनहरुबाट प्राप्त उपलब्धि माथी सरकारले गरेको यो प्रहार महाप्रतिगमनको संकेत हो।”भनिएको छ ।
त्यसैगरी,यस प्रकारका गतिविधिहरुका विरुद्ध सर्लाहीका विभिन्न राजनितिक दल निकट महिला संघ/संगठनहरु एकजुट भई घोर भत्र्सना गर्दै प्रतिगमनकारी विद्ययक अघि नबढाउनको लागी जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत ज्ञापन पत्र बुझाएको महिला नेतृहरुले बताएका छन् ।उनीहरुले सरकारले प्रतिगमनकारी कदम अघि बढाए देशव्यापी सशक्त संघर्षमा जान बाध्य हुने ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।